काठमाडौं । नेकपा (एमाले)का सचिव एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलमा आफूले गरेको हस्ताक्षरले राज्यलाई भएको नोक्सानीको प्रमाण देखाउन चुनौती दिएका छन्।
भट्टराईले २०७६ साउन १५ देखि २०७७ पौष ५ गतेसम्म मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले आफ्नो कार्यकालमा भएका निर्णयहरूलाई लिएर प्रायोजित समाचारहरू आएको भन्दै ध्यानाकर्षण जनाएका छन्।
‘पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाण सहित सार्वजनिक गर्न मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ,’ भट्टराईले भने।
उनले सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा फसेकाहरूले आफूलाई पनि फसाउन खोजेको आरोप लगाएका छन्। ‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकीएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कती खप्पीस छन भन्ने मैले राम्ररी बुझेको छु,’ उनले भने।
भट्टराईले मिडिया ट्रायल गरेर उम्कन खोज्नेहरूलाई चेतावनी दिँदै आवश्यक परे आफूसँग भएका कागजातहरू सार्वजनिक गर्ने पनि बताएका छन्। ‘मिडिया ट्रायल गरेर उम्कन सकिंन्छ भनेर ढुक्क नभए हुन्छ। मलाई औंला उठाउनेहरू नै पर्नेवाला छन् । डकुमेन्ट मसँग छ । आवश्यक परे सार्वजनिक गरौंला,” उनले थपे।





























प्रतिक्रिया