कर्जा असुलीमा आक्रामक बन्दै बैंकहरू

कर्जा असुलीमा आक्रामक बन्दै बैंकहरू

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अन्तिम चरणमा आइपुग्नै लाग्दा बैंक तथा वित्तीय संस्थाहरू कर्जा असुली (रिकभरी) मा लागेका छन्। वित्तीय विवरणमा सुधार ल्याउनको लागि अहिले बैंकहरूले लगानीभन्दा पनि असुलीलाई प्राथमिकता दिन थालेका हुन् ।

कोभिड–१९यता सुस्ताएको आर्थिक गतिविधि पूर्ण रफ्तारमा चलायमान नबन्दा त्यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा देखिएको छ। बैंकहरू खराब कर्जाको ग्राफ घट्नुको साटो उकालो लागिरहेको छ। व्यापार व्यवसाय चलायमान बन्न नसक्दा ऋणीले समयमा कर्जा तथा सावाँ भुक्तान गर्न सकिरहेका छैनन्। फलस्वरूप समयमै ऋण नतिर्ने ऋणीको संख्या बढिरहेको छ। ऋणीको संख्यासँगै गैरबैकिङ सम्पत्ति पनि बैंक तथा वित्तीय संस्थामा थुप्रिएको छ। पत्रपत्रिका लिलामीका सूचनाले भरिने गरेका छन्।

यसरी खराब कर्जा घटाएर नाफा बढाउनुपर्ने दबाबमा बैंक तथा वित्तीय संस्था छन्। त्यसैले, बैंक तथा वित्तीय संस्था कर्जा लगानी बढाउनभन्दा असुलीमा केन्द्रीत भएका हुन् । ऋण असुल गर्न नसकेको अवस्थामा बैंकले धितो सुरक्षणमा राखिएको सम्पत्ति लिलामी गरिरहेका छन् ।

तेस्रो त्रैमासमा पनि बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा कुनै सुधार नदेखिएपछि बैंकहरू कर्जा असुल गरेर नै नाफा बढाउन केन्द्रीत भएको बैंकरहरु नै बताउँछन् । चालु आर्थिक वर्ष ०८१/८२ को चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ४४ अर्ब ८० करोड ८८ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको औसत खराब कर्जा ५.२४ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०८०/८१ को चैतसम्म खराब कर्जा ३.९८ प्रतिशत सीमित थियो । यसले पनि बैंकहरूलाई रिकभरीमा दबाब बढेको प्रष्ट हुन्छ । आर्थिक वर्ष ०८०/८१ को चैतसम्म वाणिज्य बैंकको खराब कर्जा ३.८९ प्रतिशतमा सीमित २० वाणिज्य बैंकको खराब कर्जा चालुआर्थिक वर्षको तेस्रो त्रैमासमा ५.०५ प्रतिशत पुग्यो। अहिले बैंकहरूको खराब कर्जा तीन खर्ब रुपैयाँभन्दा बढी छ ।

कतिपय ऋणीहरूले परिस्थितिवश ऋण तिर्न सकिरहेका छैनन्। त्यस्ता ऋणीहरूले पनि अन्तिम समयमा भने ऋण तिर्ने गरेका एक बैंकरले बताए । नियतवश कर्जा नतिर्ने ऋणीहरूका हकमा बैंकहरू आक्रामक बन्दै गएको उनको भनाइ छ । ‘अघिल्लो वर्ष रिकभरीमा राहत थियो । तर अहिले बैंक ग्यारेन्टी बाहेक अरू सुविधा आएको छैन । अहिले बैंकहरूलाई असुलीमा धेरै नै चुनौती छ’ ती बैंकरले भने ।
क्लोजिङको समयमा खराब कर्जा केही घट्ने ती बैंकर बताउँछन् । ’अन्तिम समयमा कर्जा बुझाउने ग्राहकहरू पनि बढ्छन् । बैंकले पनि असुलीलाई नै प्राथमिकता दिन्छ। ऋणीलाई ताकेता दिइरहेको हुन्छ। तर गैरबैंकिङ भने थोरै बढ्न सक्ने आकलन छ’ उनले भने।

कर्जा लगानी सुस्त

अहिले बैंकहरूसँग तरलता प्रशस्त छ । तर कर्जा लगानी गर्न सक्ने अवस्था बनेको छैन। जेठ १३ गतेसम्म बैंकहरूको कुल निक्षेप संकलन ६९ खर्ब १२ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। जसमध्ये वाणिज्य बैंकहरूको ६१ खर्ब ७७ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाहरूको ७ खर्ब ५५ अर्ब रहेको छ । यो अवधिमा कुल कर्जा प्रवाह ५५ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । कर्जा–निक्षेप अनुपातका आधारमा बैंक तथा वित्तीय संस्थाहरूले ६२ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्थ्याे ।

बैंकहरूले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । हाल बैंकहरूको सीडी रेसियो ७९.०१ प्रतिशत मात्र छ । यसरी हेर्दा बैंकहरूसँग सात खर्ब रुपैयाँ अझै लगानीयोग्य रकम छ। बैंकहरूले पुँजीकोष दबाब र लोनलस प्रोभिजनका कारण पनि कर्जा बढाउन नसकेको बैंकरहरू बताउँछन्। पुराना ऋणीले कर्जा तिर्नै सकिरहेका छैनन्। नयाँ ऋणी बढ्नै सकिरहेका छैनन् । फलस्वरूप पनि कर्जा प्रवाह सुस्त बनेको बैंकरहरूको भनाइ छ।

Skip This
Skip This
Logo