“मैले कुनै सिद्धान्तको प्रतिवादन गरेको नभई मार्क्सवाद जस्तो वैज्ञानिक सिद्धान्तलाई आफ्नो भूमिमा व्यवहारिक प्रयोग गरेको हो। यसलाई कुनै वादको संज्ञा दिनु उपयुक्त हुँदैन । वाद नै मान्नुपर्ने भए यसलाई बोल्सेविकवाद वा क्रान्तिकारी मार्क्सवाद भनिनु उपयुक्त हुन्छ “। -भ्लादिमिर इलिच लेनिन
लेलिनको मृत्युपछि १९२४ मा स्टालिनले एउटा पुस्तक लेख्नुभयो लेनिनवादका आधारहरू (The Foundation of Leninism) | यसमा मार्क्सवादको विकसित रूप नै लेनिनवाद हो र लेनिनवाद नै क्रान्तिको सुव्यवस्थित सिद्धान्त हो भनेर व्याख्या गरिएको छ । त्यससँगै सोभियत कम्युनिस्ट पार्टीले लेनिनलाई मार्क्सवादको उत्तराधिकारी र उनका विचारलाई लेनिनवाद भनी संस्थागत गर्यो। स्वयं उहाँको विचार र सिद्धान्तलाई लेनिनवाद भन्न मन पराउनु हुन्थेन केवल उहाँ क्रान्तिकारी मार्क्सवाद वा बोल्सेविकवाद भनिनु उपयुक्त हुन्छ भन्ने थियो । उहाँको मृत्यु पश्चात स्टालिनले लेनिनवाद २०औँ शताब्दीको बाँकी अवधिभरि विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि एउटा प्रेरणादायी, ऊर्जाशील र मार्गदर्शक सिद्धान्तको रुपमा मानियो । यसो हुनुमा दुईटा कारण मुख्य थिए। एउटा थियो पार्टीभित्रका प्रतिद्वन्दीहरूलाई निस्तेज गर्न र आफू लेनिनको सच्चा उत्तराधिकारी साबित गर्न स्टालिनले लेनिनको ज्यादा प्रशंसा गर्दै यसको माध्यमबाट विपक्षहरुलाई किनारा गर्नुपर्ने अवस्था थियो ।
अर्को कारण थियो तेस्रो अन्तर्राष्ट्रिय | लेनिनको सफलता र लोकप्रियता सँगै विश्व कम्युनिस्ट आन्दोलनको लोकप्रियतालाई पनि तुलनात्मक रुपमा अघि बढाउन सजिलो र क्रान्तिलाई अघि बढाउन सहज देखेर तेस्रो अन्तर्राष्ट्रियले लेनिनवादलाई सहज स्वीकार गर्यो र कम्युनिस्टहरुका माझमा विश्वव्यापी प्रचार गरियो आत्मसात गरियो । अहिले पनि विश्वमा छ वटा जति प्रमुख सत्तारुढ दलहरू, ५० भन्दा बढी विपक्षमा क्रियाशील दलहरू र १०० भन्दा बढी साना/क्रान्तिकारी समूहहरूले लेनिनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा मान्दै आएका छन्।
पछिल्लो समयमा कैयौँ क्रान्तिकारी राजनीतिक दलहरूले लेनिनवादी सिद्धान्तबाट अलग हुने र लेनिनका सकारात्मक कामहरुबाट सिक्ने प्रयास पनि गरिरहेका छन् । एक्काइसौँ शताब्दीमा विश्व कम्युनिष्ट आन्दोलनको स्वरूप परिवर्तन भएको छ। तत्कालीन सोभियत सङ्घ तथा अन्य केही युरोपेली देशमा समाजवादी व्यवस्थाहरूको पतन, भूमण्डलीकरण, प्रविधिको उच्चतम तथा तीव्र विकास, लोकतान्त्रिक समाजवादको उदय जस्ता विषयहरुले लेनिनवादलाई अहिलेको समयमा अप्रासंघिक बनाएको तर्कहरु प्रस्तुत हुन थालेका छन्। हामी यहाँ लेनिनवाद के हो र एक्काइसौँ शताब्दीमा त्यसको सान्दर्भिकता कस्तो होला भन्ने बारेमा संक्षिप्त चर्चा गर्नेछौं।
