काठमाडौं । नेपाल राष्ट्र बैंकले १८औं गभर्नरमा डा. विश्वनाथ पौडेललाई पाएको छ । लामो समयको रस्सीकस्सी पछि मंगलबार बसेको गभर्नर सिफारिस समितिको सिफारिसमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।
त्यसअघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले पौडेलसहित डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिना र दिनेश भट्टराईको नाम सरकारसमक्ष सिफारिस गरेको थियो । तर पहिलो नंबरमा परेका पौडेल गभर्नर बनेका हुन् । राष्ट्र बैंकमा डेढ महिनापछि गभर्नर पद रिक्त छ । गएको चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको हो ।
मंगलबार मात्रै प्रधानमन्त्री र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्ने सहमति भएको थियो । यसअघि गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । योबीचमा गभर्नरको सम्भावित उम्मेदवारहरूमा एक दर्जन बढीको नाम चर्चामा थियो । तर राजनीतिक भागबण्डाका कारण नियुक्त हुन सकेको थिएन ।
चितवन घर भएका नवनियुक्त गर्भनर पौडेलले चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गरेका छन् । पौडेल एक अर्थशास्त्रीका साथै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।
डा. पौडेललाई सभापति देउवाका विश्वास पात्रका रुपमा लिइन्छ । यद्यपी आफू प्रधानमन्त्री भएको बेला देउवाले २०७८ साउन १२ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पूर्वउपाध्यक्ष शंकर शर्मालाई नियुक्त गर्ने चर्चाका बीच पौडेललाई नियुक्त गरेको थिए।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर २०७९ सालमा पौडेलले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । चितवन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका उनी चुनावमा भने रास्वपाका उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए ।
हाल राष्ट्र बैंकको गर्भनर बन्न पनि देउवाले नै उनलाई प्रस्ताव गरेका हुन् । अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि पौडेल काठमाडौं विश्वविद्यालयका एसोसिएट भिजिटिङ प्रोफेसर पनि हुन् ।
उनी अर्थसँग सम्बन्धित विभिन्न लेख र रचनाहरु पनि लेख्दै आएका छन् । उच्च शिक्षा अध्ययका लागि अमेरिकाको राइस विश्वविद्यालयमा गएका उनी युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पीएचडी गरेका हुन् । उनले इतिहास र अर्थशास्त्रबारे विशेष ज्ञान राख्छन् । यद्यपी उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि छ ।
प्राविधिक रुपमा पनि उनी नेपाल राष्ट्र बैंकको गर्भनर पदका लागि योग्य छन् । यसअघि गर्भनर नियुक्तिमा एमाले र काग्रेंसबिच सहमति जुट्न सकेको थिएन । सोही कारण यो गर्भनर नियुक्तीको विषयले निकै विवाद र तर्क वितर्क निम्त्याएका थिए । दुवै पार्टीका बिच गर्भनर नियुक्तिमा सहमती जुट्न नसक्दा दुई दलबिचको गठबन्धनमा संकट आउन सक्ने आंकलन गरिएको थियो ।
तर, मंगलबार भने प्रधानमन्त्री र कांग्रेसका सभापति देउवाले भेटवार्ता गरेका थिए । सोही बैठकपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका हुन्, जसले पौडेललाई राष्ट्र बैंकको गर्भनरमा सिफारिस गरेकाे थियाे ।
२४ चैत २०८१ देखि गभर्नरको पद रिक्त थियो, र यो अवधिमा डेपुटी गभर्नर निलम ढुंगानाले नेतृत्व सम्हाल्दै आएकी थिईन् । तर, काँग्रेस र एमालेबीच भागबण्डा नमिल्दा गभर्नर नियुक्ति हुन सकेको थिएन ।
यसअघि काँग्रेस सभापति देउवाले विभिन्न व्यक्तिको नाम अघि सारेको भएपनि प्रधानमन्त्री ओलीले स्विकृति जनाएका थिएनन् । कांग्रेसले गभर्नरका लागि राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टको नाम अघि सारेको थियो । भट्टलाई गभर्नर नियुक्त गर्न प्रधानमन्त्री पनि तयार थिए । तर, भट्टले वैशाख ५ मा कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपनि कायम मुकायम गभर्नर नीलम ढुंगानाले स्वीकृत नै गरिनन् ।
भट्टबाट पार लाग्ने नदेखिएपछि काँग्रेस सभापति देउवाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलको नाम अगाडि बढाएसँगै उनी राष्ट्र बैंकको गर्भनरमा नियुक्त भएका हुन् ।
यसबीचमा अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । तर, मंगलबार मात्रै सर्वोच्चले पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनको आदेशलाई सदर गरेको छ । न्यायाधीश सपना मल्लको इजलासले मंगलबार दरपीठ आदेश सदर गरेको हो ।
यद्यपी, नियुक्तिपछि पनि उनको योग्यता र अरु प्रश्न उठाई आगामी दिनमा रिट निवेदन दर्ता हुने सम्भावना भने टरिसकेको छैन । अब निकै लामो समयको विवादपछि पाएको गर्भनर पदका लागि उनले कसरी आफूलाई प्रमाणित गरेर राष्ट्र बैंकको नेतृत्व निभाउँछन् त्यो भने हेर्न बाँकी नै छ ।





























प्रतिक्रिया