सुनकोशी-मरिन डाइभर्सनको सक्यो ३५.८६ प्रतिशत काम, सञ्चालनपछि अर्थतन्त्र र उत्पादकत्व वृद्धिको विश्वास

सुनकोशी-मरिन डाइभर्सनको सक्यो ३५.८६ प्रतिशत काम, सञ्चालनपछि अर्थतन्त्र र उत्पादकत्व वृद्धिको विश्वास


काठमाडौं । कृषि सिँचाइ र जलविद्युत उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्य राखी अगाडि बढाइएको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम ३५.८६ प्रतिशत सकिएको छ । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना रूपमा लिएको यो आयोजना काम सुरु भएको ४ वर्ष बितिसक्दा उक्त प्रतिशत भौतिक प्रगति भएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७७ बाट यस आयोजनाको शिलान्यास गरेपछि कामले औपचारिक रूपमा गति लिएको थियो । यो अवस्थासम्म आइपुग्दा आयोजनाको काम निराशाजनक नरहेको सुनकोशी-मरिन डाइभर्सन आयोजनाका सूचना अधिकारी अमरबहादुर चन्द ठकुरीले जानकारी दिए ।

सुनकोशी नदीको पानीलाई मारिण खोला हुँदै बागमती सिँचाइ प्रणालीमा ल्याएर १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने यस आयोजनाको लक्ष्य हो । साथै, कमलामाई नगरपालिका वडा नम्बर २ मा पावरहाउस रह्ने गरी यो परियोजनामा ३१.०७ मेगावाट बिजुली उत्पादन गर्ने पावर स्टेशन निर्माण भइरहेको छ ।

टनेल निर्माणमा उत्साहजनक प्रगति भएपनि आयोजनको बाँध र ड्याम निर्माणमा प्रगति भने सुस्त छ । हालसम्म ड्याम निर्माणमा करिब साढे ८ प्रतिशत मात्र काम सम्पन्न भएको ठकुरीले जानकारी दिए । यसको निर्माण कार्यको गति बढाउन सरकारद्वारा पटक–पटक निर्देशन दिइएको छ ।

‘अहिले विशेष गरी ड्याम र हाइड्रावरको काम भइरहेको छ, ड्याम बनाउने मिति आदि सकिएको अवस्थामा प्रगति चाहिँ साढे ८ प्रतिशत छ, हामीले पनि उहाँलाई द्रुत गतिमा काम गर्नको लागि आग्रह गरिरहेका छौं,’ उनले भने । सम्झौता अनुरूप अब ड्यामको काम साढे दुई वर्षभित्र गरिसक्नु पर्ने हुन्छ । तर, यो अवधिमा ड्यामको काम सक्न मुस्किल रहेको ठकुरीले बताए।

मधेश प्रदेशका पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई पुर्‍याउने उद्देश्यले तयार गर्दै गरिएको यो आयोजनामा सुनकोशी नदीमा १८ मिटर अग्लो र १५८ मिटर लम्बाइ भएको डाइभर्सन ड्याम बनाउनुपर्ने हुन्छ । जसको काम सुस्त हुँदा आयोजनाको सम्पन्न गर्ने मितिलाई पनि पछाडि धकेल्ने देखिन्छ ।

मनसुनको समयमा सुनकोशी नदीमा पानीको बहाव बढी हुने हुँदा निर्माण कार्यमा कठिनाइ आउँदा कामले गति लिन नसकेको बताइएको छ । यद्यपि अहिले भने ठेकेदार कम्पनीले बाँधको कामलाई तीव्रता दिइरहेको ठकुरीले सुनाए । यस्तै, जलविद्युतको हेडवक्स, पावरहाउस, हाइड्रो मेकानिकललगायतका संरचनाको काम भारतको पटेल इन्डिया र नेपालको रमन कन्ट्रक्सनको जोइन्ट भेन्चर (जेभी) गर्दै आएका छन् ।

जसको पनि काममा सन्तोषजनक नरहेको ठकुरीले जानकारी दिए । ‘पावरहाउसको काम र हाइड्रो मेकानिकलको काम सँगसँगै हुनुपर्छ, तर पावरहाउसको काम ढिलो भएकाले हाइड्रो मेकानिकलको ठेक्का निकाल्न सकेका छैनौं,’ उनले भने ।

यस आयोजना अन्तर्गत सिन्धुली जिल्लाको खुर्कोटदेखि २ किलोमिटर माथि (सुनकोशी र तामाकोशीको दोभान भन्दा करिव ९०० मिटर तल) बाँध निर्माण हुनेछ । यसैगरी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपलेले बनाएको उक्त आयोजनाको टनेलको काम सम्पन्न भइसकेको छ ।

गत वर्ष (२०८१) मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गरेका थिए । १३.३ किलोमिटर लामो उक्त टनेलको काम पूरा भएपछि उक्त कम्पनी अहिले बिदाबारी हुने प्रक्रियामा रहेको ठकुरीले बताए । ‘चाइनिज कम्पनी अहिले टनेल निर्माण सकेर हस्तान्तरण गरी बिदाबारी हुने प्रक्रियामा छ, उसले प्रमाणपत्र प्राप्त गरिसकेपछि टनेल ह्यान्डओभर हुन्छ,’ उनले भने ।

कति भयो खर्च, कहिले सकिन्छ काम ?

सुनकोशी-मरिन डाइभर्सन आयोजना नेपालको कृषि र ऊर्जा क्षेत्रको समृद्धिमा महत्वपूर्ण कदम हो । यसले कृषकहरूको जीवनस्तर सुधार्ने र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने विश्वास गरिएको छ । यो परियोजनाको डिजाइन प्रवाह ६७ वर्गमिटर/सेकेन्ड छ ।

आर्थिक वर्ष २०७७/७८ मा शुरु गरिएको यस आयोजनको काम आ.व. २०८५/८६ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम भइरहेको छ । यस आयोजनाको कुल लागत अनुमानित ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ रहको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा हेडवक्स, पावरहाउस लगायतका संरचना निर्माणका लागि ३ अर्ब १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सूचना अधिकारी ठकुरीले आयोजना निर्माणमा अहिलेसम्म १६ अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिए । निर्माण सम्पन्नको मिति नजिकिँदै गर्दा आयोजनाको काम आधा भन्दा बढी बाँकी हरेका अवस्थामा समयमै यस आयोजनाको काम सक्नमा सकस देखिन्छ ।

सुनकोशी नदिमा बाँध निर्माण गर्दा यसले बीपी राजमार्गको ९६५ मिटर सडकको केही भाग डुबानमा पर्ने तथा केही भागमा बाँधको संरचना बन्ने भएकोले उक्त लम्बाइको सडक ट्राफिक डाइभर्सन गर्न २.९६ किलोमिटरको सडक सर्भिस रोड निर्माण कार्य भइरहेको ठकुरीले बताए ।

उनका अनुसार सिन्धुली जिल्ला तर्फको जग्गाको मूल्याङ्कन सम्पन्न भइ मुआब्जा वितरणको कार्य सम्पन्न भइसकेको छ । रामेछाप जिल्ला अन्तर्गतको डुबानमा पर्ने जग्गाको मूल्याङ्कन सम्पन्न भइ मुआब्जा वितरणको कार्य भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo