भारतीय रेलमा रातारात यात्रुले चोरे १०४ करोड बढीकाे तन्ना र कम्बल

भारतीय रेलमा रातारात यात्रुले चोरे १०४ करोड बढीकाे तन्ना र कम्बल

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । भारतीय रेलको एसी कोचहरूमा यात्रुहरूलाई उपलब्ध गराइने तन्ना, तौलिया, कम्बल र सिरानी चोरी हुने क्रम तीव्र रूपमा बढेको पाइएको छ। एक रिपोर्टअनुसार जनवरी २०२२ देखि मे २०२६ सम्मको अवधिमा एसी कोचहरूबाट १ करोड २७ लाखभन्दा बढी ओछ्यानका सामानहरू गायब भएका छन्।

यसरी ठूलो परिमाणमा समान चोरी हुँदा भारतीय रेललाई १०४ करोड भारतीय रुपैयाँभन्दा बढीको आर्थिक घाटा लागेको छ । तथ्याङ्कअनुसार सन् २०२२ देखि २०२५ को अवधिमा मात्र यस्ता चोरीका घटनामा ५६ प्रतिशतले वृद्धि भएको छ।

प्रत्येक दिन भारतीय रेलका करिब ८ लाख एसी यात्रुहरूलाई यात्राका क्रममा दुई वटा तन्ना, एउटा कम्बल, सिरानी र तौलिया उपलब्ध गराइन्छ। तर, औसतमा प्रत्येक एक हजार यात्रुमध्ये एक जनाले यात्रा सकिएपछि कम्तीमा एउटा सामान साथमै लिएर जाने गरेको अधिकारीहरूले बताएका छन्। अधिकांश चोरी यात्रुहरू स्वयंबाट हुने गरेको छ।

यसरी सामान हराउँदा त्यसको सीधा असर रेलमा कार्यरत सरसफाइ कर्मचारी र ठेकेदारहरूमाथि पर्ने गरेको छ। रेलवेले ठेकेदारबाट क्षतिपूर्ति असुल गर्ने र ठेकेदारहरूले तल्लो तहका कर्मचारीहरूको तलबबाट पैसा काट्ने गरेकाले सर्वसाधारणको सानो बदमासीले साना कर्मचारी मारमा परेका छन्।

रेलवे संरक्षण बल (आरपीएफ) का अनुसार रेलको सामान चोरी गर्नु रेलवे सम्पत्ति (गैरकानुनी कब्जा) ऐन, १९६६ अन्तर्गत गैर-जमानती अपराध हो। भारतीय रेलले सामानको निगरानीका लागि सीसीटीभी, ‘कोच मित्र’ एप र कर्मचारीहरूलाई विशेष तालिम दिने जस्ता उपायहरू अपनाए पनि यति विशाल रेल सञ्जालमा चोरी रोक्न चुनौती बनेको छ।

Logo