शासक होइन, सेवक बन्ने समय आएको छ -सांसद डा. सुनिल शर्मा

शासक होइन, सेवक बन्ने समय आएको छ -सांसद डा. सुनिल शर्मा

केन्द्रबिन्दु
63
Shares

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद डा. सुनिल शर्माले लोकतन्त्र सहजै प्राप्त नभएको भन्दै यसलाई नेपाली जनताको ऐतिहासिक संघर्ष र बलिदानको उपलब्धिका रूपमा स्मरण गरेका छन्।

लोकतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सांसद डा. शर्माले भनेका छन्, “लोकतन्त्र कुनै सजिलो यात्राबाट प्राप्त भएको होइन। यो त नेपाली जनताको ठुलो बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाको ऐतिहासिक उपलब्धि हो।”

उनले लोकतन्त्र केवल औपचारिकता नभई व्यवहारमै आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउँदै भनेका छन्, “नेपालको राजनीतिक इतिहासमा आजको दिन एउटा युगान्तकारी दिन हो, जसले नेपाली जनतालाई सार्वभौम बनायो।”

उनको भनाइमा, लोकतन्त्रको वास्तविक अनुभूति तभी सम्भव हुन्छ जब राज्य सञ्चालनको शैलीमा आमूल परिवर्तन गरी “शासक होइन, सेवक” को भावना अनुरूप जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गरिन्छ।

सांसद डा. शर्माले आजको दिन केवल सन्देश दिने र भाषण गर्ने दिन नभई आत्ममूल्यांकन गर्ने अवसर भएको बताएका छन् । उनले भनेका छन्, “आज हामी विचारमा लोकतन्त्रप्रति प्रतिबद्ध छौं, तर व्यवहार, नेतृत्व शैली र सेवा प्रवाहमा भने लोकतान्त्रिक छैनौं। यसलाई सुधार गर्नैपर्छ।”

शर्मा सरकारी तलब भत्ता नलिने प्रतिनिधिसभाका एकमात्र सांसद हुन् । उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । शिविरमार्फत उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउने व्यवस्था मिलाउँदै आएका छन्।

उनको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका बिरामीका लागि ५० शय्याको निःशुल्क क्याबिन समेत व्यवस्था गरिएको छ । कुनै पनि दलका जनताप्रति भेदभाव नगरी समान रूपले सेवा पुर्‍याउँदै आएका शर्माले हालै बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्। उनले निजी लगानीमा देशका विभिन्न सात स्थानमा एम्बुलेन्स प्रदान गरिसकेका छन्।

Skip This
Skip This
Logo