मानसिक स्वास्थ्यको उज्यालोतर्फ एक पाइलाः त्रिचन्द्र क्याम्पसमा ‘काउन्सेलिङ मेला’

मानसिक स्वास्थ्यको उज्यालोतर्फ एक पाइलाः त्रिचन्द्र क्याम्पसमा ‘काउन्सेलिङ मेला’


आजको द्रुतगामी जीवनशैलीमा मानिसहरू निरन्तर दौडधूपमा छन् । समय परिवर्तनसंगै व्यक्तिहरु प्रविधिमै झुम्मिन थालेका छन् । जसका कारण मानिसबीच भावनात्मक सम्बन्ध मलिन हुँदै गएको छ ।

जब हामी स्वास्थ्यको कुरा गर्छौं, धेरैजसो मानिसको ध्यान शारीरिक तन्दुरुस्तीमा मात्र केन्द्रित हुन्छ खासगरी व्यायाम, खाना, रोग तथा उपचारमा । तर स्वास्थ्य केवल बाहिरी देखिने कुरामा मात्र सीमित छैन । मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्वपूर्ण छ तर यसलाई प्रायः बेवास्ता गरिन्छ । थोरै मात्र मानिसहरूले यसलाई बुझ्छन् र प्राथमिकता दिन्छन् । यो हाम्रो जीवनको एउटा यस्तो पक्ष हो जुन प्रायः महसुस गरिँदैन, अझ कम नै छलफल गरिन्छ ।

हाम्रो सोच, भावना र तनावको स्तरले हाम्रो दैनिक जीवन, सम्बन्ध, निर्णय लिने क्षमता, र शारीरिक स्वास्थ्यसम्म असर पार्छ । चिन्ता, डिप्रेशन, थकान वा मानसिक थकावट कमजोरीको लक्षण नभई हाम्रो मानसिक स्वास्थ्यले ध्यान मागिरहेका संकेत हुन् ।

मानसिक स्वास्थ्यलाई मान्यता दिनु आजको आवश्यकता बनिसकेको छ । स्वस्थ मनले मात्र सार्थक, सन्तुलित र सफल जीवनयापन गर्न सकिन्छ । अब समय आएको छ, मौनता तोड्ने, कलङ्क मेटाउने र मानसिक सन्तुलनलाई समग्र स्वास्थ्यको अभिन्न अङ्गको रूपमा स्वीकार गर्ने । कुरा गरौं, समर्थन गरौं र मानसिक रूपमा सशक्त बनौं, केवल समस्या पर्दा होइन, जीवनको हरेक मोडमा ।

प्रविधिको प्रयोग आजको आवश्यकता हो तर यसको प्रयोग अनियन्त्रित बन्दै जाँदा, मानिसले कति समयसम्म प्रयोग गर्ने हो त्यसको हेक्का नराख्दा बालबालिकादेखि युवाहरुमा गम्भीर मानसिक समस्या देखिन थालेको छ । आजको दिनमा यो व्यक्तिगत समस्या मात्र होइन सामाजिक समस्याकै रुप उत्पन्न भैसकेकाे छ । तनाव, चिन्ता, थकान, आत्मसम्मानको गिरावट यस्ता मौन तर गम्भीर मानसिक अवस्थाहरू दिन प्रतिदिन बढ्दो क्रममा छन् ।

यिनै समस्याहरूप्रति जनचेतना अभिवृद्धि गर्न, मानसिक स्वास्थ्यप्रति संवेदनशीलता विकास गर्न, र समाजमा ‘सुनौं, बुझौं, निको पारौं’ भन्ने सन्देश फैलाउन त्रिचन्द्र बहुमुखी क्याम्पस–घण्टाघरले ‘काउन्सेलिङ मेला’ को आयोजना गर्दै छ ।

पोस्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजीका २१औँ ब्याचका विद्यार्थीहरूले आयोजना गर्न लागेको यो मेला मूल भावना “सेयर, फिल, हिल (अनुभव गरौं, बाँडौं, निको पारौं) मा आधारित रहि त्रिचन्द्र क्याम्पस परिसरमै सञ्चालन हुनेछ । यस नाराले मानसिक स्वास्थ्यप्रतिको सन्दर्भ मात्र नभई आत्म–अनुभूति, सम्वाद र आत्म–उपचारको महत्वलाई उजागर गर्दछ ।

मेलामा सहभागी भई निःशुल्क प्रशिक्षित मनोपरामर्शदाताहरूबाट काउन्सेलिङ सेवा, मानसिक स्वास्थ्यसंग सम्बन्धित जानकारीमूलक सामग्री, संवाद, परामर्श तथा सचेतना, कला थेरापी लगायत विभिन्न मनोरञ्जनहरुको फाइदा उठाउने मौका पाउन सक्छाैं ।

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर करिब ८ मध्ये १ व्यक्ति कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् । नेपालमा समेत डिप्रेशन, चिन्ता, आत्महत्या जस्ता विषयहरू बढ्दो छन् । अझ महामारीपछि यस्तो अवस्था भयावह रूपमा देखिएको छ । तर मानसिक स्वास्थ्यबारे बोल्ने, सुनाउने र समाधान खोज्ने प्रवृत्ति अझै पनि संकोच र लाजको घेराभित्र छ । तसर्थ, ‘काउन्सेलिङ मेला’ यस्तो संकोच तोड्ने एक सहज र सुरक्षित स्थान हो जहाँ मानिसहरू खुलेर आफ्ना अनुभूति अभिव्यक्त गर्न सक्छन् र मनोपरामर्शका माध्यमबाट समाधानका बाटाहरू भेट्टाउन सक्छन् ।

‘काउन्सेलिङ मेला’ कुनै औपचारिक कार्यक्रम मात्र नभई एक भावनात्मक यात्रा हो । जहाँ तपाईं आफैंलाई बुझ्न सक्नुहुन्छ, बोझ हलुका पार्न सक्नुहुन्छ । साथ-साथै नयाँ सकारात्मक ऊर्जा लिन सक्नुहुन्छ । आउनुहोस्, अनुभव गरौं, बाँडौं, र निको पारौं । तपाईंको सहभागिता, समाजमा मानसिक स्वास्थ्यप्रतिको सोचमा परिवर्तन ल्याउने एउटा सशक्त पाइला बन्न सक्छ ।

Skip This
Skip This
Logo