काठमाडौं
देशकै जेठो वीर अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या अघिल्लो वर्षको भन्दा यस वर्ष एक लाख बढेको छ । यस वर्ष बहिरंग सेवा मार्फत चार लाख १२ हजार नौ जना बिरामीले सेवा लिएका छन् । अस्पतालमा नयाँ–नयाँ भवन बन्दै छन् भने अत्याधुनिक उपकरण जडान कार्य अघि बढेको छ । तर सो कार्यमा कर्मचारीले असहयोग पुर्याउँदै आएका छन्, जसका कारण नेपालमै पहिलोपटक भित्र्याइएको इन्ट्रा–अप्रेटिभ सिटिस्क्यान मेसिन जडान हुन सकेको छैन ।
तीन महिनामा एक सय बिरामी प्रभावित
अस्पतालका अनुसार उपकरण सञ्चालनमा ल्याउन नसक्दा तीन महिनामा एक सय भन्दा बढी न्युरोका बिरामी सेवा लिनबाट वञ्चित भएका छन् । वीर अस्पतालमा उपचार गर्न आउने अधिकांश बिरामी गरिब तथा विपन्न वर्गका हुने गरेका छन् । इन्टा–अप्रेटिभ सिटिस्क्यान मेसिन सर्जरी बेडमै जडान गरिएको हुन्छ । यसले आवश्यक परेको अवस्थामा सोही बेडबाट अप्रेसनकै समयमा सिटिस्क्यान गर्दछ ।
अस्पताल उच्च स्रोतका अनुसार यो उपकरणमा सेवा लिन निजीबाट समेत बिरामी आउने भएकाले आर्थिक प्रलोभनमा परेर वीरमा सेवा प्रभावित बनाउन तल्लोस्तरका केही कर्मचारी कस्सिएर लागेका छन् । यस्तो सेवा बाहिर लिए एकपटक सिटिस्क्यान गरेको मात्रै एक लाख रुपैयाँ भन्दा बढी शुल्क लाग्छ । तर वीर अस्पतालले बढीमा तीन हजार रुपैयाँ लिँदै आएको कुरा बताएको छ ।
निजी स्वास्थ्य संस्थाले समेत सञ्चालनमा नल्याएको सो उपकरण वीर अस्पतालले ल्याउने तयारी थाले देखि नै कर्मचारीले विरोध गर्न थालेका थिए । ‘जसरी पनि सरकारी अस्पताल बलियो बनाउने उद्देश्यले पदाधिकारीले उपकरण खरिद गर्ने निर्णय लिए,’ अस्पतालका एक कर्मचारीले भने । उपकरण खरिदका लागि हिमालयन मेरिटेक र बायोमेट इन्टरनेसनल प्रालिले टेन्डर हालेका थिए । अस्पतालले बनाएको मापदण्डमा १४ बुँदा नमिलेपछि समितिले बायोमेट इन्टरनेसनलको ठेक्का स्वीकृत गरेको थियो ।
कर्मचारीको अवरोधले सञ्चालनमा आउन सकेन
वीर अस्पतालले नेपालमा पहिलोपटक भित्र्याएको अत्याधुनिक उपकरण इन्ट्रा–अप्रेटिभ सिटिस्क्यान मेसिन अस्पतालकै कर्मचारीको अवरोधका कारण तीन महिना देखि जडान हुन सकेको छैन । सरकारी अस्पतालमै अत्याधुनिक उपकरण जडान गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले तीन महिना अघि ल्याइएको इन्ट्रा–अप्रेटिभ सिटिस्क्यान अस्पतालमा कार्यरत केही कर्मचारीले सञ्चालनमा ल्याउन रोक लगाएका हुन् ।
नयाँ पत्रिकाबाट






























प्रतिक्रिया