काठमाडौं । ज्ञानेश्वरमा अवस्थित इन्टरनेशनल स्कुल अफ टुरीजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजका विद्यार्थीले आयोजना गरेको ‘रेड शेड’ रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आइएसटी कलेजको तेस्रो सेमेस्टरमा ‘इभेन्ट म्यानेजमेन्ट’मा अध्ययनरत विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी कार्यक्रमको आयोजना हुँदै आएको छ । यसै सन्दर्भमा तेस्रो सेमेस्टर ‘सेक्सन ए’ का विद्यार्थीहरूले आयोजना गरेको रक्तदान कार्यक्रम कलेज प्राङ्गणमा सम्पन्न भएको हो ।
“यो कार्यक्रमको सम्पूर्ण अवधारणा, कोष संकलन, व्यवस्थापन तथा आवश्यक तयारी विद्यार्थीहरूले गरेको र कार्यक्रम नजिकै रहेको हिमाल अस्पतालको सहकार्यमा आयोजना गरिएको हो ।” कलेजकी प्रिन्सिपल सम्झना बस्न्यातले भनिन् ।
‘रेड शेड’ रक्तदान कार्यक्रमकी टिम लिडर प्राप्ती श्रेष्ठले इभेन्ट्स विषयको अध्ययनसँगै व्यवहारिक अनुभव हासिल गर्न यो कार्यक्रमको आयोजना गरेको बताइन् । “हामीले आफैंले एउटा कार्यक्रम आयोजना गर्दा वास्तविक जीवनका चुनौतीहरू कसरी सामना गर्ने भन्ने कुरा सिक्यौं । यो कार्यक्रमले हामीलाई नयाँ अनुभव दिएको छ, आत्मविश्वास बढाएको छ, र मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा पनि दक्ष बनाएको छ,” उनले भनिन् ।

उनका अनुसार, एउटा कार्यक्रम आयोजना गर्न कति मेहेनत, योजना, र समन्वय आवश्यक पर्छ भन्ने कुरा उनीहरूले नजिकबाट अनुभव गरेको टिमवर्कको महत्व, विभिन्न पक्षहरूसँगको समन्वय, समय व्यवस्थापन, र स्रोत जुटाउने सीपहरूमा पनि राम्रो अभ्यास भएको छ ।
कलेजका शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूबाट रगत संकलन गरिएको थियो । १२५ जना रक्तदाताहरूको सहभागिता रहेको यस कार्यक्रममा समाजका लागि सानो भए पनि महत्वपूर्ण योगदान दिने विश्वास आयोजक विद्यार्थीहरूले व्यक्त गरेका छन् ।
कार्यक्रमका लागि विद्यार्थीहरूलाई समुहगत रूपमा विभाजन गरेर दुई तीन वटा सम्भावित कार्यक्रमबारे मन्थन गरी, चिठ्ठा तानेर जिम्मेवारी बाँडिन्छ । यसपटक रक्तदानको जिम्मा ‘सेक्सन ए’ लाई परेको थियो । यस प्रकारको कार्यक्रम कलेजले दोस्रो वर्षको तेस्रो सेमेस्टरमा प्रत्येक ब्याचका लागि नियमित रूपमा आयोजना गर्दै आएकाे छ । विद्यार्थीहरू मिलेर काम गर्ने प्रयास सफल हुँदै गएको आयोजक टोलीको भनाइ छ ।

शिक्षालयमा पढाइने सैद्धान्तिक कक्षा र व्यवहारिक जीवनबीच कसरी सम्बन्ध स्थापना गर्ने र त्यसलाई व्याख्या कसरी गर्ने भन्ने कुराको अभ्यास विद्यार्थीहरूले गरेकाे प्रिन्सिपल बस्न्यातले बताइन् ।
केवल पढाइमा सिमित नरही जीवनोपयोगी सीप सिकाउने माध्यम भएको पनि उनकाे दावी छ ।
यस रक्तदान कार्यक्रम कलेजभित्रमात्र होइन, बाहिरी व्यक्तिका लागि पनि खुल्ला गरिएको थियो । कलेज बाहिरका मानिसहरूले पनि सक्रियतापूर्वक रक्तदान गरेका थिए ।

विद्यार्थीले गर्ने यस प्रकारका अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वको अनुभूति मात्र गराउँदैन उनीहरूको सिकाइ क्षमता र प्रेरणा स्तर पनि निकै बढ्ने देखिएको छ ।

कलेजमा होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी म्यानेजमेन्ट पाठ्यक्रम सीप–केन्द्रित रहेको छ । यदि कक्षा कोठा र वास्तविक कार्यक्षेत्रबीच समन्वय गरियो भने त्यसको नतिजा निकै सकारात्मक देखिन्छ भन्नेमा कलेजले विश्वास गर्छ । विद्यार्थीलाई कलेजबाटै काम गर्ने वास्तविक वातावरणको बारेमा सिकाएर दक्ष बनाउने हो भने विद्यार्थीहरु भोलीका दिनमा कार्यक्षत्रमा दक्ष जनशक्ति भएर उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने हेतुले विद्यार्थीलाई सैद्धान्तीक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान पनि दिँदै आएको छ ।






























प्रतिक्रिया