देउरानीले बाउसो प्रहारबाट घाइते जेठानीको मृत्यु

देउरानीले बाउसो प्रहारबाट घाइते जेठानीको मृत्यु

केन्द्रबिन्दु
27
Shares

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा मंगलबार जग्गा विवादमा झगडा हुँदा देउरानीको बाउसो प्रहारबाट घाइते भएकी जेठानीको मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी दुर्गा ऐडीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा ५ दिनपछि शनिबार बिहान ५ बजे मृत्यु भएको हो ।

देउरानी बिमला बुढाले जेठानीलाई घरेलु औजार बाउसो प्रहार गरेर गम्भीर घाइते बनाएकी थिइन् । घाइते दुर्गा ऐडीको टाउको र अनुहारमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

उनीहरुका ससुरा बाचुराम ऐडीका अनुसार कुनिउखात भन्ने स्थानको जग्गा ३ भाइ मध्ये कसैलाई भागबण्डा नगरिएको र त्यही जग्गा देउरानी-जेठानीले आफ्नाे भागमा हुनुपर्छ भन्ने विवादले झगडा भएको थियो । त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी वर्ष २५ की बुढाले जेठानी वर्ष ३६ की ऐडीलाई घरेलु औजार बाउसो प्रहार गरेर घाइते बनाएकी थिइन् ।

अहिले घरेलु औजार प्रयोग गरी घाइते बनाउने बिमलालाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

Logo