यी हुन् लेनिनवादका केन्द्रीय विषयवस्तु
१) अग्रगामी राजनीतिक दल
२) जनवादी केन्द्रीयता
३) साम्राज्यवाद पुँजीवादको उच्चतम
४) सर्वरावर्गको अधिनायकत्व
५) क्रान्तिकारी सिद्धान्त र अभ्यास
६) वर्ग सङ्घर्ष
७) संशोधनवादको विरोध
८) राज्य र क्रान्ति
९) अन्तर्राष्ट्रियतावाद
१०) आर्थिक योजना
१) अग्रगामी राजनीतिक दल
मजदुर वर्गलाई संगठित गर्न, सचेत गर्न र क्रान्ति सम्पन्न गर्न एउटा अनुशासित संगठित र केन्द्रीकृत क्रान्तिकारी पार्टीको आवश्यकताको कुरा लेनिनवादको मूल कुरा हो। मार्क्सले मजदुर वर्गको स्वतः आन्दोलनको कुरा गर्नुभएको र राजनीतिक दलको नेतृत्व अभावका कारण पेरिस कम्युन असफल भएको पृष्ठभूमिमा लेनिनले यो कुरा अघि सार्नुभएको हुनसक्छ । तर आज मजदुर वर्ग मार्क्सले व्याख्या गर्नुभएको जस्तो अवस्थामा छैन। बुद्धिजीवी\कलमजीवी र उच्च प्रविधियुक्त जनशक्तिहरूको संख्या बढिरहेको छ | आजको मजदुर वर्ग आफैमा सचेत र ट्रेड युनियनहरू मार्फत संगठित छ । लेनिनवादलाई नमान्ने विरोध गर्ने देशहरु र पार्टीहरू पनि अस्तित्वमा छन् र बिस्वमा तिनीहरुकै दबदबा छ । ती पार्टीहरूले ठूला ठूला परिवर्तन र क्रान्तिहरू सम्पन्न गरेको हामीले देखिरहेका छौं । क्रान्तिकारी अनुशासित कम्युनिस्ट पार्टीको नाममा एकदलीय व्यवस्था ले अपनाउनुभयो।
लेनिनले अगाडि सार्नुभएको विचारहरू मध्ये कैयौँ आज हाम्रो समाजमा समाजवाद स्थापना गर्नका निम्ति सान्दर्भिक हुन पनि सक्छन् | तर, अधिकांश कुराहरू अहिलेको समयमा तालमेल मिल्दैनन्।
आजको सन्दर्भमा प्रविधिको विकास र सूचनामा आम जनताको पहुँच, इन्टरनेट, सामाजिक सञ्जाल, स्वतन्त्र मिडिया र खुला बहसको संस्कृतिले जनतालाई सचेत बनाएको छ | श्रमिक तथा विद्यार्थीहरु आफै पनि अवसर हुँदा नेतृत्व गर्न सक्ने अवस्थामा छन् | त्यस्ताका रुसमा भएको जस्तो मजदुर वर्गको ठूलो उपस्थिति हाम्रो समाजमा छैन | जति छन् त्यो पनि दिनदिनै घट्दो क्रममा छन् | हाम्रो देशमा मजदुरको भन्दा किसानहरूको ठूलो सङ्ख्या छ। जबकि लेनिनले क्रान्तिमा किसानहरुलाई जोड्न सक्नुभएको थिएन। हामी कहाँ लोकतन्त्र, आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता, बहुलवाद, निर्णयमा सहभागिता र समावेशी सिद्धान्त लोकप्रिय भएको छ। लेनिनवादले यी कुराहरुलाई अस्वीकार गर्छ |
