राजनीतिक स्थायित्वका लागि बनेको कांगेस-एमालेको सरकारमै अस्थिरता !

राजनीतिक स्थायित्वका लागि बनेको कांगेस-एमालेको सरकारमै अस्थिरता !


काठमाडौं । अस्थिर राजनीतिलाई स्थायित्व दिन संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन सरकारको समिकरण फेरिने चर्चा चुलिएको छ ।

संविधान संशोधन, सुशासन कायम सरकारलाई स्थायित्व दिने प्रमुख एजेण्डा बोकेर बनेको दुई तिहाइ सरकार गठन भएको १०औं महिनामा छ । यो अवधिमा सरकार फेरिने कुरा पटक–पटक भए तर पत्याएर लागेनन् । तर, पछिल्लो समय सत्ता साझेदार दल नेपाली कांग्रेसको बढ्दो असन्तुष्टिले सरकारको भविष्यप्रति आशंका उब्जिएको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमानको बर्खास्तीदेखि सरकारप्रति असन्तुष्ट रहेका नेताहरुले मन्त्री फेरबदल, गभर्नर नियुक्ति, शिक्षक आन्दोलन, सरकारको कार्यसम्पादन लगायतका विभिन्न विषयमा सरकारको चर्काे आलोचना गरेको देखिन्छ । सुशासन कायमका साथै राम्रो डेलिभरी दिन्छौँ भनेर सरकार बनाए पनि भने अनुरुप सरकारले काम गर्न नसक्दा आम नागरिकमा नैराश्यता मात्रै देखिएको भन्दै असन्तुष्टि देखाउँदै आइरहेका छन् । कुलमानलाई बर्खास्त गरेदेखि नै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारलाई पटकपटक कार्यशैली बदल्न सुझाव दिएपनि सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीलाई कुनै चासो नभएपछि परिस्थति गम्भिर बन्दै गएको हो ।

हुन् त, सरकार बनेको समयदेखि नै लामो समय नटिक्ने टिप्पणी गर्दै आइरहेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्ने संकेत गरेका थिए । तर अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तिलाई सत्तारुढ दलका नेताहरुले सत्ता बाहिर रहेको छटपटीको संज्ञा दिएका थिए ।

ओली नेतृत्वको सरकारले डेलभरी दिन नसकेको भन्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय थापा र शर्मालगायत उच्च पदस्थ नेताहरुले असन्तुष्टि मात्रै पोखिरहेका छैनन्, सरकारबाट बाहिरिन सक्ने चेतावनी समेत दिइरहेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका महामन्त्री थापाले परिआए सरकारबाट बाहिरिने बताए । ‘आज हामी बाध्यतामा छौँ, एक्लै छैनौँ सरकारमा छौँ । कतिपय हामीले कम्प्रमाइज गरेका छौँ । तर आधारभूत कुरामा हामी कम्प्रमाइज गर्दैनौँ,’ उनले भने, ‘हामीले भन्न सक्नुपर्छ, प¥यो भने यस्तो सरकारबाट बाहिर जान्छौँ हामी । सरकारै सबैभन्दा ठूलो कुरा होइन ।’

एकातर्फ कांग्रेसका नेताहरुले असन्तुष्ट जनाएपनि कुनै प्रतिवाद नगरेका प्रधानमन्त्री ओलीले अन्तः सरकार बनाउने र बचाउने काम एमालेले नगर्ने बताएका थिए । एमाले–माओवादीको गठबन्धनलाई भत्काएर एमालेलाई काँध हालेको कांग्रेसले नै सरकारको आलोचना गर्दा निकै आश्चर्यजनक देखिन्छ । पछिल्लो समयको राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने राजनीति एक निर्णायक मोडमा पुगेको छ । ८४ सम्म सरकार टसमस नगर्ने भन्दै आइरहेका प्रधानमन्त्री ओलीले पनि सरकारको बचाउने तर्फ नलाग्ने भनेपछि राजनीतिले नयाँ मोड लिन्छ कि भन्ने अवस्था देखिएको हो ।

लोकतन्त्र दिवसको अवसरमा एमाले आयोजना गरेको युवा उत्सव (युथ सेलिब्रेसन)मा सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘सरकारको बारेमा चिन्ता गर्ने होइन, चुनावबारे चिन्ता गर्ने हो । ढुक्कले ०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने मिसनमा लाग्नुस्।’

थापा-शर्मा चर्का भाषणमै सीमित ?

