काठमाडौं । राजासंस्था पुनर्स्थापनाको मागलाई लिएर राजावादी पक्षधरहरु प्रदर्शन गरिरहेका छन् । जुन प्रदर्शन र आन्दोलनको नेतृत्व लिएको छ संयुक्त जनआन्दोलन समितिले । गएको चैत १५ गते तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र अहिलेसम्म पनि हिरासतमा छन् । मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री एवं सांसद डा. धवल शमशेर २४ दिनपछि हाजिरी जमानी हिरासतमुक्त भएका छन् भने जनकमाण्डर दुर्गा प्रसाईको प्रहरी हिरासतको बसाई चाँडै सकिएला भन्ने अवस्था छैन ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्दमा राखिएपछि डा. जगमान गुरुङले कार्यवाहक बनेर संयोजकको भूमिका सम्हालेका थिए । यद्यपी सुवेदी नजरबन्दबाट मुक्त भइसकेका छन् । हालै हामीले डा. गुरुङसँग राजसंस्था पुनर्स्थापनाको आन्दोलन, तीनकुने घटना, पूर्वराजासँगको कनेक्सन र आगामी योजनाबारे विशेष कुराकानी गरेका छौं। प्रस्तुत, कुराकानीको सम्पादित अंश-
गत आइतबार सिंहदरबारभित्र प्रदर्शन गरेका राप्रपाका अध्यक्ष लिङ्देनसहितका उच्च पदस्थ नेताहरु पक्राउ परे । यद्यपी, उनीहरु रिहाइ पनि भइसकेका छन् । यस विषयमा तपाईंको धारणा के छ ?
-अब यो राप्रपाले गरेको आन्दोलन हो । सरकारले शान्तिपूर्ण सभामा त सरकारले दमन गर्छ भने निषेधित क्षेत्रमा पद्रर्शन गर्यो भने पक्कै कारवाही गर्छ नी । निषेधित क्षेत्रको घेरा तोड्छु भनेपछि या त तोड्न सक्नुपथ्र्याे या शान्तिपूर्ण आन्दोलन भन्न पथ्र्याे । कहिले घेरा तोड्छु भन्ने, फेरि शान्तिपूर्ण आन्दोलन पनि भन्ने । दोधारे कुरा भयो । किनभने घेरा तोड्छु भनेपछि सरकारले अवज्ञा गर्यो। त्यो त स्वभाविकै हो । त्यो राप्रपाको कार्यक्रम भए पनि राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले नैतिक समर्थन र ऐक्यबद्धता जारी गरेको थियो । म पनि त्यहाँ जानुपर्ने हो तर काम विशेषले जान पाइनँ ।
सिंहदरबारबाट पक्राउ पर्नु भनेको केही पनि होइन । मध्यरात १२ बजे आफ्नो घरमा सुतिरहेको मान्छेलाई त पक्राउ गर्या छ भने सिंहदरबारबाट पक्राउ पर्नु के आश्चर्यको कुरा भयो ? यो अन्याय अत्याचार होइन । किनभने आन्दोलन गर्नु आन्दोलनकारीहरुको आफ्नो उद्देश्य हुन्छ। आन्दोलन गर्न नदिनु सरकारको दायित्व हो । नियमपूर्वक हुनुपर्छ ।
गणतन्त्र भन्या छ । गणतन्त्रमा नारा जुलुस गर्नु, राँके जुलुस गर्नु, बन्द गर्नु, हड्ताल गर्नु सामान्य नै हो । किनभने नारा जुलुस, बन्द–हड्ताल गरेर, ढुंगा हानेर, बैंक लुटेर, जहाज हाइज्याक गरेर, १७ हजार मान्छे मारेर आएको व्यवस्था हो अहिलेको व्यवस्था । तर अहिले सामान्य प्रदर्शन गरेपछि विना पक्राउ पुर्जी हिरासतमा राखिन्छ, नजरबन्दमा राखिन्छ । अहिले पञ्चायतकालको व्यवस्थालाई निरंकुश भन्छन् ।
अहिले कुनै पनि कार्यक्रम गर्नका लागि स्वीकृति लिनुपर्छ तर गणतन्त्रवादीहरुले पञ्चायत व्यवस्थासँग स्वीकृति लिएर आन्दोलन गर्या थिए ? अहिलेको व्यवस्थामा सबै नागरिक समान हुन् भन्या छ । तर गणतन्त्रवादीहरुले आन्दोलन गर्दा रोजेको ठाउँमा पाउने तर हामीहरुमाथि त्यो लागु हुदैँन । गणतन्त्रको विरोध सदनमा गर्न पाउने तर सकडमा रोजेको ठाउँमा पाइदैन् । संसदमा गर्न पाउने, सडकमा गर्न नपाउने? त्यस्तो किसिमको स्थिती छ ।
तपाईंले चैत १५ गते पक्राउ परेका नेताहरुलाई रिहा नगरे २२ गते सामूहिक गिरफ्तारी दिन्छौँ भन्नुभएको थियो । किन पछि हट्नुभयो ?
