काठमाडौं । भारतको जम्मु कश्मीरस्थित पाहलगाममा मंगलबार आतङ्कवादी आक्रमणमा परेर ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको थप विवरण खुलेको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार न्यौपाने बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का बासिन्दा हुन् । घटनास्थलमा उनको सवारी लाइसेन्स भेटिएको छ। उक्त लाइसेन्स भेटिएसँगै उनको पहिचान खुलेको हो । उनी शनिबार आमा, दिदी र भिनाजुसँगै जम्मू काश्मिर घुम्न गएका थिए, सोही क्रममा गोली लागेर उनको मृत्यु भएको हो ।
यसमा नेपाल सरकारले आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाली नागरिकको सम्भावित क्षतिबारे पुष्टि गर्ने काम भइरहेको बताएको छ । सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । “दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ ।”
उक्त आक्रमणमा नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बेसारन घाँटीको क्षेत्रमा मंगलबार दिउँसो ३ बजे भएको आतङ्कवादी आक्रमणमा परेर २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशी नागरिक रहेका छन् । जहाँ आतंककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। यो आतङ्कवादी हमलामा थप ३६ जना घाइते पनि भएका छन्।
घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याएर स्वदेश फर्किसकेका छन् । दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने उनले स्पष्ट सन्देश दिएका छन् ।
उत्तर प्रदेशका सुभम द्विवेदीसँग नाम सोधेको र पछि गोली प्रहार गरेको बताइएको छ । त्यसपछि भने अन्य पर्यटकहरुमाथि पनि गोली हान्न सुरु गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
पहलगाम आक्रमणपछि भारतका अन्य सहरहरुमा पनि हाई अलर्ट जारी गरिएको छ । आक्रमणको जानकारी पाएलगत्तै भारतीय केन्द्रीय गृहमन्त्री अमित शाह श्रीनगर पुगेका थिए । शाह आज पहलगाम जानसक्ने बताइएको छ । आक्रमणका बेला आतंकवादीहरु आर्मीको पोशाकमा आएका थिए । जसकारण आक्रमणपछि जवानहरु पुग्दा उनीहरुले आफूहरु भारतीय आर्मी रहेको प्रमाण दिनुपरेको थियो ।
यस हमलाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन। तथापि, मुस्लिम बहुल यो क्षेत्रमा सन् १९८९ देखि सशस्त्र आन्दोलन जारी रहेको छ, जसमा केही समूहहरू या त स्वतन्त्रता चाहन्छन् वा पाकिस्तानसँग एकीकरणको पक्षमा छन् ।
भारतले प्रायः यस्ता घटनाहरूमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउँदै आएको छ, यद्यपि पाकिस्तानले उक्त आरोप अस्वीकार गर्दै कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको पक्षपोषण मात्रै गर्ने बताउँदै आएको छ ।
आधिकारिक तथ्यांक अनुसार सन् २०२४ मा करिब ३५ लाख पर्यटकले कश्मीर भ्रमण गरेका थिए, जसमा अधिकांश घरेलु पर्यटकहरू थिए। भारतले सन् २०२३ मा श्रीनगरमा कडा सुरक्षाबीच जी२० पर्यटन सम्मेलन आयोजना गरेको थियो, जसको उद्देश्य क्षेत्रमा सामान्य अवस्था फर्किएको सन्देश दिनु थियो । सन् २०१९ मा भारत सरकारले कश्मीरको सीमित स्वायत्तता खारेज गरी प्रत्यक्ष शासन व्यवस्था लागू गरेपछि हिंसात्मक गतिविधिहरूमा केही कमी आएको देखिएको छ। हाल कश्मीर क्षेत्रमा करिब पाँच लाख भारतीय सुरक्षाकर्मी स्थायी रूपमा तैनाथ छन् ।































प्रतिक्रिया