लेनिनको केन्द्रीय कमाण्ड, जनवादी केन्द्रीयता, पार्टी अनुशासन जस्ता विषयहरुले अधिनायकवादी शासनको झल्को जनाउँछ जबकि हामी त्यसको विरुद्धमा सातदशक लामो लडाई लडिसकेका छौं । हाम्रो देशमा लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने राजनीतिक पार्टीहरू चाहे नेकपा एमालेको कुरा होस् चाहे नेकपा माओवादी केन्द्रको कुरा होस्। बहुदलीय व्यवस्था, संवैधानिक सर्वोच्चता, आवधिक निर्वाचन, मानवाधिकार, समाबेसी लोकतन्त्र र बहुलवादलाई आत्मसात गरेर त्यसलाई आफ्नो आफ्नो नीतिमा समावेश गरेर अघि बढिरहेका छन् । लेनिनबादमा उल्लेख भएको अग्रगामी पार्टी एकदलीय व्यवस्था अथवा विरोधीहरूले भन्ने गरेको एकदलीय तानाशाहीको प्रणाली हो। एकदलीयताको विरुद्धमा नेपालका कम्युनिस्टहरु मूलतः देखिएका छन् । त्यसकारण पनि लेनिनवादको सान्दर्भिकता, भेन्गार्ड पार्टीको सान्दर्भिकता हामी कहाँ रहेन ।
२) जनवादी केन्द्रीयताको सिद्धान्त
जनवादी केन्द्रीयताको सार सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारी , व्यक्ति संगठनको मातहात , अल्पमत बहुमतको मातहत , तल्लो कमिटी माथिल्लो कमिटीको मातहत , सम्पूर्ण कमिटीहरू केन्द्रीय कमिटीको मातहत , केन्द्रीय कमिटी र केन्द्रीय निकाय महाधिवेशन मातहत , महाधिवेशन पार्टी सदस्यहरू मातहत हो । यसमा दुईवटा फरक तर्कहरु छन् । एउटा त माथिल्लो तीनवटा वाक्यांश अस्वीकार गर्ने पार्टीहरुले पनि त्यही विधि मार्फत पार्टी चलाएका हुन्छन्। सबै राजनीतिक पार्टीहरूमा अल्पमत बहुमतको मातहत सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारी व्यक्ति संगठनको मातत नै रहन्छन् र यो राजनीतिक पार्टीको हकमा विश्वव्यापी प्रचलन नै हो भन्न सकिन्छ।
पछिल्ला वाक्यांशहरूले लेनिनवादी पार्टीहरूलाई बढी प्रजातन्त्रमुखी भन्दा पनि बढी शक्तिको केन्द्रीकरणमुखी बनाउने गरेको देखिन्छ । त्यसकारण कम्युनिष्ट पार्टीहरूलाई प्रजातन्त्र विरोधी हुन्छन् भन्ने आरोप लाग्ने गरेको छ। सम्पूर्ण सदस्यहरू केन्द्रीय कमिटीहरू मातत हुने व्यवस्थाले पार्टीभित्रका विरोधीहरूलाई सजिलै उठ्न नदिने अवस्था सिर्जना हुन्छ । यो सिद्धान्त नेतृत्वको केन्द्रीकरण, बहुलवादलाई अस्वीकार, आन्तरिक लोकतन्त्रलाई कमजोर पार्ने, फरक विचारलाई फुल्न फक्रिन नदिने आदि कारणले आजको सूचना प्रविधि र बौद्दिक कृत्रिमता को युगमा यो सान्दर्भिक छैन।
३) साम्राज्यवाद पुँजीवादको उच्चतम रूप
लेनिनको समयमा जस्तो आज पुँजीवाद राष्ट्रिय राज्यको रूपमा सिमित छैन। र यसले राज्य कब्जा गरेर साम्राज्य विस्तार गर्ने नीति लिएको देखिँदैन। आजको पुँजीवाद बहुराष्ट्रिय कम्पनीहरू को रुपमा अगाडि आएको छ भौगोलिक सीमामा रोकिएको छैन। यो पुँजीवाद नाफा कमाउने उद्देश्य सस्तो श्रम, कर छुट तथा कमजोर शासन भएका देशहरूमा आफ्ना व्यवसाय सञ्चालन गर्न उद्दत छ। आजको पुँजीवादको रूप डिजिटल, गैरभौगोलिक, नाफा कमाउने उद्देश्यमा आधारित छ। लेनिनको समयमा पुँजीवादले नवउपनिवेश मार्फत भौगोलिक राष्ट्र राज्य कब्जा गर्ने उद्देश्य थियो। तर आजको पुजिवादले ऋण साम्राज्यवाद,आइएमई, विश्व