काठमाडौं
सरकारले संविधानविद एवं पूर्वकानूनमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । ०७४ मंसिरमा दीपकुमार उपाध्याय फर्किएपछि खाली भएको भारतमा आचार्य राजदूतका रूपमा सिफारिस भएका हुन् ।
मन्त्रिपरिषदको आइतवार राति सम्पन्न बैठकले नेपालबाट प्रबुद्द ब्यक्ति समूह (इपिजी) का सदस्यसमेत रहेका संविधानविद् आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । आचार्य श्रीलंकाका लागि पूर्व नेपाली राजदूत हुन् । यसअघि सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय विवादमा परेपछि त्यहाँ आचार्यलाई पठाउने निर्णय लिएको हो ।
मन्त्रिपरिषद् बैठकले उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूतमा सिफारिस गरेको वनमन्त्री शक्ति बस्नेतले जानकारी दिए । पाण्डे यसअघि साउदी अरबका लागि राजदूत थिए । यसैगरि सरकारले नेपाली कामदार रहेको मुलुक युनाइटेड अरब इमिरेट्समा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाललाई नियुक्तिको सिफारिस गरेको छ । त्यहाँ पनि करिब तीन वर्षदेखि राजदूत खाली थियो ।
पहिले जस्तो विवाद हुने सम्भावना रहेकाले सरकारले भएको निर्णय लुकाउन खोजेको हुनसक्ने आशंका परराष्ट्र अधिकारीको छ । यतिबेला सरकारले खाली रहेका न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोग, जेनेभास्थित नियोगमा राजदूत सिफारिस गर्नसक्ने र खाली हुने स्थान, दक्षिण अफ्रिका, थाइल्याण्ड, फ्रान्स, कुवेत, र क्यानडामा राजदूत बनाउन सक्ने भनिएको थियो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया