काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेट खेलाडीलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ।
कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरिएको हो।
नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन्। यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सम्झौता कार्यक्रम अप्रिल २५ मा वर्ल्डलिंकको प्रधान कार्यालय जावलाखेलमा एक समारोह बीच सम्पन्न भयो। सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए।
समारोहमा मनोज अग्रवालले भने, ‘यी ६ जना क्रिकेट खेलाडी प्रतिबद्धता, धैर्य, टिमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक हुन्- जुन गुणहरू वर्ल्डलिंकको दृष्टिकोण र मूल्यसँग पूर्ण रूपमा मेल खान्छ। उनीहरूले लाखौं नेपालीहरूको सपना र आकांक्षाको प्रतिनिधित्व गर्छन्, र उनीहरूलाई वर्ल्ड लिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौं।’
यस्तै, मुख्य कार्यकारी अधिकृत नेपालले भने,‘नेपालमा क्रिकेटप्रतिको माया दिनप्रतिदिन बढ्दो छ । वर्ल्डलिंक सधैं खेलकुदलाई समर्थन गर्दै नयाँ प्रतिभाहरूलाई अघि ल्याउन समर्पित रहँदै आएको छ। गत वर्ष हामीले ‘बीट द स्पीड’ अभियान सुरु गर्यौं जसले नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गर्यो, र हामी गर्वका साथ घोषणा गर्छौं कि यसको दोस्रो सिजन चाँडै नै आउनेछ ।’
सहकार्य केवल ब्राण्ड प्रवद्र्धन मात्रै नभई नेपाली जनताको भावना र गौरवसँग जोडिएको हाम्रो आत्मीय प्रतिबद्धता भएको उनले बताए । ‘क्रिकेटले हाम्रो मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको छ, र हामी वर्ल्डलिंकका रूपमा यस राष्ट्रिय खेललाई अझ सशक्त बनाउन र नेपाली जनताको मायालाई सम्मान गर्न प्रतिबद्ध छौं,उनले भने ।
छ जना खेलाडीहरूले पनि आफ्नो खुशी र उत्साह व्यक्त गर्दै नेपालकै सबैभन्दा ठूलो आईएसपी वर्ल्डलिंकले आफूहरूलाई विश्वास गरेर अनुबन्ध गरेकोमा गर्व महसुस भएको बताए ।





























प्रतिक्रिया