काठमाडौं । मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ले आज प्रदर्शनको ५१ दिन पूरा गरेको छ ।
फागुन २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शन भइरहेको चलचित्र ‘अञ्जिला’ले शुक्रबार सशस्त्र प्रहरी बल हलचोकमा भव्य कार्यक्रम गरी ५१ दिन मनाएको हो । कार्यक्रममा बोल्दै निर्देशक मिलन चाम्सले चलचित्र अझै पनि नेपालको ४५ हलहरुमा र २७ वटा देशमा प्रदर्शन भएको बताए ।
‘सम्पुर्णलाई धेरै धन्यवाद ! ‘अञ्जिला’ को २७ वटा देशमा राम्रो प्रदर्शन भइरहेको छ भने, नेपालको ४५ वटा चलचित्र भवनमा चलचित्र चलिरहेको छ यदी कसैले हेर्नुभएको छैन भने हर्नसक्नुहुन्छ,’ उनले भने ।
गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले देशभरका ४५ शोहरूसहित १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक चाम्सले बताए ।
यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक मिलन चाम्स र निमार्ता प्रेम श्रेष्ठको मात्र सफलता नभई चलचित्र उद्योगकै सफलता भएको बताए । उनले नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा देशकै गहना भएको भन्दै यो चलचित्र आफैमा महत्वपूर्ण रहेको बताए ।
नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा जीवनीमा आधारित यो चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङ्कन गरेको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन गरेका छन्।































प्रतिक्रिया