-राजसंस्था पुनर्स्थापनाका लागि ढुङ्गामुढा गर्ने होइन, भद्र अवज्ञा आन्दोलन गर्ने हो। अहिले राजाले नै भनेका छन् कि प्रहरीसँग मुठभेड नगर, आम नागरिकलाई समस्या हुने प्रदर्शन नगर्नु । प्रहरीमाथि ढुङ्गाको वर्षाउनुको सट्टा फूल देउ भनेका छन् ।
सबै नेपाली भए कुनैपनि नेपालीले कुनै किसिमको घाउचोट नलागोस् भनेर भद्र अवज्ञा आन्दोलन गर्नुपर्छ । २२ गतेसम्म पनि हाम्रा साथीहरुको वारेन्ट फिर्ता भएन भने सामूहिक गिरफ्तारी दिन्छौँ । तर सामूहिक गिरफ्तारी पनि कुटो, कोदालो, हातहतियार लिएर जाने होइन । ढुङ्गामुडा गर्ने पनि होइन, जिन्दावाद मुर्दावाद गर्ने पनि होइन । मौनमा जाने । प्रहरीसँग मुठभेड गर्ने होइन । अहिले शिक्षकको आन्दोलन कस्तो छ ? त्यस्तै प्रकारले हामी पनि गर्छौ ।
तपाईंले त जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा गणतन्त्रको अन्त्य गरी राजसंस्थाको पुनर्स्थापना गर्छाै भन्नुभयो । अहिलेको परिस्थिति हेर्दा सम्भव छ ?
-गणतन्त्रको स्थापना जेठको १५ गते भएकाले २०८२ साल जेठ १५ गते नै गणतन्त्रको अन्त्य भइ राजसंस्थाको पुनर्स्थापना हुन्छ । राजसंस्थाको पुनर्स्थापना अब सडकमा ढुङ्गा हानेर, निषेधित क्षेत्र तोडेर, गोष्ठी गरेर, मसाल जुलुस निकालेर, नेपाल बन्द गरेर मात्रै हुँदैन । शक्ति साधना गरेपछि मात्रै सत्ता आउँछ । म कुनै राजनीतिक व्यक्ति होइन, मन्दिर जाने, पूजाआजा गर्ने पुरानो विचारधाराको धार्मिक बुढो हुँ । त्यसैले आन्दोलन गर्नुभन्दा पनि शक्ति र साधना गर्छाैं ।
शक्ति र साधनाबाटै सत्ता प्राप्त हुन्छ भने सडक किन तताइरहनुभएको छ ?
-अहिले आन्दोलन भनेको सडक आन्दोलन हो भन्छौँ । तर त्यो मात्रै सडकमा आन्दोलन होइन । शक्ति साधना नगरिकन सत्ता प्राप्त हुँदैन । अब अहिले मानिसको मनस्थिति हेर्नुपर्यो । अहिले नेताहरु भाषण गर्न जादा उनीहरुविरुद्ध नै नारा लाग्ने अवस्था छ । त्यसैले गणतन्त्रवादीहरु कसरी कमजोर भयो भन्ने विषय बुझ्न जरुरी छ । बहुदलीय व्यवस्था मास्न हामीले खोजेका होइनौँ । भद्र सहमतिबाट नेपालमा संवैधानिक राजसंस्था सहित बहुदलीय प्रजातन्त्रको स्थापना गर्नुपर्यो ।

तपाईं अहिले संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक हुनुहुन्छ । राजातिर किन फर्किनुभयो ?
-मलाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको निर्देशक समितिको प्रमुख सल्लाहकार भएपछि कार्यवाहक संयोजकको जिम्मेवारीमा छु । म संयोजक बनेपछि मात्रै राजावादी भएको होइन । ६ सय वर्ष भयो । राजसंस्थाप्रति हाम्रो अन्तर सम्बन्ध छ । हिजोका राजावादीहरु अहिले गणतन्त्रवादी बनेका छन् तर मैले धर्म छोडेको छैन । हक अधिकार केहि छैन, तैपनि मेरा वंशले सम्हालिरहेको जिम्मेवारी निभाइरहेको छु ।
राजसंस्था पुनर्स्थापना, एउटै एजेण्डा भएपनि राजावादीहरु किन एकजुट हुन सकिरहेका छैनन् ?
आ–आफ्नै इगोको समस्या छ । मैले कार्यवाहक संयोजकको पदभार ग्रहण गरेपछि राष्ट्र निर्माणका लागि प्रतिबद्धता सभा गरे । पटक–पटक नमो तस्य केसर बहादुर विष्ट, कमल थापा आए । तर राजेन्द्र लिङ्देनलाई आइदिनुहोस् भन्दा पनि आउनुभएन । तर राप्रपाका वरिष्ठ नेता डाक्टर प्रकाशचन्द्र लोहनी आएर आफ्नो अभिमत व्यक्त गर्नुभयो । यस्तै, कर्ण मल्ल र गंगा चौधरीले पनि राजसंस्थाको वकालत गरिरहेका छन् । राप्रपा र राप्रपा नेपालका नेताहरु आए । दुर्गा प्रसाई नेतृत्वको समितिका युवकहरु आए । यी सबैलाई एक त जगमान गुरुङले गरायो नी ।
राजेन्द्र लिङ्देन नआएर के भो त ? लिङ्देन एउटा व्यक्ति हो, पार्टी होइन । यसमा वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता हरिवहादुर बस्नेत, बिक्रम पाण्डे, धवल शमशेर राणा, रबिन्द्र मिश्र कुन्ति शाहि सबै राप्रपाकै छन् समितिमा । सिंगै पार्टी आएको छ, समितिमा संयुक्त जनआन्दोलन समितिमा विष्ट, थापा सुशिल शेरचनलाई जगमान गुरुङले एक ठाउँमा ल्याएको हो ।
संयोजक नवराज सुवेदी नजरबन्दमा हुनुहुन्छ । उहाँको नजरबन्द हटेपछि तपाईंको जिम्मेवारी के हुन्छ ?
-संयोजक नभएपनि निर्देशित समितिको प्रमुख सल्लाहाकार छु । सुवेदी नेतृत्वको आन्दोलन तुइयो भने पनि म तुइन दिन्न । प्रमुख सल्लाहकार भएर मैले आन्दोलन तुइन दिनुहुन्न । मैले सहयोग गर्छु । प्रमुख संरक्षक समितिको प्रमुख सल्लाहकार भएर काम गर्छु । कार्यवाह संयोजकको रुपमा रहेर जसरी तीन शक्तिलाई मिलाए । त्यसरी नै अब महिलाहरुलाई मिलाउछु । त्योसँगै धार्मिक जगतलाई म मिलाउँछु ।
कार्यवाहक संयोजक बनिसकेपछि पूर्वराजालाई भेट्नुभयो ?
-छैन । तर एक जना महानुभावले शुक्रवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र अरु नेतासहित जगमान गुरुङले राजालाई भेटे भनेर अफवाह फैलाए । मैले राजालाई भेटेको छैन ।
भेट्ने इच्छा छैन ?
-मैले भेट्ने होइन । यो राजाको इच्छा हो । किन भन्दाखेरि हामीले घर बनाउनुपर्यो भने राम्रो इन्जिनियर चाहिन्छ नी म्याप बनाउन । त्यसकारण सत्तामा फर्किनु छ भने राजाले भेट्ने इच्छा राख्नुपर्यो ।
पछिल्ला घटनाक्रम हेर्दा राजाले रोड म्याप बनाउन सकेको छैन जस्तो देखिन्छ । किनभने, कहिले दुर्गा प्रसाई, कहिले नवराज सुवेदी अहिले राप्रपाप्रति झुकाव राख्नुभएको छ । तपाईंलाई के लाग्छ ?
त्यस बारेमा मलाई थाहा छैन । म श्रीमान ज्ञानेन्दको आग्रहमा राजावादी आन्दोलनमा लागेको होइन । राजासँग भेटे पनि नभेटे पनि, बाघको मुख खाए पनि रातो नखाए पनि रातै हुन्छ । मैले आफ्नो काममा निरन्तर गरिरहन्छु । सरकारसँग हामीले आश गर्न हुँदैन । जिउ धनले सरकारको सेवा गर्नु पर्छ सरकारको महाराज भन्थे । जिउ धनले सरकारको सेवा गर्छु ।

गणतन्त्रका १७ वर्षमा तपाईंका आलोचना र टिप्पणी देखिएन । अहिले चाँहि किन ?
-अब पहिले–पहिले एउटा मोह भयो । त्यतिबेला मान्छेले मुख खोलेर विरोध गर्न सकेन । केही पाइहाल्छ कि भनेर । अब पछिल्लो कालमा आएर दुई थरी वर्गले चाहिँ माओवादीलाई सपोर्ट गरे । एक थरी धनी–धनीले माओवादीलाई सपोर्ट गरे । किनभने माओवादीले मेरो धन लुट्छ कि भन्ने त्रास थियो । माओवादी भइदिए भने त मेरो धन लुट्दैन भनेर सपोर्ट गरे । एक थरीले, नेपाल साह्रै बिग्रियो, साह्रै भ्रष्ट भयो, माओवादीको नारा, अभियान देख्दाखेरी माओवादीले शासन गरिदियो भने साँच्चै नेपाल सुध्रिन्छ कि भनेर कतिपय बौद्धिक वर्गले माओवादीलाई सपोर्ट गर्या थिए ।
अहिले आउँदा त माओवादी पनि उस्तै रहेछ । माओवादी, एमाले, कांग्रेसमा त केही फरक रहेनछन् । सबै लुटेर खाने । यिनीहरु त होइन जनताले राजे पनि देश विकासका लागि उपयुक्त पात्र रहेनछन् भन्ने महसुस भयो । अब यसरी चुप लाएर बसेर बस्न हुँदैन । नेपाली समाज, संस्कृति भाँडिएको छ । नेपाली राष्ट्रियता बिथोलिएको छ । नेपाल राष्ट्र विखण्डनको दिशातिर धकेलिएको छ ।
यो त कम्युनिष्टहरुले नारा लगाउँदाखेरी भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद भन्थे । ती भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले ल्याएको रहेछ यो व्यवस्था । अहिलेको व्यवस्था त दिल्लीले ल्याएको रहेछ । भनेपछि नेपाली जनताले ल्याएको होइन रहेछ । यस्तो अवस्थामा नेपालको राष्ट्र, राष्ट्रियता जोगाउने त राजा नै रहेछन्।
तपाईंले त्यो कुरा भन्दै गर्दा फागुन २७ गते राजालाई स्वागत गरिएको र्यालीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि तस्बिर देखिएको थियो । तपाईंहरु पनि बाह्य शक्तिबाट परिचालन भएको आलोचना भइरहेको छ नी ?
सबै कुरा स्पष्ट छन् । तर एउटा कुरा, राजालाई स्वागत गर्ने दिन कसैले भन्छन् १० हजार थिए । कसैले भन्छन् २/३ लाख जनता थिए । दुर्गा प्रसाईंले मैले ल्याएको भन्छ, राप्रपाले मैले ल्याएको भनेर १ लाख जरिवाना पनि तिर्न गयो । त्यहाँ त राप्रपा, राप्रपा नेपाल थियो । यस्तै संघ संगठनहरुका जनता लगाएर २५ प्रतिशत होलान् राजावादी समर्थक ।
अब रह्यो ७५ प्रतिशत । त्यो ७५ प्रतिशत अहिलेको व्यवस्था र नेतृत्वबाट वाक्कदिक्क भएका जनता थिए । अब त्यो ७५ प्रतिशतलाई परिचालन गर्न सक्यो भने आन्दोलन सफल हुन्छ । तर त्यो ७५ प्रतिशत राप्रपामा जाँदैनन् । दुर्गा प्रसाईंकोमा जाँदैन, राष्ट्रिय झण्डामा जान्छ । त्यो कुरो बुझ्नुपर्छ ।
तपाईंहरुले खोजेको राजसंस्था कस्तो खाले हो ?