बैंक, डब्ल्यूटीओ, एफटीए, गुगल, मेटा, सामसुङ, अमेजन, नेस्ले, वाल मार्टजस्ता कम्पनीहरू मार्फत काम गर्छ। यसले राष्ट्र कब्जा गरेर साम्राज्य विस्तार गर्ने नीति लिइँदैन तर शासनमा नियन्त्रण कायम गर्न खोज्छ। आर्थिक प्रभुत्व कायम गर्न खोज्छ। पुँजीवादले पनि आफ्नो रूप बदलेको छ। यसले कल्याणकारी राज्यको वकालत र कार्यान्वयन गर्न थालेको छ। हरित लगानी, सामाजिक उत्तरदायित्व, वातावरण र सामाजिक न्याय जस्ता कुरामा पुँजीवादले प्रशस्त ध्यान दिएको देखिन्छ। तसर्थ आजको सन्दर्भमा पुँजीवाद बदलिएको छ र कम्युनिष्ट क्रान्तिकारीहरूले पनि आफ्नो दृष्टिकोणलाई सोहीअनुसार बदल्न आवश्यक छ।
हरित लगानी, सामाजिक उत्तरदायित्व, वातावरण र सामाजिक न्याय जस्ता कुरामा पुँजीवादले प्रशस्त ध्यान दिएको देखिन्छ।
४) सर्वहारा वर्गको अधिनायकत्व
लेनिनले व्याख्या गर्नुभएको अनुसार सर्वहारा वर्ग (श्रमिक) ले क्रान्तिमार्फत सत्ता हातमा लिन्छ र आफ्नो अधिनायकत्व स्थापित गर्छ | पूँजीपति वर्गको तथा प्रतिक्रान्तिकारीहरूको दमन गर्छ। र नयाँ समाजवादी शासनको/समाजको निर्माण गर्छ र बिस्तारै यो साम्यवाद (वर्गविहीन समाज) मा रुपान्तरण हुन्छ। आज अधिनायकत्व भन्ने शब्द नै विश्वव्यापी रूपमा अस्वीकृत र तिरस्कृत भएको छ। अधिनायकत शब्दले एकदलीयता, विपक्षविहीन, विरोधीको दमन जस्ता कुराहरुलाई प्रतिनिधित्व गर्छ।
नेपालका कम्युनिस्टहरु लोकतन्त्र, मानव अधिकार, आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता, बहुलवाद जस्ता कुरामा विश्वास गर्न थालेका छन्। त्यसकारण पनि यो सान्दर्भिक छैन | दोस्रो कुरा सर्वहारा वर्ग अहिले फेरिएको छ। आजको समाजमा मजदुरहरू सबै एउटै वर्गका हुन् भनेर व्याख्या गर्न सकिने अवस्था छैन । अहिले कारखाना मजदुरको सट्टा डिजिटल श्रमिक ग्राहक सेवा श्रमिक, अस्थायी ज्यालादारी श्रमिक, जस्ता प्रवृतिहरूको विकास भइरहेको छ र अझै प्रविधिको विकासले ‘वर्क फ्रम होम, ड्राइभ थ्रु सर्भिस’ प्रणालीको विकास हुँदैछ। मार्क्सले व्याख्या गर्नुभएको जस्तो सर्बहारा वर्ग नेपालमा प्राय छैन। यसकारण यो अधिनायकत्वको सिद्धान्त आज स्वीकार्य हुन सक्दैन |
५) क्रान्तिकारी सिद्धान्त र अभ्यास
लेनिनले मार्क्सवादको पहिलो र सफल अभ्यास गर्नुभयो। अभ्यासको क्रममा कयौं कुरा मार्क्सले उल्लेख गर्न छुटाउनु भएको या समावेश नभएका विषयहरु पनि व्यवहारमा प्रयोग गर्नुभयो। उहाँलाई त्यति ठूलो भूगोल र जनसङ्ख्या भएको विशाल रुसमा आफ्नो भेनगार्ड पार्टीका केवल २३०० अनुशासित क्याडरहरू मार्फत क्रान्ति सम्पन्न गर्नु थियो | त्यस क्रममा उहाँले जे जे मार्क्सवाद सम्मत छ त्यही त्यही गर्नुभयो | जे मार्क्सवादमा उल्लेख छैन, उहाँलाई आवश्यक थियो, उहाँले आफैले नयाँ सिद्धान्त , विचार प्रतिपादन गर्नुभयो र कार्यान्वयन गर्नुभयो। क्रान्ति सम्पन्न भयो। त्यसले विश्वभरका कम्युनिस्ट क्रान्तिकारी तथा वामपन्थीहरूका निम्ति बेग्लै उचाइ र आशाको संचार गर्यो।
