छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ।
छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको बिहानको परीक्षणका रिपोर्टहरु अध्ययनपश्चात स्वास्थ्यस्थिति सामान्य देखिएको हो।
सेण्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले शुक्रबारबिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको छ। डा श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यू पहिलेको जस्तै अवस्थामा आउनुभएको छ।’
प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले भोलि बिहान डिस्चार्ज गर्ने तयारी गरेका थिए । तर प्रधानमन्त्री ओलीले घरमै गएर आराम गर्ने बताएपछि चिकित्सकहरुले पुन: छलफल गरिरहेका छन्।
प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ। गत साता बिहिबारदेखि नै अस्वस्थ्य प्रधानमन्त्री ओलीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएपछि पनि भेटघाट सहज नहुने भएको छ । चिकित्सकको सल्लाहअनुसार अस्पतालले डिस्चार्ज गरेपछि पनि अत्यावश्यकबाहेकसँग भेटघाटमा रोक लगाउने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बिहान अस्पतालमा नै रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री राम बहादुर थापासंग सानो अनौपचारिक बैठक बसेका थिए । गत आइतबार राष्ट्रपतिको कतार भ्रमण स्वीकृत गर्न संक्षिप्त बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीले कुनै काम गर्न पाएका छैनन् । अस्पतालमा रहँदा मन्त्रिपरिषद् बैठकलगायतका नियमित काम नै प्रभावित हुन थालेका छन् ।
प्रधानमन्त्रीको अस्वस्थ्यताका कारण दसैंपछि घोषणा गर्ने भनिएका ठूला परियोजना केही पछि सर्ने अवस्थामा पुगेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार चौमासिक बजेटको अवस्था हेरेर खासगरी सडक, पूर्वाधार, स्वास्थ्यलगायतका क्षेत्रमा केही घोषणा गर्ने तयारी भएको थियो ।
प्रधानमन्त्रीले संसद भवनसहित प्रादेशिक ठूला भवनको शिलान्यासको तयारी गरिरहेका अर्थ मन्त्रालय स्रोतको भनाइ छ । त्यसबाहेक संवैधानिक परिषदको बैठक प्रभावित भएको छ । सरकारले विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति अन्तिम चरणमा पुर्याएको थियो । प्रधानमन्त्री कार्यालयले दसैंअघि नै परिषद् पदाधिकारीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो ।
संघ र प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न बनाइएको अन्तर प्रदेश परिषद् बैठक पनि स्थगित भएको लामो समय भएको छ ।































प्रतिक्रिया