मुलुक संकटमा पर्यो, राजनीतिक अस्थिरता बढ्दै गयो, आम नागरिकमा छाएको नैराश्यतालाई चिर्न कांग्रेस–एमालेको सरकारले काम गर्ने दाबी गर्दै आइरहेका दलहरुको अवस्था पनि आखिर विगतको जस्तै भएको देखिन्छ । सरकार बनेको छोटो समयमै सरकार ढल्ने विषयले राजनीतिमा तरङ्ग पैदा गरेको छ । यद्यपी, आम नागरिकदेखि सत्तारुढ दलकै नेताहरुले चर्काे भाषण गरेपनि देउवा–ओलीले सरकारले ८४ सम्म टसमस नगर्ने दाबी गर्दै आइरहेका छन् ।

उपसभापति खड्कादेखि महामन्त्री थापा र शर्माले सरकारको कार्यशैली र प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठाएका थिए । जसरी सत्तारुढ दलकै नेताहरुले नै सरकारको आलोचना गरे त्यसको सभापति देउवाले पनि निदान गरेका थिए ।

केहि दिनदेखि सरकारको चर्काे आलोचनामा उत्रेका थापा र शर्मालाई सभापति देउवाले पार्टीभित्र छलफल गर्न र बाहिर आलोचना नगर्न निर्देशन नै दिएका थिए । तर नेताहरुले सार्वजनिक स्थलमै सरकारको चर्काे आलोचनासँगै परिआए सरकारबाट कांग्रेस बाहिरिने जस्ता अभिव्यक्ति दिँदै आइरहेका छन् ।

तर, सरकार नफेरिने दाबी गर्दै ओलीलाई देउवाले पनि साथ दिँदै आइरहेका छन् । शुक्रवार थाइल्याण्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरे । ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन,’ उनले भने,‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो थाहा छैन मलाई ।’

यसबाट के प्रष्ट हुन्छ भने, कांग्रेसभित्र देउवाले नबोलेसम्म केहि पनि हुनेवाला छैन। किनभने सरकारप्रति तिब्र असन्तुष्टि पोख्दै आएका नेताहरुलाई प्रधानमन्त्रीको पर्खाइमा रहेका देउवाले सार्वजनिक रुपमा सरकारको आलोचना नगर्न आग्रह गरेका थिए ।

शुक्रवार कांग्रेसको तर्फबाट संसदको वर्षे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक श्याम कुमार घिमिरेले सरकारबाट कांग्रेस नबाहिरिएसम्म सरकार नढल्ने अभिव्यक्ति दिए । उनले भने, ‘दैनिक सरकार परिवर्तनको हल्ला चलाई मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न हुँदैछ । यस्तालाई निरुत्साहित गर्नुपर्छ ।’

यद्यपी उनले सरकारले कार्यशैली परिवर्तन गर्न भने आवश्यक रहेको औंल्याए । ‘सरकारले नौ महिनामा उत्पातै गरेको भने छैन । कार्यशैली परिवर्तन गर्न भने आवश्यक छ । यद्यपी यो सरकारले मुलुकलाई बद्नाम गराउने र आर्थिक विकासलाई अधोगतितिर धकेल्ने काम गरेको छैन । ’ उनले भने ।

फेरि प्रचण्डतिरै ढल्किएलान् देउवा ?

सरकार बनेको सुरुवातीदेखि नै कांगे्रस–एमालेको सरकार असंवैधानिक, अप्राकृतिक र अलोकतान्त्रिक भएकाले लामो समय नटिक्ने टिप्पणी गर्दै आइरहेका माओवादीका अध्यक्ष प्रचण्डले अहिले पनि निरन्तर रुपमा नयाँ सरकार बन्ने संकेत गर्दै आइरहेका छन् ।

सत्तामै रहेको कांगे्रसका उच्च पदस्थ नेताहरुले सरकारको आलोचना गर्ने अवस्था भएकाले सरकार नटिक्ने उनको तर्क छ । थाइल्याण्ड प्रस्थान हुनु अगावै देउवासँग टेलिफोन संवाद गरेका प्रचण्ड देउवाकै पखाईमा थिए । देउवा थाइल्याण्ड प्रस्थान हुने बेला भएको टेलिफोन संवादमा सरकारका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै आफू फर्केपछि अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने बताएका थिए ।

सरकारप्रति चर्काे आलोचना गरिरहेका नेताहरुप्रति लक्षित गर्दै ओलीले पनि सरकारको बचाउमा नलागेको टिप्पणी गरेका थिए । दुइ दलबीच दुरी बढ्दै गएको हो भन्ने आंशका नेताहरुकै अभिव्यक्तिले देखाउँछ । कांग्रेससँग गठबन्धन गर्न माओवादी तयार रहेको छ । देउवा पनि स्वदेश फर्किसकेका छन्, भने देउवासँग छलफल गर्न प्रचण्ड पनि आतुर देखिएका छन् । रातारात देउवासँग सात बुँदे समझदारी गरी माओवादीसँगको सरकार ढालेका ओली अहिले संकटमा छन् ।

माओवादीसँग गठबन्धन नगर्ने बाह्य अभिव्यक्ति दिएपनि देउवाले भित्रभित्रै नयाँ समिकरण बन्ने तयारी गरेको पनि कतिपय नेताहरुको भनाइ छ । नेपाली राजनीतिमा असम्भव नहुने भन्ने कुरा नभएकाले माओवादी–कांगेसको पनि सरकार बन्न कुनै समय लाग्दैन ।

Logo