नेपालमा एक विश्वस्तरीय युनिभर्सिटी स्थापना गर्न एभरेष्ट कोष खडा गरेका हाैं – अध्यक्ष फ्लेसनर

नेपालमा एक विश्वस्तरीय युनिभर्सिटी स्थापना गर्न एभरेष्ट कोष खडा गरेका हाैं – अध्यक्ष फ्लेसनर

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । एभरेष्ट विज्ञान तथा प्रविधि कोषका अध्यक्ष ब्रुस फ्लेसनरले नेपालमा एक विश्वस्तरीय विश्वविद्यालय स्थापना गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय दाताहरूको सहयोग जुटाउन एभरेष्ट कोषको स्थापना गरिएको बताएका छन्।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आइतबार काठमाडौंमा आयोजना गरेको “विश्वस्तरिय विश्वविद्यालय निमार्णका लागी पहिलो कदम” विषयक अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै अमेरिकन विश्वविद्यालय कायरोका पूर्व उपाध्यक्षसमेत रहेका फ्लेसनरले यस पहलमा अन्तर्राष्ट्रिय दाताहरू सकारात्मक रहेको बताएका हुन् ।

उनका अनुसार, यस कोषमार्फत अमेरिकालगायत अन्य देशका व्यक्ति तथा संस्थाहरूले नेपालमा विश्वविद्यालय निर्माणका लागि कर छुटसहित सहयोग गर्न सक्नेछन् । “एभरेष्ट फण्डले अमेरिकी नागरिकहरूलाई नेपालमा विश्वविद्यालय बनाउन दान गर्ने बाटो खोलेको छ,” उनले भने, “हामी भविष्यमा यस्तै संयन्त्र अष्ट्रेलिया, क्यानडा र बेलायत जस्ता देशहरूमा पनि विस्तार गर्ने योजनामा छौँ।”

विश्वभर शिक्षा क्षेत्रमा ठूलो मात्रामा दान हुने गरेको उल्लेख गर्दै अध्यक्ष फ्लेसनरले नेपाल जस्ता देशले पनि यस अवसरको फाइदा उठाउन सक्ने बताए। उनले अमेरिकामा मात्रै गत वर्ष ५ खर्ब ७० अर्ब डलर दान भएको र त्यसमध्ये करिब ५ प्रतिशत अन्तर्राष्ट्रिय परियोजनामा खर्च भएको जानकारी दिए।

अध्यक्ष फ्लेसनरले २१औँ र २२औँ शताब्दीको आवश्यकता अनुसार विश्वविद्यालयको अवधारणालाई पुन: परिभाषित गर्नुपर्नेमा जोड दिए। नेपालजस्तो देशमा नयाँ सोचसहितको विश्वविद्यालय स्थापना एक अद्वितीय अवसर भएको उनको भनाइ थियो। “हामी नयाँ युगको विश्वविद्यालय कस्तो हुनुपर्छ भन्ने विषयमा गहन छलफल गरिरहेका छौँ,” उनले भने, “यो परियोजना सम्भवतः हामी सबैको जीवनकै सबैभन्दा महत्त्वपूर्ण कार्य हुनेछ।”

विश्वविद्यालयलाई विश्वभरका प्रतिष्ठित व्यक्ति तथा परिवारसँग सम्बन्धित दाताहरूसँग जोड्ने प्रयास भइरहेको जानकारी दिँदै फ्लेसनरले नेपालसँग भावनात्मक सम्बन्ध भएका वा भ्रमणका माध्यमबाट देशसँग जोडिएकाहरूलाई पनि यस पहलमा समावेश गरिने बताए।

उनका अनुसार, यो प्रयासले नेपालको शिक्षा क्षेत्रमा मात्र नभई अनुसन्धान, नवप्रवर्तन र प्रविधिमा विश्वव्यापी सहकार्यको ढोका खोल्नेछ । सम्मेलनका सहभागीहरूलाई यो ऐतिहासिक यात्राको साझेदार बन्न उनले आह्वानसमेत गरे।

Skip This
Skip This
Logo