-हामीले खोजेको संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र हो । बहुदल मास्न खोजेको भन्ने भ्रम छरिरहेका छन्, त्यो होइन । मैले पटक–पटक भनिराखेको छु । धर्मलाई मान, राजालाई मान, शासन गर । दल मास्न खोजेको होइन । कसैले छेक्ने, थुन्ने, काट्ने, मार्ने, कसैको सम्पति जफत गर्ने होइन । तर भोलि अख्तियारले कारबाही गरेर अनैतिक रुपमा धन कमाएको रहेछ भने त्यो धन जफत हुन्छ । दण्ड सजायको भागी हुन्छ ।
धर्मलाई मान, सनातन हिन्दु अधिराज्य नेपाल मान, संवैधानिक राजतन्त्र मान, बहुदल त कसले मास्ने भनेको छैन । कुरा यसरी प्रष्ट हुनुपर्यो। त्यसकारणले भद्र अवज्ञा आन्दोलन र भद्र सहमति आवश्यक छ । त्यो भद्र सहमति गर्ने अहिले होइन् । जसरी सत्ता छोडेका थिए त्यसरी नै सहमतीमै राजसंस्था पुनर्स्थापना गर्न आवश्यक छ ।
अब मैले पटक-पटक यो कुरा भनेँ, अरुले पनि भन्या छन् । यो भद्र सहमति अहिले गर्ने होइन, पहिलेको भद्र सहमति जब श्रीमान ज्ञानेन्द्रले जनताको नासो जनतालाई दिएर नारायण जीले राजदरबार छोरी बक्स्यो। त्यो भन्दा पहिले ७ दल माओवादी र लडाइँ गर्दै थिए।
२०४७ सालमा ७ दलको बिचमा एउटा सहमति भएको पाँच ५ बुँदामा के छ भन्दाखेरी २०४७ सालको संविधान छ । २०४७ सालको संविधानमा संवैधानिक राजसंस्था पनि छ बहुदलीय व्यवस्था पनि छ । हिन्दु अधिराज्य छ त्यहाँ । राजसंस्था निरन्तर रहने भन्ने छ त्यहाँ । त्यो सहमतिलाई अहिलेका दलहरुले बिर्सिए ।
तपाईंले भने अनुसार त्यो सहमती मान्न तयार होलान् त दलहरु ?
-तयार त हुनुपर्यो नि । त्यो तयार भएनन् भने आन्दोलन हुन्छ । त्यो आन्दोलन कसले गर्छ त भन्दा व्यवस्थाबाट वाक्कदिक्क भएका आम नागरिकहरु गर्छन् । अब उक्त आन्दोलनमा कुनै दलको नेतृत्वमा मान्छे जाँदैन । आन्दोलन हुन्छ, तर त्यो भद्र अवज्ञा आन्दोलन हन्छ । भद्र अवज्ञा गर्ने आन्दोलनकारी नै त्यसको नेतृत्व गर्छ ।
तपाईंले विगतमा भएका जनयुद्ध, ६२/६३ को जनआन्दोलन देख्नुभएकै हो । तुलनात्मक रुपले अहिले तपाईंहरुले गरिरहेका आन्दोलनबाट राजसंस्था पुनर्स्थापना सम्भव छ ?
