काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालविरुद्ध नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो ।
लिग टुको आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो ।
यस शृङ्खलाको उद्घाटन खेलमा नेदरल्यान्ड्स पनि सुखद् सुरुआतको लक्ष्यमा रहेको छ । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदविसीय अन्तरराष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले तीन खेलमा जित हासिल गर्दा नेपालले दुई खेलमा जित हासिल गरेको छ ।
विश्वकप लिग–२ मा २० खेल खेलेको नेदरल्यान्ड्स २६ अङ्कका साथ दोस्रो स्थानमा छ । तेह्र खेल खेलेको नेपाल आठ अङ्कका साथ सातौँ स्थानमा छ । आठ टोली सहभागी लिग–२ आइसिसी विश्वकप २०२७ को छनोट प्रतियोगिता हो ।
सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।































प्रतिक्रिया