काठमाडाैं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ।
सिजनको सुरुवात आगामी असार १ गतेदेखि हरेक आइतबार र सोमबार बेलुका ८:३० बजे स्पेस फोरके टेलिभिजन तथा डोको युट्युब च्यानलमार्फत प्रसारण हुने जनाइएको छ।
करिब तीन वर्षको अन्तरालपछि पुनः सुरु हुन लागेको शो यसपटक अझ भव्य र सङ्गीतमय शैलीमा प्रस्तुत हुनेछ भन्ने नोबडी प्रोडक्सनको दाबी छ। निर्णायक मण्डलमा दीप श्रेष्ठसहित नयाँ पुस्ताले मन पराएका सुबानी मोक्तान र स्वप्न सुमनजस्ता चर्चित गायकहरू रहनेछन्।
साथै, १० जना ग्रान्ड जुरी सदस्यहरूले पनि प्रतिस्पर्धीहरूको मूल्याङ्कनमा साथ दिनेछन्। कार्यक्रमको सञ्चालन चर्चित हास्यकलाकार सुमन काकीले गर्नेछन्।
‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ मा ३१ एपिसोड रहनेछन्, जसमा पहिलो एपिसोडदेखि नै बालप्रतिभाहरूको जीवन्त प्रस्तुति दर्शकहरूलाई प्रभावित पार्ने अपेक्षा गरिएको छ। नेपाल मात्र हैन, विश्वभर छरिएका नेपाली समुदायका लागि पनि यो कार्यक्रम प्रसारित हुनेछ। अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया लगायतका देशहरूमा रहेका दर्शकहरूले कार्यक्रम हेर्न, प्रतिस्पर्धीसँग जोडिन सक्नेछन्।
यसले कार्यक्रममा अन्तरक्रियात्मकता र समावेशिता थप्ने अपेक्षा गरिएको छ। सहकार्यको सन्दर्भमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने, “सारेगमप लिटिल च्याम्प्स नेपाल’ जस्ता कार्यक्रमहरूले बालबालिकाको कला र क्षमता उजागर गर्ने मात्र होइन, राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने महत्वपूर्ण भूमिका खेल्दछन्। यस सहकार्यले हामीलाई नेपाली आवाज, सपना र सम्भावनासँग अझ गहिरो सम्बन्ध गाँस्ने अवसर प्रदान गरेको छ, जसले हामीलाई अत्यन्तै गौरव महसुस गराएको छ।”
उनले वर्ल्डलिंकले डिजिटल माध्यममार्फत लाखौं दर्शकसम्म नेपाली आवाज पुर्याउन र प्रतिभालाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए।































प्रतिक्रिया