अब ६२/६३ को भनौँ या अब कति साठीको भनौँ, त्यो त नेपाली जनताले गरेको होइन रहेछ । त्यो त नेपाली जनतालाई परिचालन गरेर बाह्य शक्ति भूमिका रहेछ । भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादको भूमिका प्रष्टै देखिन्छ।
अमेरिकाले नेपाललाई भताभुङ्ग बनाउन, लथालिङ्ग बनाउन ४ वटा शीर्षकमा अर्बौं, अर्बाैं अर्ब रुपैयाँ खर्च गरेका रहेछ । तर यसरी नेपाललाई यसरी दुख दिनु त्यो फ्रड हो, ठग हो भन्या छ । बङ्गलादेशलाई लथालिङ्ग बनाएको पनि अमेरिकाले, हामीले लगानी गरेको पैसा फिर्ता लियो भनेको छ । युक्रेन पनि अमेरिकी लगानी, हामीले लगानी गरेको पैसा फिर्ता दिनु भनेको छ । तर नेपाललाई पैसा फिर्ता ले भन्दैन। ठग भन्या छ । त्यो ठगहरुले पैसा फिर्ता दिनुपर्यो नि । अब सबै ठाउँबाट रिजेक्ट भएकाहरुलाई एकजुट गराएपछि मात्रै आन्दोलन सफल हुन्छ ।
जसरी पछिल्लो समय नेताहर पक्राउ परिरहेका छन् त्यसले कहिं आन्दोलन तुहिने त होइन भन्ने आशंका उब्जिएको छ । यो आशंका यर्थाथमा परिणत हुने सम्भावना कत्तिको छ ?
-होइन । म संयोजक भए या नभए आन्दोलन तुहिन दिन्नँ । म समितिको सल्लाहकार भएकाले आन्दोलन निरन्तर अगाडि बढ्छ । मैले भन्या कुरा मान्न पर्छ । अहिले मौजुदा जुन समिति छ, त्यसले काम गर्न सक्दैन । त्यसको पुनर्गठन हुनुपर्छ । त्यो समितिलाई समानुपातिक र समावेशीको आधारमा पुनर्गठन गर्नुपर्छ ।

तपाईंले कमल थापा र राजेन्द्र लिङ्देनलाई एक ठाउँमा ल्याउन सक्नुहुन्छ ?
-मैले भने त राजेन्द्र लिङदेन एउटा व्यक्ति हो पार्टी होइन । पार्टीका प्रायजसो: सबै नेता एक ठाउँमा आएका छन् ।
पार्टीको नेतृत्व त लिङ्देन र थापाले गर्छन् नि ?
-म प्रयास गर्छु । अर्को कुरा मैले पटक–पटक भन्दै आएको छु । यो आन्दोलनमा नआए त्यो आफैं बटारिन्छ । आन्दोलनमा नआइकन बटारिने मान्छे त आफैं बटारिन्छ ।
अहिले त तपाईं कार्यवाहक संयोजकको भूमिकामा हुनुहुन्छ । संयोजककै भूमिका निर्वाह गर्नुपर्यो भने गर्नुहुन्छ ?
-म संयोजकको भूमिका निर्वाह गर्नसक्छु । त्यो कुरा त संयोजकले भन्नुपर्यो नी । समितिले पनि गर्नुपर्यो । सबैको सहमतीमा संयोजकको भूमिका निर्वाह गर्नु पर्यो म तयार छु ।
के अब जगमान गुरुङकै नेतृत्वमा पूर्वराजाले सत्ता हातमा लिन सक्लान् ?
-मेरो नेतृत्व मान्ने, नमान्ने त सर्वसाधारण नेपाली नागरिकहरुको कुरा हो । मैले मलाई नेता मान भनेर हिँडेको छैन । तर धर्मको स्थापना र राजाको स्थापना गरेपछि मेरो काम पूर्ण हुन्छ । किनभने म चन्द्रगुप्त मौर्य बन्न चाहन्नँ, म आचार्य विष्णुगुप्त चाणक्यको पाइला पछ्याउने व्यक्ति हो । म योगी नरहरिनाथको पाइला पछ्याउने, महात्मा गान्धीको पाइला पछ्याउने व्यक्ति हुँ ।
त्यसकारणले आन्दोलन सफल भएर संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य नेपालको स्थापना भएपछि मेरो दायित्व सिद्धियो । त्यसपछिको राजाको च्याप्टर ओपन हुन्छ ।































प्रतिक्रिया