काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको बारेमा अभिव्यक्ति दिँदा प्रधानमन्त्री केपी शर्मा ओली फेरि एकपटक विवादमा तानिएका छन् । राष्ट्र निर्मातालाई अपमान गर्ने अधिकार ओलीलाई नभएको भन्दै उनीमाथि सत्ता पक्षकै नेताहरुले आपत्ति जनाएका हुन् ।
शनिबार काठमाडौँमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पृथ्वी पथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाउने गरेको, पृथ्वी पथबाट नेपाल अघि बढ्दा पोखरा मात्रै पुग्न सकिने भन्दै व्यंग्य कसेका थिए, जुन अभिव्यक्ति भारी परेको हो ।
पृथ्वीनारायण शाहबारे प्रधानमन्त्री ओलीको अभिव्यक्ति जस्ताको तस्तैः
राष्ट्रिय एकता भन्नेबित्तिकै केही केही यस्ता खालका चाटुकारहरू निस्किए अहिले, अहिले आएर यति बेला पृथ्वीपथ अरे ! पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि, त्यही हो क्यार ! ढाई सय वर्षअघिको कुरा ल्याएर देशको विकास ? देशलाई एकताबद्ध बनाउनु छ । पृथ्वीपथले एकताबद्ध ? मारकाट गरेर एकताबद्ध गर्ने ? एकीकरणको कुरा एउटा होला । एकीकरणको समय एउटा होला । एकीकरणका समयमा पृथ्वीनारायण शाहको विचार र बाटो ठिकै थियो होला । अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति–जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वीपथ !
पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए ? संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वीपथ ! कति पुरातनपन्थी हो ? यो पृथ्वीपथ भनेको सुनेपछि अर्काले भन्छ– राजर्षि जनकपथ, यलम्बरपथ, मानदेवपथ, अंशुवर्मापथ, चल्लपथ, मल्लपथ ! यी चल्लपथ, मल्लपथ, के जाति पथ इतिहासका पथ हुन् कि आजका आवश्यकताअनुसारका ? आजका विचारअनुसारका जनताको बहुदलीय जनवादको बाटोबाट अघि बढ्ने कि ढाई सय वर्षअगाडिका, आज असान्दर्भिक भएका, त्यति बेलाका महत्त्वपूर्ण कुरा होलान्, आज तिनले बाटो देखाउन सक्दैनन् । आजका लागि आजका आवश्यकताअनुसारका नीति चाहिन्छ । बिसे नगर्चीको एक सुका खोजेर राष्ट्र बलियो बनाउँछु भन्ने कुराले हुन्छ ? त्यति बेला भयो होला । आज हरेकले उद्यमशीलतामा जान जरुरी छ । हामी उद्यमशीलताका कुरा गरिरहेका छौँ । बिसे नगर्ची ? हामी राष्ट्रका कुरा गर्दै छौँ । पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई त मास्ने कुरा गर्थे त ! मासेको होइन ?
अनि, पृथ्वीनारायाण शाहपछि पनि अनेक रजौटाहरू मासेको होइन ? आज त राष्ट्र जोगाउनु र एकताबद्ध बनाउन जरुरी छ । त्यति बेला मास्नु र एकीकरण गर्नु थियो । अनि, उद्देश्य, विचार, समय, परिस्थिति मिल्छ ? केके न ल्याएँ भनेर पृथ्वीपथ ! १३औँ सन्तानले राजा हुन युक्ति निकालेको पृथ्वीपथ ! राजा हुने युक्ति अहिले पनि । आजको समय राजा, रजौटा, तानाशाहहरूको समय होइन, आज लोकतन्त्र र लोकतान्त्रिकरणको समय हो । हामी त्यतै जाँदै छौँ ।
यो अभिव्यक्तिबारे सत्ता साझेदार दल नेपाली कांग्रेसकै नेताहरुले मुख खोलेरै विरोध गरेका छन् । नेताद्वय शंकर भण्डारी र राजेन्द्र बजगाईंले पृथ्वीनारायण शाहका विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति सह्य नभएको भन्दै वैकल्पिक गठबन्धनका लागि लाग्नुपर्ने बताएका छन् ।
भण्डारीले प्रश्न गरेका छन्, ‘कस्तो विडम्बना, स्वयं हत्यामा दोषी करार ब्यक्तिले राष्ट्र निर्मातालाई अपमानजनक रुपमा प्रस्तुत गरेको छ। यो अभिव्यक्ति पछि नेपाली कांग्रेससँग पृथ्वीनारायण शाहको नेतृत्वमा निर्मित मुलुकको अखण्डता र राष्ट्रियताका लागि समर्पित रहने या ओलीको झोला बोक्ने। दुई विकल्प मात्र रहेका छन्?’ उनीमात्र हाेइनन्, जाे पृथ्वीनारायण शाहलाई सम्मान गर्छन् उनीहरुले पनि प्रधानमन्त्रीमाथि असन्तुष्टी पाेखिरहेका छन् । पछिल्लोसमय प्रधानमन्त्री ओलीले दिएका अभिव्यक्ति विरोधीहरुलाई मात्र होइन, समर्थकलाईसमेत पचाउन गाह्रो परिरहेको देखिन्छ ।































प्रतिक्रिया