लेनिनले सम्पन्न गर्नुभएको १९१७ को अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको एक सय आठ वर्ष पुग्न लागेको छ। स्वयं बित्नुभएको १०१ वर्ष पूरा हुँदैछ। अब हामी कल्पना गरौं १०० वर्ष अगाडिको समाजको, राजनीतिको, अर्थव्यवस्थाको, भौतिक पुर्बाधारको अवस्थाको । हाम्रो हजुरबुवा पुस्ताले भोगेको जीवन, सोच्ने शैली, दैनिक जीबनमा प्रयोग गरिने सामग्री आदि । त्यस समयमा वहाँले अगाडि सार्नुभएको विचारहरू मध्ये कयौँ आज हाम्रो समाजमा समाजवाद स्थापना गर्नका निम्ति सान्दर्भिक हुन पनि सक्छन् | ती कुराहरुलाई हामीले हार्दिकतापूर्वक ग्रहण गर्नुपर्छ | तर, अधिकांश कुराहरू अहिलेको समयमा तालमेल मिल्दैनन्। लेनिनवादको नाउँमा हामी ती कुराहरुमा अल्झिनु उपयुक्त छैन र आफ्नो विशिष्टता अनुसार मौलिक सिद्धान्त तथा विचारका साथ अघि बढ्नु सान्दर्भिक हुन्छ |
विरोधीहरूको भनाइ के छ भने ‘लेनिनको कुनै सिद्धान्त र विचार थिएन। केवल उनको एउटै मात्रै सिद्धान्त थियो त्यो हो जार शाहीलाई पल्टाउने र सत्ता कब्जा गर्ने । त्यसो गर्दा जे जे काम आवश्यक पर्छ त्यही त्यही गर्दै जाने | त्यसैलाई सैद्धान्तिक रूप दिँदै जाने | त्यसमा उनी सफल भए तर आफैमा उनि मौलिक सिद्धान्तविहीन नेता हुन्’ । यी सबै सन्दर्भहरू हेर्दा लेनिनका सकारात्मक कामहरू/विचारहरूबाट सिक्नु मात्र अहिलेको निम्ति सान्दर्भिक हुन्छ।
६) वर्ग संघर्ष
कार्लमार्क्स वा लेनिनको समयमा युरोपमा औद्योगिकरणले गति लिएको थियो | ठूलो संख्यामा औद्योगिक कामदारहरू थिए। ती कामदारहरू एकै ठाउँमा बस्थे। उस्तै समस्याहरु झेलिरहेका हुन्थे । ती श्रमिकहरूलाई संगठित गर्न र नेतृत्व गर्न सहज हुन्थ्यो किनकि तिनका समस्याहरू मार्क्सवादले मात्रै उठाउन सक्थ्यो। तर आज औद्योगिक मजदुरहरूको सङ्ख्या नगन्य छ | घटेको छ | पुँजीको लगानीको क्षेत्रमा विविधिकरण भएको छ । कैयौँ प्रतिष्ठानहरूमा त मजदुरहरू नै लगानीकर्ताको रुपमा पनि विकास भएको छन् । प्रतिष्ठानहरूको केही अंशमा उनको स्वामित्व स्थापित छ । अहिले ठूलो संख्या ह्वाइट कलर वर्कर को छ र अझ प्रविधिको विकासले वर्क फ्रम होम तथा विकसित देशहरूमा सेवा प्रवाहका निम्ति ड्राइभ थ्रु सर्भिस को विकास भइरहेको छ तसर्थ आजको मजदुर वर्ग र पूँजीपति वर्ग बीचमा कित्ताकाट गर्न सजिलो छैन। वर्गमा विविधता छ। कयौं मानिस मजदुर पनि पुँजीपति पनि दुवै वर्गमा पनि छन् | समाजको ठूलै हिस्सा यी दुवै वर्गबाट भन्दा बाहिर पनि छ । त्यसकारण मार्क्सले भन्नुभएको जस्तो पुँजीपति र मजदुर वर्गको सङ्घर्ष नै आजको वर्ग संघर्षलाई प्रतिनिधित्व गर्दैन। वर्गहरूको नयाँ विश्लेषण संश्लेषण र रूपहरूको बारेमा नयाँ सिराबाट अध्ययन गर्नु र नयाँ विचार स्थापित गर्न आवश्यक छ।
