काठमाडौं । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएर पाकिस्तानका नौ स्थानमा गरेको हवाई आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।
अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरस्थित पहलगाममा भएको घटनापछि भारतले आक्रमण सुरु गरेको हो । भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको बताइएको छ ।
भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।
पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा आतंककारी हमला हुँदा नेपालको बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो। उक्त हमलाको दोष दिँदै भारतले पाकिस्तानमाथि प्रहार गर्ने धम्की दिइरहेको थियो । अर्कोतर्फ पाकिस्तानले भने सो हमलामा आफ्नो संलग्नता नभएको दावी गरिरहेको छ । सो हमला पछि दुई देशबीच पानी बाँडफाँडका लागि ६५ वर्षअघि भएको सिन्धु पानी सन्धी भारतले एकतर्फी रूपमा तोडेको घोषणा गरेको छ । सोही घोषणालाई लागू गर्नका लागि भारतले मंगलबार मात्रै पानीको वहाब रोक्ने निर्णय गरेको थियो र राति हमलासमेत गर्यो । यसअघि सीमा क्षेत्रमा दुई पक्षबीच गोली हानाहान समेत भएको थियो।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् । साथै यसको बलियो जवाफ दिने उनको चेतावनी छ ।
सामाजिक सन्जाल एक्स अकाउन्टमा उनले लेखेका छन्, ‘भारतले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्वक आक्रमण गरेको छ । पाकिस्तानलाई यस युद्धकार्यको कडा जवाफ दिने पूरा अधिकार छ र जवाफ दिइँदैछ ।’ उनले पाकिस्तानका सम्पूर्ण जनता पाकिस्तानी सेनासँग एक भएर उभिएका र देशको मनोबल उच्च भएको पनि उल्लेख गरेका छन् ।
यो विषयमा अमेरिकाले पनि ध्यानाकर्षण जनाएको छ । भारतको आक्रमणप्रति प्रतिक्रिया दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘भारत र पाकिस्तानबीचको अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको छु। म राष्ट्रपति डोनाल्ड ट्रम्पको यो तनाव चाँडै अन्त्य होस् र भारत तथा पाकिस्तान दुवै मुलुकका नेतृत्वसँग वार्तामार्फत् शान्तिपूर्ण समाधान खोज्ने प्रयास जारी रहनेछ भन्ने टिप्पणीसँग सहमत छु ।’































प्रतिक्रिया