काठमाडौं । चितवन प्रशासनले सुक्खा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन आवागमन गर्न नपाउने व्यवस्था गरिएको हो।
प्रशासनका अनुसार मुग्लिन बजार नजिक नारायणगढतर्फ पर्ने क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहेकाले रातिको समयमा यात्रा गर्दा यात्रु र चालकको सुरक्षामा गम्भीर जोखिम हुन सक्ने देखिएको छ। यही अवस्थालाई ध्यानमा राख्दै अस्थायी रूपमा सवारी आवागमन रोक्ने निर्णय गरिएको जनाइएको छ।
मंगलबार दिनभर सडक अवरुद्ध भएपछि सम्बन्धित निकायले दुईपटक पहिरो हटाएर यातायात सञ्चालनमा ल्याएका थिए। तर पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले थप जोखिम हुन नदिन रातिको समयमा सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले अत्यावश्यक बाहेकका यात्रु तथा सवारी चालकलाई वैकल्पिक योजना बनाउन र सडक खुल्ने समयसम्म अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।




