७) संशोधनवादको विरोध
लेनिनले बीसौँ शताब्दीको सुरुवातमा संशोधनवादको विरोध गर्नुभयो | वहालाई लाग्यो कि मार्क्सवादको क्रान्तिकारी आत्मालाई सुधारवादी विचारहरूले कमजोर पार्दैछ। वहाले एडुआर्ड बर्नस्टिन जस्ता समाजवादीहरूलाई आलोचना गर्दै भन्नुभयो ″समाजवाद संसदीय बाटो , आवधिक निर्वाचन , लोकतन्त्रको बाटोबाट होइन, केवल सशस्त्र क्रान्तिबाटै सम्भव छ″ । तर आजको विश्व परिवेशमा यस्तो दृष्टिकोण समयसापेक्ष छैन।
वर्तमान युग बहुलवादी खुला समाज, लोकतान्त्रिक अभ्यास र मानव अधिकारप्रति संवेदनशील छ। अहिले श्रमिक वर्गका मागहरू सुधारात्मक नीतिहरू, कानुनी संरचना र संस्थागत सहभागिताबाट पनि पूरा हुँदैछन्। स्वास्थ्य, शिक्षा, न्यूनतम ज्याला, लैङ्गिक न्याय जस्ता क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू सुधारमार्गबाटै सम्भव हुदै गएका छन्।
आजको राजनीति केवल वर्ग संघर्षमा सीमित छैन। यो जातीयता, लैङ्गिकता, पर्यावरणीय न्याय, समाबेसी लोकतन्त्र, सामाजिक न्याय, मानवाधिकार,शान्ति र पहिचानका सवालहरू तथा सुधार संबादसँग जोडिएको छ | लेनिनको कठोर वर्गीय दृष्टिकोणले समेट्न सक्दैन। यसैले, लेनिनको संशोधनवाद विरोध अहिलेको समय, समाज र संघर्षका स्वरूपसँग मेल नखाने भएको छ।
८) राज्य र क्रान्ति
लेनिनको प्रमुख कृति “राज्य र क्रान्ति” सन् १९१७ मा लेखिएको थियो | यसका मुख्य विशेषताहरू हुन् राज्य वर्ग दमनको यन्त्र हो, संसदप्रति अविश्वास/आलोचना, सर्वहारा अधिनायकत्वको पक्षपोष, राज्यको क्रमशः विघटन | वहा भन्नु हुन्छ ꓽ “राज्य तबसम्म रहनेछ जबसम्म वर्गहरू रहनेछन्। वर्ग विघटन भएपछि राज्यको पनि अन्त्य हुन्छ।”
लेनिनको तर्क अनुसार राज्य एक वर्गले अर्को वर्गमाथि गर्ने दमनको यन्त्र हो। तर आज हामी जान्दछौं , राज्य केवल दमनको यन्त्र मात्र होइन, समन्वय, सेवा, समावेशीता र नागरिक अधिकारको संरक्षक संस्था पनि हो। आज विश्वका धेरै लोकतान्त्रिक समाजमा राज्यले स्वास्थ्य, शिक्षा, रोजगारी, वातावरण संरक्षण र अल्पसंख्यक अधिकारको रक्षा गरिरहेको छ। यस्तो सन्दर्भमा राज्यलाई एकपक्षीय रूपमा ‘दमनको यन्त्र’ ठहर गर्नु आजको यथार्थप्रति अन्याय हो।
