काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.१७ अंकले उकालो लागेर २७२६.७२ विन्दुमा बन्द भएको छ। बुधबार सामान्य करेक्सनमा गएको बजार यस दिन कारोबार अवधिभर उतारचढावपछि अन्तिम समयमा हरियो संकेतमा बन्द भएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.९८ अंक, फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंकले बढेका छन्।
परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। ३३८ कम्पनीका १ करोड ७७ हजार कित्ता शेयर ५७ हजार ७८२ पटक किनबेच हुँदा कुल ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो दिन भने ५ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।
एभरेष्ट कलर लिमिटेडको शेयर लगातार दोस्रो दिन पनि सकारात्मक सर्किटमा कारोबार हुँदै ५६६ रुपैयाँ ६० पैसामा पुगेको छ। स्नो रिभर्सको शेयरमूल्य १३.५ प्रतिशतभन्दा बढी र एपोलो हाइड्रोपावरको ११ प्रतिशतले बढ्दा कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सर्वाधिक १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स २८ करोड ३३ लाख रुपैयाँसहित अग्रस्थानमा रह्यो। त्यसपछि आँखु खोला जलविद्युत कम्पनी र रिडी पावरको सर्वाधिक कारोबार भयो।
उपसमूहतर्फ १३ मध्ये ११ उपसमूह हरियो रहे। व्यापार उपसमूह २.५८ प्रतिशतले सबैभन्दा धेरै बढ्दा जलविद्युत उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीको वृद्धि देखियो। लगानी र अन्य उपसमूह भने सामान्य गिरावटमा बन्द भए।


















