काठमाडौं । विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएलगत्तै भैंसेपाटीस्थित मन्त्री क्वार्टर पनि छाडेकी छिन् ।
शिक्षकहरुको आन्दोलन चर्किरहेका बेला सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएकी हुन् । राजीनामा बुझाएर उनी सिधैं आफ्नो निजी निवास चावहिलमा गएकी थिइन् । सरकारी गाडी क्वार्टरमै छाडेर बालुवाटार पनि उनी सहयोगीको गाडीमा पुगेकी थिइन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न प्रधानमन्त्रीस्तरमा छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो । यद्यपी भट्टराईले राजीनामा पत्रमा स्वास्थ्यको कारण देखाएकी छन् । गत असार ३१ मा मन्त्रीको दि सम्हाल्न आएकी उनले १० महिना नपुग्दै राजीनामा दिएकी हुन् ।
तर, मन्त्री भट्टराईको प्रधानमन्त्री ओलीसँग शृंखलावद्ध नीतिगत मतभेद, चौतर्फी दबाबकाबीच उनले पद त्यागेको प्रष्ट देखिन्छ । विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । विद्यालय भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण ठप्प छ भने कक्षा १२ को परीक्षा हुने हो या होइन निश्चित छैन । तर, प्रधानमन्त्री ओली शिक्षकहरुमाथि झनै रुष्ट हुँदै जाँदा मन्त्री भट्टराई निराश थिइन् ।
जबकी सोमबार राति बस्ने भनिएको मन्त्रिपरिषद् बैठकमा शिक्षा मन्त्रालयले शिक्षकहरू माग मुद्दा सम्बोधन गर्न सात बुँदे प्रस्ताव लैजाने तयारी थियो । बाल विकास शिक्षकको तलब हाल १७ हजार ३ सय बनाउने, शिक्षकहरूको मर्यादाक्रम कायम गर्ने, ग्रेड समायोजन गर्ने, हाललाई निजामती अस्पतालबाट शिक्षाको उपचारमा छुट व्यवस्था गर्ने, दुर्गम भत्ताको व्यवस्था गर्नेलगायत प्रस्ताव शिक्षा तयार पारेर मन्त्रिपरिषद्मा पेस गर्ने भट्टराईको तयारी थियो तर, बैठक बस्नु केही घण्टा अगावै उनले राजीनामा दिएकी हुन् ।































प्रतिक्रिया