लेनिनले जुन राज्य विघटनको सपना देख्नुभयो, त्यो व्यवहारिक रूपमा कुनैपनि समाजमा कार्यान्वयन हुन सकेको छैन । राज्यको अन्त्य होइन, बरु उत्तरदायी र लोकतान्त्रिक राज्यको सुदृढीकरण आजको माग हो। आजको युग बहुलवाद, समावेशिता, र पहिचानको राजनीति को हो। वर्गीय दृष्टिकोणले मात्र हाम्रो यथार्थ समेट्न सक्दैन। महिलाहरू, आदिवासीहरू, अल्पसंख्यक समुदाय, एलजीबीटीक्यू समुदाय , यिनीहरूको संघर्ष केवल वर्गीय होइन, पहिचान र अधिकारसँग जोडिएको छ, जुन लेनिनको दृष्टिकोणले समेट्न सक्दैन। “राज्य र क्रान्ति” एक ऐतिहासिक दस्तावेज हो। तर यो आजको समावेशी लोकतन्त्र, मानव अधिकार र विविध सामाजिक न्यायका सवालहरूलाई सम्बोधन गर्न असफल र अप्रासंगिक छ ।
९) अन्तर्राष्ट्रियतावाद
लेनिनको अन्तराष्ट्रियतावाद वास्तबमा रुसी क्रान्तिको मोडेल निर्यात आफ्नो पार्टीको प्रभाब र रुसी साम्राज्यको विस्तार गर्नु बाहेक अरु थिएन | यसका लागि लेनिनले सन् १९१९ मा तेस्रो अन्तराष्ट्रियको गठन गरि आफ्नो उदेस्य अघि बढाउन खोज्नु भएको थियो | अन्तराष्ट्रिय एकताको नाममा रुसी नियन्त्रण कायम गर्ने यसको उदेस्य थियो | चिनिया कम्युनिस्ट पार्टीले यो कुरा समयमै बुझ्यो | अनि चिन र रुसका दुई ठुला पार्टीहरमै बढेको बिबादले यो अघि बढ्न सकेन | यो मुलत रुस केन्द्रित दृष्टिकोण थियो | आफ्नो उदेस्यमा सफल नभए पछी सन् १९४३ मा स्टालिनले कमिटर्न बिघटन गरिदिए र लेनिनको अन्तराष्ट्रियवादको यहीं नै बिसर्जन भयो |
१०) आर्थिक योजना
लेनिनले अघि सारेको आर्थिक योजना, विशेषतः “युद्धकालीन समाजवाद” (War Communism) र त्यसपछि “नयाँ आर्थिक नीति” हरु हुन | युद्धकालिन समाजवादको नीति अन्तरगत सबै उद्योग र कृषि उत्पादनको राष्ट्रियकरण गरियो | यसले निजी स्वामित्व र उत्प्रेरणा हरायो। कामदारहरूलाई श्रम शिविरमा राखेर जबरजस्ती काम गराइयो, जसले असन्तुष्टि र उत्पादकत्वमा गिरावट ल्यायो।
एक्काइसौँ शताब्दीमा विश्व कम्युनिष्ट आन्दोलनको स्वरूप परिवर्तन भएको छ।
किसानहरूले उत्पादनको पूरै भाग सरकारले लिने भएकाले कम उत्पादन गर्न थाले। १९२१ को ठूलो भोकमरीमा लाखौं मानिसले ज्यान गुमाए। यी करणहरुले यो नीति सफल हुन सकेन | नयाँ आर्थिक नीतिले पनि समस्या टार्न सकेन | यसले निजी व्यापार र सानो उद्योगलाई अनुमति दिएर बजार-आधारित नीति अपनाए पनि यो समाजवादको आदर्शसँग मेल खाँदैन थियो। धेरै कम्युनिस्ट नेताहरूले एनईपीलाई “पुँजीवादको पुनरागमन” मानेर विरोध गरे। एनईपी दीर्घकालीन समाजवादी विकासको स्पष्ट योजना थिएन, बरु अल्पकालीन संकट समाधान थियो।
यी दुवै योजनाहरू तत्कालीन कठिन परिस्थिति गृहयुद्ध, आर्थिक संकट, औद्योगिक गतिरोध आदिलाई दिर्घकालिन रुपमा सम्बोधन गर्न खोजिएको भए पनि यी आर्थिक नीति प्रभावकारी र लोकप्रिय हुन सकेनन्। लेनिनको मृत्युपछि स्टालिनले नयाँ दिशा दिए | पञ्चवर्षीय योजना र सामूहिक खेती प्रणाली अपनाए | अर्थतन्त्रलाई नयाँ दिशा दिए ।
उपसंहार
