काठमाडौं । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई नै मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा मुछिएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसाका नाममा मानव तस्करी गराउने गिरोहसँग भट्टराईको कनेक्सन रहेको छानविनका क्रममा पाएको हो । उनलाई आयोगले बुधबार सोधपुछका लागि नियन्त्रणमा लिएर बिहीबार उपस्थित हुने सर्तमा साँझ रिहा गरेको छ ।
हाल भट्टराई विमानस्थलमा भने छैनन् । आयोगले विमानस्थलमा कर्मचारीकै सेटिङमा भइरहेको मानव तस्करीको छानबिनलाई तीब्रता दिएपछि सहसचिव भट्टराईले गृह मन्त्रालयका अधिकारीहरुसँग सरुवा मागेका थिए र मंगलबार साँझ मात्रै गृह तानिएका थिए । उनको सट्टामा पाँचथरमा प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालाको सरूवा भएको छ। त्यसलगत्तै भट्टराई पक्राउ परेका हुन् ।
अख्तियारले बुधबार नै विमानस्थल अध्यागमनमा छापा मारेर विद्युतीय उपकरण र अन्य कागजातहरू पनि नियन्त्रणमा लिएको छ । त्यस क्रममा अख्तियारले काठमाडौंबाट एउटा ट्राभल एजेन्सी र भक्तपुरमा अरू दुई जना व्यक्तिका घरबाट पनि डिभाइस र अरू कागजातहरू नियन्त्रणमा लिएको छ । भक्तपुरका खगेन्द्र सुवेदी, सीआईटी कलेजमा कार्यरत कविता पौडेल र हात्तीसारमा रहेको ट्राभल एजेन्सी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्काको मोबाइल फोन, ल्यापटप लगायतका उपकरण पनि अख्तियारले नियन्त्रणमा लिएको हो ।
भट्टराई पटकपटक विवादमा तानिरहने निजामती कर्मचारी हुन् । उनी यसअघि २०७२ को विनाशकारी भूकम्पका बेला काठमाडौंको स्थानीय विकास अधिकारी हुँदा त्रिपाल खरिद प्रकरणमा पनि मुछिएका थिए । उनले भन्सार छुटमा ल्याएको त्रिपाल महंगो मूल्यमा खरिद गरेका थिए । उक्त प्रकरणमा निलम्बनमा परेका उनी विशेष अदालतको फैसलाले २०७४ चैत ४ मा सफाइ पाएपछि पुनः सरकारी सेवामै फर्किएका थिए । यो पटक भने मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोप लागेर अनुसन्धानमा तानिएका हुन् ।
सहसचिव भट्टराई गएको असोज १३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुख भएर पुगेका थिए। भिजिट भिसामा विदेश जान चाहनेहरु पास गराएवापत प्रतिव्यक्ति निश्चित रकम लिने सेटिङमा ‘कर्मचारीको एउटा समूह नै संलग्न’ रहेको अख्तियारको ठहर छ ।
तस्करहरुको मिलेमत्तोमा युरोपियन देश, खाडी मुलुक जान युवाहरुले २ लाखदेखि १० लाखसम्म तिर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो। यसरी लिएको रकममध्ये कर्मचारीमा ५० हजारदेखि ३ लाखसम्म हातमा पर्ने गरेको देखिएको छ। यसरी भिजिट भिसामा विदेशिएका कयौं नेपाली नागरिक अलपत्र समेत पर्ने गरेका छन् ।































प्रतिक्रिया