ललितपुर
ललितपुरको बागमती गाउँपालिकाका अध्यक्ष सहितको जम्बो टोली कार्यालय नै खाली गरी स्थानीयतह अवलोकन गर्न पूर्वीनेपाल भ्रमणमा निस्किएको छ । टोलीमा ३३ जना सहभागी छन् । पाँचदिने भ्रमणमा मंगलबार निस्किएको टोलीको दार्जिलिङसम्म पुगेर शुक्रबार फर्किने योजना थियो । तर टोली बिहीबार धरान–धनकुटातर्फ लागेको छ ।
गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले इलामको विश्वशान्ति तथा रुप र झापाको बुद्धशान्ति गाउँपालिका अवलोकन गरी धरानतर्फ गएको बताए । उनका अनुसार धरान–धनकुटाका केही स्थानीय तहका काम हेर्ने योजना छ । ‘मिल्यो भने शुक्रबार नै काठमाडौं फर्कन्छौँ’, उनले भने ।
कार्यालय सुनसान बनाएर जनप्रतिनिधि–कर्मचारी टोली भ्रमणमा निस्किएपछि सेवाग्राही मारमा परेका छन् । तर कार्यालय सुनसान नबनाएको लोप्चन दाबी गर्छन् ।
स्थानीय तह कसरी सञ्चालित छन् त्यो अध्ययन गर्न निस्किएकाले यसलाई नकारात्मक रूपमा नलिन लोप्चनले आग्रह गरे । उनले भने, ‘हामी विदेश गएका होइनौें । मुलुकभित्र अवलोकन भ्रमणमा गएका हौँ ।
गाउँपालिका कार्यालयमा २१ कर्मचारी कार्यरत छन् । भ्रमणमा अध्यक्ष लोप्चन, उपप्रमुख रञ्जना कोइराला, कार्यकारी प्रमुख वरदान सेजुवाल लगायत ११ बोर्ड सदस्य, चार वडाध्यक्ष तथा सचिव समावेश छन् । तीन वडाध्यक्ष, तीन बोर्ड सदस्य, एक महिला विकास अधिकारी र कार्यालय सहयोगी भने भ्रमणमा सहभागी छैनन् ।
( फोटोः झापाको बुधबारेस्थित बुद्धशान्ति गाउँपालिका कार्यालयअगाडि सामूहिक तस्बिर खिचाउँदै भ्रमण टोली । )
अन्नपूर्णबाट































प्रतिक्रिया