कमिसन नपाएपछि हाइड्रोको सेयर निष्कासनमा स्वीकृति नदिएको बोर्डका अध्यक्षमाथि आरोप, इप्पान भन्छ- ‘बुझ्दै छौं’

कमिसन नपाएपछि हाइड्रोको सेयर निष्कासनमा स्वीकृति नदिएको बोर्डका अध्यक्षमाथि आरोप, इप्पान भन्छ- ‘बुझ्दै छौं’

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि प्राथमिक सेयर निष्कासन (आईपीओ) निष्कासनको स्वीकृति माग्दा कमिसन मागेको आरोप लागेको छ । श्रेष्ठले एक वटा कम्पनीको सेयर निष्कासन स्वीकृतिको लागि ७ प्रतिशतसम्म कमिसन मागेको हाइड्रोपावर व्यवसायीहरूले आरोप लगाएका हुन् ।

हाइड्रोपावरको आईपीओ लामो समय निष्कासन नहुँदा कमिसनको चक्करले रहेको धेरैको बुझाइ थियो । यद्यपि कमिसन मागको विषय सञ्चारमाध्यमबाट बाहिरिए पनि आधिकारिक रूपमा भने यसको पुष्टि हुन बाँकी छ ।

व्यवसायीले लगाएको आरोप प्रति धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै कमिसन नमागेको प्रष्ट परेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यदि कसैले बोर्ड अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैर कानुनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराई दिनु भएमा सम्बन्धित उपर आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने जानकारी गराइन्छ ।’

यस्तै, बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले पुँजी बजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रूपमा यस्ता प्रायोजित सामग्रीको सम्प्रेषणले नियामक निकायको छवि धूमिल पार्नुका साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्य राखेको बताए ।

अहिले ४३ वटा हाइड्रोपावर कम्पनीका आईपीओको निष्कासनको पाइपलाइनमा छन् । २ अर्ब ९३ करोड १० लाख ३७ हजार ५०० रुपैयाँ मूल्य बराबरको १ करोड १६ लाख ५० हजार ३७५ कित्ता हाइड्रोपावर कम्पनीकाे आईपीओ निष्कासनको पाइपलाइन छ ।

यसअघि पनि इप्पान कार्यसमितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर हाइड्रोपावरको आईपीओ निष्कासन नभइरहेको बारेमा ध्यानाकर्षण गराएका थिए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) महासचिव बलराम खतिवडाले हाइड्रोपावर व्यवसायीबाट यस्ता गुनासाहरू आइरहेको बताए ।

‘व्यक्तिगत रूपमा यस्ता विषय आएता पनि इप्पानमा लिखित रूपमा आइको छैन, हामीले पनि यस विषयमा बुझी रहेको छौं, नियोजित रूपमा सेयर निष्कासन रोकिएको रहेछ भने यो मान्य हुने छैन,’ उनले भने । इप्पानका कार्यसमिति र अध्यक्ष श्रेष्ठबीच छलफलको तयार रहेको बताइएको छ ।

बोर्डबाट आईपीओको स्वीकृतिको लागि कमिसन मागेको रहेछ भने इप्पानमा जानकारी गराउनको लागि खतिवडाले आग्रह गरे । हाइड्रोपावरको आईपीओ निष्कासनको लागि अनुमति किन नदिएको भनेर बुझ्न नसकी रहेको खतिवडाको भनाई छ ।

यसैगरी प्रतिनिधि सभाको आजको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा कमिसनको खेलका कारण आईपीओको रोकिएको आवाज उठाएका छन् । कमिसनको खेलबारे सार्वजनिक भएका समाचारहरूमा गम्भीर चासो राख्दै छानबिन गर्न माग समेत राखे ।

Skip This
Skip This
Logo