दिल्ली आन्दोलनमा बलिउड स्टारहरूको पनि समर्थन

दिल्ली आन्दोलनमा बलिउड स्टारहरूको पनि समर्थन

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावट र शैक्षिक अनियमितताको विरोधमा विद्यार्थीहरूले गरिरहेको आन्दोलनले व्यापक रूप लिएको छ । दिल्लीको जन्तरमन्तर र संसद भवन आसपास क्षेत्रमा जारी यस प्रदर्शनप्रति बलिउडका वरिष्ठ तथा चर्चित कलाकारहरूले समेत आफ्नो ध्यान आकर्षित गर्दै विद्यार्थीहरूको मागप्रति ऐक्यबद्धता जनाएका छन्।

सुपरस्टार अभिनेता सलमान खानले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूको आन्दोलनलाई आफ्नो समर्थन जनाएका छन्। प्रश्नपत्र चुहावटलाई एक अत्यन्तै गम्भीर समस्याको रूपमा औंल्याउँदै उनले विद्यार्थीहरूले शान्तिपूर्ण रूपमा आफ्ना मागहरू अघि सारेकोमा प्रशंसा गरे।

सलमानले विद्यार्थीहरूले आफ्नै भविष्य र देशको शिक्षा प्रणाली सुधारका लागि आवाज उठाएकाले यस संवेदनशील विषयलाई कुनै पनि राजनीतिक दलले राजनीतिक रूप दिन नहुने बताएका छन्। साथै, आन्दोलनको सम्पूर्ण श्रेय विद्यार्थीहरूलाई नै जानुपर्ने र सरकारले उनीहरूका जायज मागहरू तुरुन्त सुन्नुपर्नेमा उनले जोड दिएका छन्।

यसैबीच, वरिष्ठ अभिनेता अनुपम खेरले पनि विद्यार्थीहरूको माग र असन्तोषलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। युवा पुस्ताको भविष्यसँग जोडिएको विषय भएकाले उनीहरूको आवाजलाई सरकार र सम्बन्धित निकायले सुन्नुपर्ने उनको भनाइ छ। साथै, विद्यार्थीहरूको यो निष्पक्ष आन्दोलनलाई कुनै पनि बाह्य वा राजनीतिक समूहले आफ्ना स्वार्थका लागि दुरुपयोग गर्न नहुनेमा समेत उनले सचेत गराएका छन्।

अर्का वरिष्ठ अभिनेता नसीरुद्दीन शाहले प्रदर्शनकारी विद्यार्थीहरूमाथि भएको भनिएको बल प्रयोग र धरपकडको कडा शब्दमा आलोचना गरेका छन्। लोकतान्त्रिक देशमा शान्तिपूर्ण रूपमा आफ्ना मागहरू राख्न पाउने अधिकारको सम्मान हुनुपर्ने उनको तर्क छ।

Logo