काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई कार्यपालिकाका ४१ जना सदस्यले जति सक्दो छिटो बैठक बोलाउन माग गरेका छन् ।
उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेनलाई पत्र बुझाएका हुन् । उनीहरुले ७ दिनको समय दिएका छन् ।
काठमाडौं महानगरको कार्यपालिका बैठक विगत पाँच महिनादेखि बस्न सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको विवादका कारण महानगरको कार्यपालिका बैठक २०८१ पुस १० गतेयता बस्न नसकेको हो ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा १६ बमोजिम नगरसभा, कार्यपालिकाको बैठक बोलाउने, बैठकमा प्रस्ताव पेस गर्ने, गराउने जिम्मेवारी नगरप्रमुखको हुन्छ । यसमा राजनीतिक दलबाट निर्वाचित नगरसभा सदस्यको महत्वपूर्ण भूमिका हुन्छ । कार्यपालिका सदस्यहरुले बैठक बोलाउन माग गर्दै आएका छन । तर, बालेनले बैठक बोलाएका छैनन् ।
पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै गुरागाईंलाई बालेनले अघोषित निलम्बनमा राखेका थिए । बालेनले कार्यालय प्रवेशमै रोक लगाएपछि गुरागाईं गत पुस ८ गतेदेखि हाजिर हुन पाएका थिएनन् । यो बीचमा बालेनले पटकपटक अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन सरकारलाई आग्रह गरे । तर सरकारले सुनेन । यता बालेनले पनि गुरागाईंलाई किन कारबाही गरेको सरकारलाई प्रष्ट्याउन सकेनन् । तर तीन महिनादेखि तलब नपाएको झोकमा कर्मचारीहरू र जनप्रतिनिधिले चैत २१ गते महानगरमा गुरागाईंलाई नै कमब्याक गराए । यो बालेनको निर्देशनविपरीत थियो । यसबाट रुष्ट भएका मेयर बालेनले हालसम्म प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई नभेटेको खबर बाहिरिरहेको छ ।





























प्रतिक्रिया