काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । यो अवधिमा बैंकहरूको खुद नाफामा १.६७ प्रतिशत गिरावट आएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वैशाखसम्ममा २० वटा बैंकले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जबकी गत वर्षको सोही अवधिसम्म बैंकहरूले ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
व्यवसायमा देखिएको मन्दीको प्रभाव बैंकको नाफामा देखिएको छ । बढ्दो खराब कर्जा, लगानी विस्तार गर्न नसक्नु लगायत कारण बैंकहरूको नाफामा दबाब देखिएको छ । १० महिनाको अवधिमा नबिल बैंकले सर्वाधिक नाफा कमाएको छ । निरन्तर अग्रस्थानमा रहने नबिलले यसपटक पनि शिर्ष स्थानमा नै रहन सफल भएको छ ।
नबिलले १० महिनाको अवधिमा ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको तुलनामा २.५८ प्रतिशतले धेरै हो । गत वर्षको वैशाखमा यस बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले नाफा उल्लेख्य वृद्धि भने गर्न सकेको छैन ।
दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमईले वैशाखसम्ममा ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिमा तुलनामा २९.८९ प्रतिशत धेरै हो । गत वर्ष यस बैंकले ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो ।
यस्तै, तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको वैशाखमा यस बैंकले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकले ३३.१४ प्रतिशतले नाफा बढाएको हो । १० महिनाको अवधिमा एभरेष्ट बैंकको नाफा ३०.९६ प्रतिशत बढेर ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
नाफा वृद्धिमा नेपाल बैंक आक्रामक देखिएको छ । यस बैंकले १० महिनामा खुद नाफा ४५७ प्रतिशत बढाउदै ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ पुर्याएको छ । गत वर्षको वैशाखमा यस बैंकले नाफा ५९ करोड ३ लाख रुपैयाँ मात्रै थियो ।
राष्ट्र बैंकका अनुसार १० महिनामा एनएमबि बैंकले २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ र सिद्धार्थ बैंकले २ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । माछापुच्छ्रे बैंकले १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ८७ करोड ५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यता १० बैंकको नाफामा भने संकुचन आएको छ । १० महिनाको अवधिमा एनआईसी एशिया बैंकको सबैभन्दा धेरै नाफा घटेको छ । एनआईसीको ७७.८७ प्रतिशत घटेर ४७ करोड ८७ लाख रुपैयाँमा सीमित बनेको छ । यस्तै, हिमालयन बैंकको ६९.३३ प्रतिशत घटेर ६८ करोड ३४ लाख रुपैयाँ, कुमारी बैंकको ६६.२७ प्रतिशत घटेर ४८ करोड १९ लाख रुपैयाँ नाफा गरेका छन् ।
कृषि विकास बैंकको ३५.७३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३०.९२ प्रतिशत घटेर १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ, प्रभु बैंकको २०.०९ प्रतिशत घटेर २ अर्ब १४ लाख रुपैयाँ नाफा गरेका छन् ।
राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंकको २१.४० प्रतिशत घटेर १ अर्ब १८ करोड १५ लाख रुपैयाँ, प्राइम बैंकको १९.८४ प्रतिशत घटेर २ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.९८ प्रतिशत घटेर २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकको २.८७ प्रतिशत घटेर १ अर्ब ३८ करोड २० लाख रुपैयाँ नाफा गरेको छ ।































प्रतिक्रिया