काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्ने तय भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारसँग २ बुँदे सहमति गरेपनि गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै रास्वपा र राप्रपाले भने विरोध जनाउँदै आएका छन् । शुक्रबार गृहमन्त्रीले जवाफ पनि दिइसकेका छन् । तर, रास्वपाले रोष्टम नै घेराउ गरेको थियो ।
आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ बैठकमा पेस गर्नेछन् ।
उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । आगामी आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने समेत संसद् सचिवालयले जानकारी दिएको छ ।































प्रतिक्रिया