काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेल आसपास कार्यक्रम गर्न अनुमति पाएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार एमालेले टुँडिखेल आसपासका सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क लगायतका क्षेत्रका सांस्कृतिक कार्यक्रमहरू गर्न अनुमति पाएको हो ।
एमालेले गणतन्त्र दिवसका अवसरमा आयोजना गर्ने उत्सवलाई सफल पार्न पार्टीका शीर्षनेताहरुको जिम्मेवारी बाँडफाँड गरिसकेको छ । उपत्यकाका जनप्रदर्शनमा ठूलो सङ्ख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरु क्रमशः अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ भने उपत्यका विशेषको संयोजनको जिम्मेवारी सचिव योगेश भट्टराईले पाएका छन् ।
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै कार्यकर्तामाझ भनिसकेका छन्, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ ।’
यता राजावादीहरूले पनि भोलिबाट नै व्यवस्था उल्टाउने जनविद्रोह गर्ने घोषणा गरिसकेका छन् । तर कहाँ गर्ने अनुमति लिएका छैनन् । यद्यपी राजावादीलाई रिङरोडभित्र कार्यक्रम गर्न नदिने रणनीतिमा प्रहरी छ ।































प्रतिक्रिया