ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले)को बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख तथा उपप्रमुखसहित अन्य राजनीतिक पार्टीसँग समेत समन्वय गरेर आमजनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे ।
“तपाईँहरू पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो । निर्वाचन जितेपछि चङ्गाको धागो काटिएजस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन । मैले जितेँ, मलाई अरु मतलव छैन भन्न मिल्दैन । अर्काे निर्वाचन पनि आउँछ । त्यसकारण तपाईँहरूले अहिले पार्टीका नीति तथा निर्देशनलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ”, उनले भने, “एमाले पार्टी वास्तविक जनतन्त्रका लागि बनेको हो । देशको स्वाधीनता र भौगोलिक अखण्डताका पक्षमा दृढ भएर लाग्ने पार्टी हो । एमाले देशको नायक पार्टी हो । तथाकथित केही वामपन्थीहरू एमालेलाई धुलो चटाउँछु, टर्च लाइट बालेर खोज्न नभेटिने बनाउँछु भनेर अनेक षड्यन्त्रमा उत्रिए तर हामीले ती षड्यन्त्रहरू चकनाचुर बनाएर अगाडि बढेका छौँ ।”
उनले थपे, “यो मुलुकमा एमाले नै मजबुत पार्टी हो । हामीसँग यो मुलुकलाई विकास र सुशासनको नेतृत्व दिने सामर्थ्य छ । त्यसकारण एकापसमा अलमलमा पर्ने र विभाजन नभई आफ्नो शक्तिलाई सुदृढ गरौँ । पार्टीलाई स्पष्ट बहुमतमा ल्याउने ‘मिसन २०८४’ का लागि जुटौँ ।”































प्रतिक्रिया