क्रिकेटर पूजा महतो सम्मानित

क्रिकेटर पूजा महतो सम्मानित

केन्द्रबिन्दु
15
Shares

मलङ्गवा (सर्लाही) । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सम्मान गरेको छ ।

१९ वर्षमुनिको नेपाली क्रिकेट टिमकी कप्तान अलराण्डर महतोलाई गणतन्त्र दिवसका अवसरमा चन्द्रनगर गाउँपालिकाको तर्फबाट ५५ हजार रुपैयाँको चेक र सम्मान–पत्र प्रदान गरिएको हो । क्रिकेटर पूजालाई गाउँपालिका अध्यक्ष राजकुमार महतो र जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र महतो संयुक्त रुपमा सम्मान गरे ।

नाढीतालमा आयोजना गरिएको कार्यक्रममा महोत्तरीको गौशाला नगरपालिका निवासी महिला राष्ट्रिय टिमकी अलराण्डर पूजा महतोलाई सम्मान गरिएको चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले बताइन् ।

पूजाले ग्रामीण क्षेत्रमा आफू जस्तै क्रिकेटरको जन्म होस् भन्ने आफ्नो चाहना रहेको बताएकी छन् । उनले छोरासरह छोरीलाई पनि खेलकुदमा सहभागी गराइदिन कार्यक्रममा सहभागी अभिभावकसँग आग्रह गरेकी छन् ।

मधेशको छोरी भएर पूजाले हासिल गरेको सफलता सबैका लागि गौरवको विषय भएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए । यहाँका अन्य छोरीहरुलाई पनि खेल क्षेत्रमा प्रेरित गर्न महतोलाई सम्मान गरिएको उनको भनाई थियो ।

चन्द्रनगर गाउँपालिकाले सोही कार्यक्रममा गाउँपालिकाभित्रका दुई जना सहीद विद्या सागर महतो र शिवकुमार रामको परिवारलाई जनही २५ हजार र अधिकार प्राप्तीका लागि जेल जीवन निर्वाह गर्नुभएका गाउँपालिकावासी नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवारलाई समेत २५ हजार रुपियाँसहित सम्मान–पत्रबाट सम्मान गरेको छ ।

Logo