बहराइनमाथि नेपालको नौ विकेटको जित

बहराइनमाथि नेपालको नौ विकेटको जित

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । आईसीसी महिला टी२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनमाथि सानदार जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा नेपालले नौ विकेटको जित निकालेको हो ।

वर्षाका कारण खेल पाँच ओभरमा छोट्याइएको थियो । बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि कविता कुँवर ११ बलमा १८ रन बनाइन् । यसैगरी सम्झना खड्का र कप्तान इन्दु बर्माले क्रमशः १३ र ७ रन जोडे। उनीहरु अविजित रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले निर्धारित पाँच ओभरमा एक विकेट गुमाएर ४१ रन बनाएको थियो। बहराइनका लागि कप्तान दिपिका रसङ्गीकाले १३ बलमा ६ चौका र एक छक्काको मद्दतले ३४ रन जोडेर अविजित रहिन्।

नेपालका लागि पूजा महतोले एक विकेट लिइन्।

जितसँगै नेपालले  ३ अंक बटुलेको छ। यसअघिको खेल पनि वर्षाका कारण स्थगित भएको थियो । अब नेपालले आफ्नो अर्को खेल मंगलबार हङकङसँग र बिहीबार पुनः बहराइनसँगै खेल्नेछ।

नेपाल, बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् ।हरेक समूहका टोलीले एकआपसमा दुईपटक खेले पश्चात समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउने छ । सुपर थ्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ ।

Skip This
Skip This
Logo