मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज म्याग्दीको बेनी हुँदै मुस्ताङ आएका छन् ।
माओवादी केन्द्रको ‘जनतासँग माओवादी जनजागरण’ अभियानका क्रममा अध्यक्ष दाहाल, महासचिव देव गुरुङलगायत नेता कार्यकर्ता सडकमार्ग हुँदै मुस्ताङ आएका हुन् ।
उनीहरूलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, माओवादी जिल्ला समन्वय समिति इञ्चार्ज धीरेन्द्र विक, जिल्लास्थित सुरक्षा निकाय प्रमुखलगायत स्थानीय प्रतिनिधिले म्याग्दी र मुस्ताङको सिमानाका घाँसामा स्वागत गरेका थिए ।
अध्यक्ष दाहालले आजै राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम ७४ किमी सडकको स्थलगत अवलोकन गरेका छन् । साथै माओवादी अध्यक्षसहित नेताहरूले लामो समयदेखि निर्माण अलपत्र परेको मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ जोड्ने लेते–कुञ्जो मोटरेबल पुलको स्थलगत निरीक्षण गरेकाे माओवादी केन्द्रका जिल्ला समिति इञ्चार्ज विकले जानकारी दिए ।
अध्यक्ष दाहाललाई थासाङस्थित कुञ्जो ताक्लुङ क्षेत्रका बासिन्दाले पुल नबेकोप्रति गुनासो राख्दै निर्माणको पहल गर्न आग्रह गरेका उनले बताए । सोही क्रममा अध्यक्ष दाहालले पुल निर्माणलाई प्राथमिकतामा राखेर आफू र पार्टीले अधिकतम पहल गर्ने बताए ।
अध्यक्ष दाहाल, महासचिव गुरुङलगायत नेताहरूले गण्डकी प्रदेशको पहिलो धौलागिरि प्राविधिक शिक्षालयको अवलोकन एवं निरीक्षण गरेकाे शिक्षालयका प्रधानाध्यापक खड्गबहादुर सुब्बाले जानकारी दिए । उनीहरूलाई शिक्षालयको विस्तृत जानकारी दिँदै प्रअ सुब्बाले कार्यक्रमको सहजीकरण गरेका थिए ।































प्रतिक्रिया