काठमाडौं । माध्यामिक विद्यालय तहको कक्षा १२ को यस वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा हुँदा विद्यार्थीहरुलाई परीक्षामा सहभागी हुन कठिन भने भएको थियो । यसअघि वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षकहरूको आन्दोलनका कारण सारिँदा आजबाट सुरु भएको हो । तर, सरेको परीक्षामा विद्यार्थीमा नैराश्यताभन्दा पनि उत्साहको माहोल देखिन्थ्यो ।
आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जानकारी दिएको छ । सबैभन्दा बढी काठमाडौँमा १६२ र मनाङ–मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको छ । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् ।
त्यसैगरी आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कूल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परीक्षका लागि फर्म भरेका छन् । यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी भएका छन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी भएका छन् ।
कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ । गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावदीको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेकाले पनि आजको परीक्षा दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तीनकुने घटनामा संलग्न रहेको आरोप लागेका एक जनासहित ६ जनाले कक्षा १२ को परीक्षा दिएका छन् । जसमा चैत १५ गतेको घटनामा अपराधिक उपद्रोव गर्न नहुने कसुरमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतो, अभद्र व्यवहारमा पक्राउ परेका नुवाकोट बिदुर नगरपालिका -२ घर भई काठमाडौं बसुन्धरा बस्ने १९ वर्षीय सिमन घले, अभद्र कसुरमा पक्राउ परेका भारत घर भई हाल काठमाडौं बस्ने अमन साकिन, अभद्र व्यवहार कसुरमा पक्राउ परेका धादिङ नीलकण्ठ नगरपालिका-१३ का सरोज थापा, सवारी ज्यान कसुरमा पक्राउ परेका स्याङजाका सौगातकुमार विक र चोरी कसुरमा पक्राउ परेका सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका-१ का दावा शेर्पालगायतलाई परीक्षाको व्यवस्था गरिएको हो ।
जिल्ला शिक्षा समन्वयसँग सहकार्य गरेर प्रहरीकै खर्चमा उनीहरूलाई पञ्जकन्या स्कुलमा परीक्षा सेन्टर तोकेर परीक्षा दिन लगाइएको छ ।
यसैगरी काठमाडौँ तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिएकी छन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन् । प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुन् । उनले एसइई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यामिक विद्यालयबाट उर्तीण गरेकी थिइन् । उनका श्रीमान विद्यालयका शिक्षक छन् ।





























प्रतिक्रिया