युवालाई सिप प्रदान गरी स्वरोजगार बनाउँदै काठमाडौं महानगर

युवालाई सिप प्रदान गरी स्वरोजगार बनाउँदै काठमाडौं महानगर

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘सिप मेला २०८२’ टुँडिखेलमा सञ्चालन भैरहेको छ ।

महानगरले आर्थिक वर्ष २०८०८१ मा गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ नाराका साथ सिप मेलाको आयोजना गर्दै आएको छ । अहिलेको परिपेक्षमा श्रम बजारमा सिपयुक्त र दक्ष जनशक्तिको अभाव रहेको छ । एकातिर श्रम बजारमा दक्ष जनशक्तिको अभाव अर्काे तिर युवाहरु बेरोजगार बस्नुपर्ने बाध्यताको विचको खाडललाई पूर्णको लागि महानगरले युवाहरुलाई सिप सिकाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य लिएर सिप मेलाको आयोजना गरेको सिप मेला २०८२ कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झाले बताए ।

‘‘मेलामा युवालाई सिप मात्र सिकाउने नभई सिप सिकेका युवालाई रोजगारी प्रदान गर्न विभिन्न कम्पनिसँग सहकार्य समेत गरिसकिएको छ लिखित रुपमा मात्र सम्झौता हुन बाँकी रहेको छ ।’’ संयोजक झाले भने ।

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले रोजगारीको अवसर नहुँदा हजारौं युवाहरु विदेशी रहेको अवस्थामा युवालाई स्वदेशमै स्वरोजगार बनाई युवा जनशक्तिलाई देशमै रोक्नका लागि काठमाडौं महानगरले महत्वपूर्ण कदम चालेको बताए ।

‘‘आगामी दिनहरुमा राष्ट्रिय युवा परिषद्ले पनि काठमाडौं महानगरबाट आइडिया लिएर युवालाई स्वरोजगार बनाउनका लागि सिप मेलाको आयोजना गर्ने योजना रहेको छ ।’’ उनले भने ।

सिप मेला २०८२ मा २ हजार ८२ जना युवालाई सिप सिकाउने लक्ष्य राखिएको भए पनि झण्डै २५ सय जना युवाहरु सिप मेलामा सिप सिकिरहेका छन् । यस वर्ष सिप सिक्नका लागि १४ हजार ७ सय ४८ जनाले आवेदन दिएका थिए ।

सिप मेलामा सहभागि युवाहरुले सिप सिकेपछि स्वदेशमै आत्मनिर्भर हुन सकिने रहेछ भन्ने आत्मविस्वास बढेको बताएका छन् ।

सिप मेलामा सहभागी साइरन महर्जन साइबर सुरक्षा सिकिरहेकी छिन् । आजको आवस्यकता र माग साइबर सुरक्षा रहेको र रुचि पनि साइबर सुरक्षामा रहेकाले उक्त विधाको सिप सिकेको उनले सुनाइन् । कक्षा १२ को अध्ययन पुरा गरेकि साइरनले स्नातक तहमा पनि साइबर सुरक्षा अध्ययन गर्र्ने सुनाइन् ।

त्यसैगरी सुमन घिमिरेले वेल्डिङको सिप सिकिरहेका छन् । सिप नहुँदा देशमा रोजगारीको अवसर छैन भन्ने लाग्ने गरे पनि सिप सिके पछि आफ्नै देशमा स्वरोजगार बन्ने सकिने रहेछ भन्ने आत्मविश्वास बढेका बताए ।

महानगरले सुरु गरेको सिप मेला मार्फत १५ हजार युवालाई सिपमूलक तालिम दिई कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगारमा संलग्न गराउने लक्ष्य राखिएको छ । सिप नजान्नेहरूलाई सिप सिकाउने, आधारभूत तालिम लिएका व्यक्तिहरूलाई स्तरोन्नति गराउने र बजारमा सिपयुक्त जनशक्ति उपलब्ध गराउने उद्देश्य मेलाको मूल उद्देश्य रहेको छ ।

महानगरले ड्रोन, बेसिक फेसन डिजाइन, मोवाइल रिपेरिङ, कम्प्युटर रिपेरिङ, वेल्डिङ, नेल आर्ट, बारीस्टा, मेकअप, इलेक्ट्रानिक मेकानिकल, पलम्बिङ जस्ता विभिन्न १० विधाका ३७ वठा पेशासँग सम्बन्धित सिप सिकाइरहेको छ ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोड्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको छ ।

मेलामा १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका व्यक्तिहरूले तालिममा सहभागी भएका छन् । ३० दिनसम्म चल्न मेलामा दैनिक ६० वटा कक्षामा तालिम सञ्चालन हुँदै आएको छ । दिनको तीन सेसनमा सञ्चालनमा भएको यस सिप मेलामा विहान ७ बजे देखि ११ बजे सम्म, ११ देखि ३ बजेसम्म र ३ देखि ७ बजेसम्म कक्षा सञ्चालन हुँदै आएको छ ।

गत वर्ष श्रमिक दिवस २०८१ का दिनदेखि टुंडिखेलमा पहिलो पटक ‘सिप मेला’ आयोजना गरिएको थियो । उक्त मेलाबाट तालिम लिन ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए । विभिन्न विधामा २ हजार ८१ जना युवालाई तालिम दिने लक्ष्य थियो भने २ हजार ५७५ जनालाई तालिम प्रदान गरिएको थियो । तीमध्ये ५० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर प्राप्त गरिसकेको र धेरैजसो स्वरोजगारमा संलग्न भएको आयोजक पक्षले जनाएको छ ।

रोजगारी तथा स्वरोजगारको अवसरबाट बाहिर रहेका व्यक्तिहरूका लागि महानगरपालिकाले उद्योग तथा कम्पनीहरूसँग सहकार्य गरेर ‘अन द जब ट्रेनिङ’ समेत गराइरहेको छ ।

सिप मेला २०८२ मा गत वर्ष फारम भरेर तालिम लिन नपाएका व्यक्ति, काठमाडौं महानगरमा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिक, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका वासिन्दा, फरक क्षमता भएका व्यक्ति, सडक व्यापार वा ठेलागाडामा व्यापार गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइएको पनि आयोजकले जनाएको छ । त्यसैगरी तालिममा देशैभरिका नागरिक सहभागी भएका छन् ।

Skip This
Skip This
Logo