काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा नियमित सञ्चालनलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समावेश गर्नुपर्ने पर्यटन सम्बन्धी १५ बुँदे विस्तृत सुझावहरू प्रस्तुत गर्दै सभापति बस्नेतले ईयूको ‘सेफ्टी लिस्ट’ बाट नेपाललाई हटाएर युरोपेली देशहरूमा सिधा हवाई उडानको प्रबन्ध मिलाउन र हवाई टिकटमा लगाइएको भ्याट सम्बन्धी प्रावधानमा पुनरावलोकन गर्न आग्रह गरेका हुन् । साथै पदयात्रा र हिमाल आरोहणबाहेक अन्य साहसिक खेलहरुमार्फत पर्यटकीय गतिविधि विस्तार हुने गरी नीतिगत र बजेटरी सहजीकरण हुनुपर्ने उनकाे भनाइ छ ।
यी हुन् सभापति बस्नेतले प्रस्तुत गरेका सुझावहरु
१) पोखरा र भैरहवा अन्तर्राष्ट्रिय पूर्ण क्षमतामा सञ्चालन गर्न नीतिगत सहजीकरण, स्पष्ट कार्ययोजना र पर्याप्त बजेटको प्रबन्ध हुनुपर्ने ।
२) नेपाल धार्मिक गन्तव्य र शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमी भएकाले ‘स्प्रिचुअल टुरिजम’को अवधारणा विकास गरी कार्यान्वयन गर्नुपर्ने ।
३) पदयात्रा र हिमाल आरोहरण बाहेक अन्य साहसिक खेलहरु (स्काई डाइभ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, एडेभेन्जर साइकलिङ, हिल साइड रेसिङ÷राइडिङ)मार्फत पर्यटकीय गतिविधि विस्तार हुने गरी नीतिगत र बजेटरी सहजीकरण हुनुपर्ने ।
४) नेपालबाट हाल युरोपका देशमा सिँधा हवाई उडान हुन सकिरहेको छैन । नेपाललाई ईयूको ‘सेफ्टी लिस्ट’बाट जतिसक्दो चाँडो बाहिर निकालेर युरोपेली देशहरुमा सिँधा हवाई सम्पर्क विस्तार गर्नुपर्ने ।
५) नेपालमा अहिले निजी क्षेत्रको पहलमा अन्तर्राष्ट्रिय ‘चेन होटल’ ब्राण्डहरुको विस्तार भइरहेको छ । उनीहरुले नेपालका होटलको व्यवस्थापन बापत लैजान पाउने शुल्कमा पुनरावलोकन हुनुपर्ने वा दुइ पक्षको सहमतिमा निर्धारण हुन पाउने गरी खुला छोडिदिनुपर्ने ।
६) तारे होटलहरुलाई उद्योगको मान्यता दिने भनेर कानुन संशोधन भएपनि त्यसका नियमावली जारी हुने लगायतका कुराहरु अझै बाँकी रहेकाले यी कामहरु तत्काल गर्नका लागि बजेटबाटै घोषणा हुनुपर्ने ।
७) नेपाल ‘म्यारिज डेस्टिनेशन’का रुपमा विकास र विस्तार हुँदै गएको अवस्थामा भारतीय पर्यटकलाई नगद सीमा लागू गर्न नहुने । नेपाल प्रयोजन खुलाएर आफ्नो देशको मुद्रा लिएर आउन दिनुपर्ने ।
८) हावापानी र मौसका कारण नेपालमा अन्तर्राष्ट्रिय खेलहरु खेलाउन सकिन्छ । यसबाट खेल पर्यटन प्रवद्र्धन हुन गई मुलुकलाई मनग्य फाइदा पुग्छ । यसका लागि विश्वस्तरीय रंगाशाला (स्टेडियम) जस्ता खेलकुदका पूर्वाधारहरु विकास गरिनुपर्ने ।
९) कतिपय स्वास्थ्य उपचारहरु अन्य देशको तुलनामा नेपालमा सस्तो र स्तरीय हुने गर्दछ । उदाहरणका लागि आँखाको उपचारलाई हेर्न सकिन्छ । यस्ता स्वास्थ्य उपचारको पहिचान गरी ‘हेल्थ टुरिजम’को अवधारणा विकास गरि कार्यान्वयन गरिनुपर्ने ।
१०) पर्यटन पूर्वाधार (सडक, एयरपोर्ट लगायत)मा निजी र बाह्य लगानी खुला गरिनुपर्ने ।
११) स्थलमार्ग हुँदै आउने पर्यटकका लागि सीमा नाकामा ‘हेल्प डेक्स’ स्थापना गरी त्यहीँबाट मुद्रा सट्टा–पट्टा लगायतका सुविधा उपलब्ध गराउनुपर्ने ।
१२) स्थलमार्ग हुँदै आउने पर्यटकका लागि लक्षित गरेर स्तरीय सडक पूर्वाधारको विकास गर्नुपर्ने ।
१३) हवाई टिकटमा लगाइएको भ्याट सम्बन्धि प्रावधानमा पुनरावलोकन गरिनुपर्ने ।
१४) आन्तरिक घुमफिरलाई प्रोत्साहन गर्न कर्मचारीहरुलाई वर्षमा १५ दिन ‘पर्यटन बिदा’ दिने व्यवस्था लागू गर्नुपर्ने ।
१५) गैर आवासीय नेपालीलाई सहजै आवतजावत गर्न दिने र उनीहरुलाई साथमा लिएर विश्वका हरेक देशमा नेपालको पर्यटन सम्बन्धि प्रचारप्रचारका काम आयोजना गरिनुपर्ने ।































प्रतिक्रिया