कम्बोडियाली नेतालाई ‘अङ्कल’ भनेर सम्बोधन गरेपछि थाइ प्रधानमन्त्री पेटोङटार्न सङ्कटमा

कम्बोडियाली नेतालाई ‘अङ्कल’ भनेर सम्बोधन गरेपछि थाइ प्रधानमन्त्री पेटोङटार्न सङ्कटमा

केन्द्रबिन्दु
153
Shares

बैङ्कक । थाइल्याण्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले कम्बोडियाका पूर्व नेता हुन सेनसँग भएको टेलिफोन वार्ता सार्वजनिक भएपछि बिहीबार माफी मागेकी छन् ।

टेलिफोन वार्ताप्रति असहमति जनाउँदै उनको मुख्य गठबन्धन साझेदारले राजीनामा दिएको छ । यसले उनलाई राजीनामा दिन वा मध्यावधि निर्वाचन गर्न दबाब परेको छ ।

उनले कम्बोडियाली वरिष्ठ नेता नेता हुन सेनलाई ‘अङ्कल’ भनेर सम्बोधन गर्दै देशको उत्तरपूर्वमा थाइ सेनाका कमान्डरलाई आफ्नो प्रतिद्वन्द्वी बताएको सार्वजनिक श्रव्यसामग्रीलाई उद्धृत गर्दै थाई सञ्चारमाध्यमले जनाएका छन् ।

थाइ सरकार आफ्नो अर्थव्यवस्थालाई सुधार गर्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अत्यधिक कर वृद्धिबाट पर्ने प्रभावबाट बच्न चाहेका समय सार्वजनिक भएको विवादास्पद संवादले राज्यलाई राजनीतिक अस्थिरताको नयाँ चरणमा धकेलेको छ ।

थाइल्याण्डको परम्परावादी भुमजाइथाई पार्टीले पेटोङटार्नको लिक भएको फोन कलमा व्यक्त बिषयले प्रधानमन्त्रीका रूपमा उनको राष्ट्रप्रतिको आचरण र देश र सेनाको गरिमामा चोट पुर्‍याएको भन्दै बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बिहीबार दबाब बढेपछि पेटोङटार्नले पत्रकार सम्मेलन गरी सैन्य प्रमुख र आफ्नो फेउ थाई पार्टीका वरिष्ठ नेतालगायत शुभेच्छुकसँग माफी मागेकी छन् ।

पेटोङटार्नले सञ्चारकर्मीसँग भनिन्, “कम्बोडियाका एक नेतासँग भएको श्रव्य सामग्रीका लागि म माफी माग्न चाहन्छु।”

थाइल्याण्डका सबैभन्दा प्रभावशाली राजनीतिज्ञ पेटोङटार्न पूर्व प्रधानमन्त्री तथा अर्बपति नेता थाक्सिन सिनावात्राकी छोरी हुन् ।

सन् २०२३ मा पदबाट हटेपनि कम्बोडियामा अझै पनि शक्तिशाली रहेका हुन सेनसँग जारी सीमा विवादको बारेमा पेटोङटार्नले उक्त कलमा चर्चा गरेको सुनिन्छ ।थाइल्याण्डको विदेश मन्त्रालयले बिहीबार कम्बोडियाका राजदूतलाई बोलाएर उक्त फोन लिक भएकोबारे स्पष्टिकरण सोधेको छ ।

भुमजाइथाईका ६९ जना सांसदको समर्थन फिर्ता भएपछि पेटोङटार्नलाई संसद्मा बहुमत पुर्‍याउन मुस्किलले पर्याप्त मत पुग्नेछ तर विवाद चर्किँदै जाँदा अन्य सहयोगी दलले पनि समर्थन फिर्ता लिएमा मे २०२३ मा भएको मतदानको दुई वर्षपछि सत्ताबाट हट्नु वा मध्यावधि निर्वाचनको घोषणा गर्नुको विकल्प रहने छैन ।

अन्य दुई गठबन्धन दल ‘युनाइटेड थाइल्याण्ड नेशन’ र ‘डेमोक्र्याट पार्टी’ले बिहीबार वा शुक्रबारसम्ममा स्थितिबारे छलफल गर्न बैठकहरू आयोजना गर्ने बताएका छन्।

फोन कलले सार्वजनिक आक्रोश निम्त्याएको भन्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग गर्दै सयौँ सरकार विरोधी प्रदर्शनकारीहरू बिहीबार थाइल्यान्डको सरकारी भवन बाहिर भेला भएका छन् ।

उक्त फोन प्रकरणले देशको अवमूल्यन गरेको र सेनाको मर्यादाको अपमान गरेको आरोप लगाउँदै प्रमुख साझेदार भुमजाइथाई पार्टी बुधबार सरकारबाट बाहिरिएपछि पेटोङटार्नको गठबन्धनलाई हल्लाएको छ ।

Skip This
Skip This
Logo