जन्मजात सुन्न र बोल्न नसक्ने दुई बालकको नोबेलमा सफलतापूर्वक कोक्लियर इम्प्लान्ट शल्यक्रिया

जन्मजात सुन्न र बोल्न नसक्ने दुई बालकको नोबेलमा सफलतापूर्वक कोक्लियर इम्प्लान्ट शल्यक्रिया

केन्द्रबिन्दु
9
Shares

बिराटनगर । कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले पूर्वी नेपालमै पहिलोपटक सुन्न र बोल्न नसक्ने समस्या भएका दुई बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।

नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शंकर प्रसाद शाहको नेतृत्वमा यो अत्याधुनिक शल्यक्रिया भएको हो । श्रवण शक्ति धेरै कम भएकाहरूमा गरिने यस्तो शल्यक्रियाले ती बालबालिकाको जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

नोबेल शिक्षण अस्पतालका नाक, कान, घाँटी विभागका डा. शंकर शाहका अनुसार दुवै बालकमा जन्मजात श्रवण शक्ति थिएन । चेक जाँच र उपचार सम्बन्धी परामर्श पछि दुवै बालकका परिवारहरू उपचार गराउन तयार भए । त्यस पछि शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भयो। उनले भने “यो जटिल शल्यक्रिया भए पनि हाम्रो टिमको अथक प्रयास र प्रविधिको सही प्रयोगले हामी सफल भयौँ, अब यी बालबालिकाले सामान्य जीवन जिउन सक्नेछन् भन्नेमा हामी विश्वस्त छौँ।”

यो शल्यक्रियापछि बालबालिकाको भाषा विकासका लागि थेरापी र विशेष तालिमको आवश्यकता पर्छ, जुन अस्पतालले उपलब्ध गराउने तयारी गरेको छ। यस प्रकारका सफल शल्यक्रियाले स्वास्थ्य क्षेत्रमा नोबेल शिक्षण अस्पतालको योगदानलाई थप उचाइमा पुर्‍याएको छ र यस क्षेत्रका बिरामीहरूका लागि नयाँ आशा जगाएको छ।

अस्पतालले कोक्लियर इम्प्लान्टजस्ता जटिल शल्यक्रियाका लागि आवश्यक अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकको व्यवस्था गरेको जनाएको छ । यसले प्रदेश र आसपासका क्षेत्रका बिरामीहरूलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने अस्पताल प्रशासनले जनाएको छ ।

जन्मजात वा अन्य कारणले कान सुन्न र बोल्न नसक्ने समस्या भएका बालबालिकाका लागि कोक्लियर इम्प्लान्ट एक वरदान साबित भएको छ । यो शल्यक्रियामार्फत कानको भित्री भागमा एउटा सानो इलेक्ट्रोनिक उपकरण राखिन्छ, जसले आवाजलाई मस्तिष्कसम्म पुर्‍याउन मद्दत गर्छ भने कान बाहिर एउटा साउण्ड प्रोसेसर डिभाइस राखिन्छ । यसपछि बिस्तारै सुन्ने क्षमताको विकास हुँदै जान्छ र बालबालिकाले बोल्न सिक्छन् ।

गम्भीरदेखि अति गम्भीर श्रवण गुमाएका, परम्परागत कान सुन्ने उपकरणले सुनाइमा सहयोग नगरेका, दुर्घटना, औषधिको असर वा अन्य कारणले सुनाइ गुमाएका वयस्कहरूमा पनि यो प्रविधीले श्रवण शक्ति प्रदान गर्दछ ।

यससँगै नोबेल मेडिकल कलेजले बिगत केही महिनादेखि नेपालमै पहिलोपटक रेडिएसन थेरापीसहितको अत्याधुनिक प्रविधि प्रयोग गरी क्यान्सर उपचार सुरु गरेको छ। करिब ३ अर्ब ४० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको नयाँ भवनमा अत्याधुनिक उपकरण, दक्ष चिकित्सक र सहकर्मीहरूमार्फत सेवा विस्तार गरिएको हो।

उपलब्ध रेडिएसन प्रविधिमा रहेको ६डी काउच, हाइपर आर्क, एचडीएमआईसी, एसआरएस र एसबीआरटीजस्ता सुविधाले बिना शल्यक्रिया नै क्यान्सरको उपचार गर्न सक्ने क्षमता रहेको बताइएको छ। यस्तै आईजीआरटी, आईएमआरटी र भीएमएटी प्रविधिले सामान्य स्वस्थ कोषहरूलाई क्षति नपुर्‍याई केवल क्यान्सर सेललाई लक्षित गरी नष्ट गर्न सक्षम बनाउँछन्। बाँकी थेरापी प्रविधिबाट उपकरणको सहायताले शरीरभित्र नै पुगेर क्यान्सर सेललाई विनादुखाइ नष्ट गर्न सकिने जनाइएको छ।

नेपालमै पहिलोपटक नोबेलले न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधिको प्रयोगमार्फत हजारौँ बिरामीको सफल न्युरो सर्जरी गरिसकेको छ । अत्याधुनिक उपकरणहरूको प्रयोगले सर्जरीको जटिलता कम गर्दै सुरक्षित र प्रभावकारी उपचार सम्भव बनाइएको छ।

नोबेल क्यान्सर अस्पतालमा क्यान्सर रोगका लागि दैनिक ओपीडी सेवा, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड, डे केयर, किमोथेरापी, शल्यक्रिया, भर्ना गराई उपचार गरिने अन्तरङ्ग सेवा तथा रेडिएसन थेरापीसमेत सञ्चालनमा छन्।

नेपालमै उत्कृष्ट क्यान्सर उपचार केन्द्रका रूपमा नोबेल क्यान्सर अस्पतालको उपस्थिति थप सशक्त बन्दै गएको छ।

Logo