क्यानडा । क्यानडाको क्यालगरी शहरमा सगरमाथा दिवस भव्यताका साथ सम्पन्न भएकाे छ । अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजनमा, क्यालगरीस्थित नेपाली सामुदायिक संस्था एनसीएससी र गैरआवासीय नेपाली संघ क्यानडाको सह-संयोजनमा यो कार्यक्रम आयोजना गरिएको थियो।
च्याम्बरका अध्यक्ष समीर पाण्डेले कार्यक्रमको अध्यक्षता गरेका थिए भने च्याम्बरका सचिव किरण खरेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमका मुख्य अतिथिहरू डेभ रोड्नी र मिङमा तेन्जिङ शेर्पा रहेका थिए । दुई पटक सगरमाथा आरोहण गरिसकेका रोड्नी अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सका विशेष सल्लाहकार हुन् । रोड्नीले अल्बर्टा प्रान्तको पटक-पटक निर्वाचित सांसद र प्रान्तीय मन्त्रीको भूमिका समेत निर्वाह गरिसकेका छन् ।
कार्यक्रममा रोड्नीले आफूले सगरमाथा आरोहण गर्दाको प्रेरणादायक अनुभव शब्दचित्रसहित प्रस्तुत गरे । कार्यक्रमका अर्का आकर्षण सगरमाथा आरोही मिङमा शेर्पाले हिमालय क्षेत्रको महत्व र आरोहणका बारेमा आफ्ना विचार राखे ।
नेपाल र क्यानडा दुवै देशका राष्ट्रिय गानबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो भने नेपाली सांगीतिक प्रस्तुति पनि पस्किएको थियो। कार्यक्रमका अतिथिहरूलाई च्याम्बरका सञ्चालक ध्रुव राईले खादा पहिराएका थिए भने च्याम्बरका अध्यक्ष समीर पाण्डेले खादासहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा क्यानडास्थित नेपाली राजदूत भरतराज पौडेलले पठाएको शुभकामना सन्देश भिडियोमार्फत प्रस्तुत गरिएको थियो। त्यसैगरी, नेपाल टुरिजम बोर्डका तर्फबाट लक्ष्मण गौतम, ट्रेकिङ एजेन्सी अफ नेपाल (टान) का तर्फबाट रामचन्द्र सेढाँई तथा त्रिभुवन विश्वविद्यालय पर्यटन तथा आतिथ्य सत्कार विभागबाट डा. पशुपति न्यौपानेज्यूबाट प्राप्त शुभकामना सन्देशहरू पनि भिडियोमार्फत प्रस्तुत गरियो।
नेपालस्थित यी तीनै संस्था तथा निकाय र अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सबीच सहकार्यका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ र नेपालको पर्यटन प्रवर्द्धन कार्यमा सहकार्यको सुरुवात भइसकेको छ।
कार्यक्रममा क्यालगरीस्थित नेवा: समाज, तामाङ समाज, मगर समाज तथा सिनियर सोसाइटी अफ क्यालगरी (टस) का प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा च्याम्बरका अध्यक्षले पाहुनाहरूलाई स्वागत गर्नुभएको थियो। एनसीएससीका अध्यक्ष प्रकाश बस्याल, गैर आवासीय नेपाली संघका अध्यक्ष माधव दुलालले मन्तव्य राखे । नेपाली मेला २०२५ का संयोजक श्रीकान्त अर्यालले कार्यक्रममा शुभकामना मन्तव्य राखे । च्याम्बरका उपाध्यक्ष दिवस ढकालले नेपालस्थित हिमालय क्षेत्र र विशेषगरी सगरमाथाको ऐतिहासिक महत्वसहितको प्रस्तुतीकरण गरे ।
कार्यक्रमको प्राविधिक संयोजन च्याम्बरका सञ्चालक विक्रम अधिकारीले गरेका थिए भने व्यवस्थापकीय जिम्मेवारीको भूमिका च्याम्बरका कोषाध्यक्ष अनन्त आचार्यले निभाएका थिए । एनसीएससीका सचिव घनेन्द्र न्यौपानेले आमन्त्रित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।





























प्रतिक्रिया