आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।
आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।
“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उनले बताए ।
ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको अध्यक्ष गौतमले बताए । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको उनको भनाइ छ । दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउँछन । रासस





























प्रतिक्रिया