काठमाडौँ । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्थायी दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि चार सय दुई जनशक्ति थपिने भएका छन् ।
बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लग्नुभएको थियो । हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्याङ्कन सकिएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्र बाँकी दाबीमा मूल्याङ्कनसक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे।
मन्त्रिपरिषद्को निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा एक सय २९, गेटा अस्पताल धनगढीमा एक सय ४१ तथा डडेलधुरा अस्पतालमा तीन सय १३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।
यसले ती अस्पतालहरूले सञ्चालनमा खेपिरेहको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए।
“सङ्गठन तथा व्यवस्थापन संरचनाको काम नसकिँदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालमा सहजता आउने विश्वास गरिएको छ”, उनले भने।































प्रतिक्रिया