आधारभूत कुराहरू सही राख्न सक्यौँ भने जित सम्भव छ : रोहित पौडेल

आधारभूत कुराहरू सही राख्न सक्यौँ भने जित सम्भव छ : रोहित पौडेल

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अघिल्लो खेलमा प्रयोग गरिएको पिचमा ब्याटिङ गर्न यसपटक केही सहज हुने विश्वास व्यक्त गरेका छन्। नेदरल्याण्ड्सविरुद्धको खेलमा टसपछि प्रतिक्रिया दिँदै उनले अघिल्लो खेलको तुलनामा अतिरिक्त बाउन्स कम हुने अपेक्षा रहेको बताए।

उनका अनुसार यसले ब्याटरलाई आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न सहज वातावरण मिल्नेछ।

‘अघिल्लो खेलकै पिच भएकाले आज ब्याटिङ गर्न केही सहज हुने र अस्तिजस्तो अतिरिक्त बाउन्सले समस्या नदिने अपेक्षा छ,’ उनले भने।

रोहितले प्रत्येक खेल नयाँ चुनौती हुने उल्लेख गर्दै टोलीले आधारभूत पक्षहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। मैदानमा आफ्नो योजना प्रभावकारीरूपमा कार्यान्वयन गर्न सके नेपालले सकारात्मक नतिजा निकाल्न सक्ने उनको विश्वास छ।

‘आज नयाँ दिनसँगै नयाँ चुनौती हो। हामीले मैदानमा आफ्ना बेसिक कुराहरू सही राख्न सक्यौँ भने जित सम्भव छ,’ उनले भने।

कप्तान पौडेलले गत वर्ष स्कटल्याण्डमा नेदरल्याण्ड्समाथि हासिल गरेको जितले टोलीको मनोबल अझ बलियो बनाएको उल्लेख गरे। सो अनुभवलाई आत्मविश्वासका रूपमा उपयोग गर्दै यस खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको उनले बताए।

‘गत वर्ष स्कटल्याण्डमा नेदरल्याण्ड्सलाई हराएको अनुभवले टोलीलाई ठूलो आत्मविश्वास दिएको छ। आज बोर्डमा उत्कृष्ट योगफल खडा गर्दै जित निकाल्ने हाम्रो लक्ष्य हुनेछ,’ उनले भने।

Logo