• लेनिनवाद मार्क्सवादको व्यावहारिक अनुप्रयोग हो, जसलाई भ्लादिमिर लेनिनले रूसमा सफल समाजवादी क्रान्तिको माध्यमबाट प्रस्तुत गर्नुभयो । यसमा पेशेवर क्रान्तिकारीहरु संगठित एक अग्रगामी ” Vanguard ” पार्टीद्वारा सर्वहारा वर्गको नेतृत्त्व, पूँजीवादको उन्मूलन, र समाजवादी राज्यको स्थापनामा जोड दिइएको छ। लेनिनवादले क्रान्तिको लागि सशस्त्र संघर्षलाई उचित ठान्छ, र अस्थायी रूपमा अधिनायकवादी उपायहरूलाई स्वीकार्छ, जुन मानव अधिकार र बहुदलीय लोकतन्त्रविरुद्ध ठहरिन्छ। यसले जनताको स्थानमा केही नेताहरूद्वारा सत्ता सम्हाल्ने अधिनायकत्ववादी प्रवृत्ति बढाउँदछ, जसले लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्छ। लेनिनको “जनताको लोकतन्त्र”को सिद्धान्तले वास्तवमा एकदलीय व्यवस्था स्थापित गर्यो, जसले नागरिक स्वतन्त्रतालाई दमन गर्यो र आर्थिक केन्द्रीकरणले दीर्घकालीन अक्षमता निम्त्यायो। सोभियत युनियनको पतन तथा लेनिनवादलाई मार्गदर्शक सिदान्तको रुपमा अनुसरण गर्ने पार्टी सत्तारुढ भएका प्राय देशहरुमा तुलनात्मक रुपमा अन्य देशको तुलनामा राजनीतिक स्थायित्व भयो तर आर्थिक सम्वृद्धि हासिल हुन सकेको देखिदैन | सफलता प्राप्त भएन |
जस्तो प्रमुख घटनाक्रम हेरौं ꓽ
• सोभियत संघको पतन (1991)
असफलता: पाँचवर्षीय योजनाहरू र जबर्जस्ती सामूहिक खेतीले आर्थिक गतिहीनता भित्र्याए। परिणाम: पूर्व गतिरोधी गणतन्त्रहरूले बजारमूलक सुधार (“शक थेरापी”) र बहुदलीय व्यवस्था अवलम्बन गरे।
- क्युबाको “विशेष युग” (1991–2000)
असफलता: सोभियत आर्थिक सहयोग बन्द हुँदा खाद्यान्न र ईन्धन अभाव।
परिणाम : सानो निजी कृषि, पर्यटन खोल्ने सीमित उदारीकरण र बिदेशी मुद्रा बजार। - वेनेजुएलाको समसामयिक संकट (2010–वर्तमान)
असफलता: तेल राजस्वमा निर्भर आर्थिक मोडल र राज्य नियन्त्रणले उत्पादन घटायो।
परिणाम : नागरिक आन्दोलन, मताधिकारको विवाद, अन्तर्राष्ट्रिय प्रतिबन्ध र शरणार्थी प्रवाह। - बेलारुसको विरोध र राजनीतिक गतिहीनता (2020)
असफलता: एकदलीय शासन र अभिव्यक्ति दमन—लेनिनवादी केन्द्र अनुरूप।
परिणाम : युवाहरूको सडक प्रदर्शन, सरकारद्वारा कडा दमन, यूरोपेली सङ्घको निन्दा र प्रतिबन्ध।
तसर्थ लेनिनका , लेनिनवादका वा विस्वका जुनकुनै नेताका ,क्रान्तिका , घटना सन्दर्भका असल र आजको हाम्रो सन्दर्भमा उपयोगी बिचारहरु ग्रहण गरौ | हाम्रो जमिनी यथार्थतामा लागु गरौ | शुद्ध र असली कम्युनिस्ट हुने नाममा अहिले असान्दर्भिक हुने वादहरूको भारी नबोकौं, यसले हाम्रो भाबी यात्रालाई कमजोर बनाउँछ, धन्यवाद |
(लेखक मिश्र अन्तर्राष्ट्रिय राजनीतिका अध्येता एवं नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।)































प्रतिक्रिया