काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको बोल्दै प्रमुख सचेतक घिमिरेले भने, ‘शुक्रबार संसद् बैठकमा राप्रपा अध्यक्षले चैत १५ गते भाटभटेनीबाट रक्सी चोर्ने सहमहामन्त्रीको छोरो भनेर नेपाली कांग्रेसलाई इंगित गरेको पाइयो । कुनचाहिँ सहमहामन्त्रीको कुन छोराले चोरेको हो, प्रमाणित गर्नुस् । होइन भने उहाँले शब्द फिर्ता लिएर माफी माग्नुपर्छ ।’
लिङ्देनले कांग्रेसलाई लाञ्छित गरेको आरोप संसद्को रेकर्डबाट हटाउन उनको माग छ ।
शुक्रबार अध्यक्ष लिङ्देनले गएको चैत १५ गते भाटभटेनी लुटपाटमा कांग्रेसका सहमहामन्त्रीको छोरा पनि संलग्न रहेको रेकर्ड आफूसँग रहेको दाबी गरेका थिए । ‘हामीसँग रेकर्ड छ गृहमन्त्रीज्यू भाटभटेनीको लुटपाटमा तपाईँकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन् । किन छाड्नुभयो तुरुन्तै ? तपाईँको नेताको छोराले रक्सी लिएर गयो उसले ल्याएको मान्छेले म रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो । पछि थाहा भयो, तपाईँहरूको प्रहरीले पक्राउ गर्दा खेरी भिडियोमा हेरे पक्रियो। तर, नेताको छोरा रहेछ । नेताको छोरालाई छोड्नुभयो । ल्याएको मान्छे छुटेन, पछि यो कुरा सार्वजनिक गर्दिन्छु भनेर धम्क्याएपछि दुई घण्टामा छाडिदिनुभयो । त्यसैले यो सत्य तथ्य सार्वजनिक हुन जरुरी छ ।’ उनले भनेका थिए । त्यसपछि यो विवादको विषय बनेको हो ।































प्रतिक्रिया