उत्पादन र उत्पादकत्व बजेटमै सीमित, ११ महिनामै झण्डै एक खर्बको खाद्यान्न र तरकारी आयात

उत्पादन र उत्पादकत्व बजेटमै सीमित, ११ महिनामै झण्डै एक खर्बको खाद्यान्न र तरकारी आयात

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सरकारले हरेक वर्षको बजेटमार्फत कृषिको व्यावसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने रटान रट्दै आइरहेको छ । ‘मुलुकलाई कृषिमा आत्मनिर्भर बनाइनेछ’ भनेर बजेट भाषणका बेला कुनै पनि अर्थमन्त्रीले छुटाउँदैनन् । प्रधानमन्त्री कृषि आधुनिकीकरणदेखि कृषि लगानी दशकसम्म घोषणा भए । तर उपलब्धि भने देखिएको छैन ।

यो क्षेत्रमा बालुवामा पानी छरे जसरी बजेट छरिन्छ, तर नतिजा भने शुन्यप्राय छ । वर्षेनी करोडौं बजेट पाउने यो क्षेत्र अझै पनि परनिर्भर छ । जसरी बजेट बढ्दै गएको छ त्यसैगरी बाँझो जमिन पनि बढ्दै गइरहेको छ।

मुलुकले जसरी कृषि क्षेत्रमा बजेट छरेको छ त्यसैगरी खाद्यान्न आयातमा पनि वर्षेनी अर्बौ रुपैयाँ बाहिरिरहेको छ । मुलुक अत्यावश्यक खाद्यान्नमा समेत परनिर्भर छ । वर्षेनी धान, चामल, कोदो, मकै, गहुँ जौलगायत खाद्यान्न आयातमा अर्बौ रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तथ्यांकअनुसार मुलुकले धान–चामल, गहुँ, कोदो, मकै, जौ लगायत आयातमा मात्रै ५७ अर्ब ५८ करोड रुपैयाँ बाहिरिएको छ ।

विभागका अनुसार यो अवधिमा ३८ अर्ब ९४ करोड रुपैयाँको धान–चामल आयात भएको छ। यसमा धानको बिउ पनि समेटिएको छ । जसमध्ये २१ अर्ब १५ करोडको धान तथा धानको बीउ रहेको छ भने १७ अर्ब ५० करोडभन्दा बढीको चामल आयात भएको छ ।

हाल नेपालमा भारत, चीन, फिलिपिन्स, थाइल्यान्डलगायत मुलकबाट धानचामल आयात भइरहेको विभागले जनाएको छ । यो अवधिमा १७ अर्ब ४० करोडको मकै आयात भएको छ भने ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा २६ करोड ८४ लाख १६ हजार रुपैयाँको ५५ गहुँ, ४ करोड १७ लाख जौ र २० करोड ७६ लाख फापर आयात भएको छ ।

गहुँ, मकै, कोदो, जौ लगायतको पिठो आयातमा पनि करोडौं रुपैयाँ बाहिरिएको छ। भन्सार विभागका अनुसार जेठ मसान्तसम्ममा ३४ अर्ब १५ करोड रुपैयाँ बढीको तरकारीजन्य वस्तु आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो मात्रामा तरकारी आयात भएको हो । यस अविधिमा गोलभेडा, प्याज, लसुन, काउली, बन्दा, गाँजर, मोटरकोसा, भान्टा, ताजा गेडागुडी, कुरिलो, फर्सीलगायतका अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेपालीहरूको भान्सामा धेरै प्रयोग हुने तरकारी प्याज र आलुमा नेपालको परनिर्भरता बढ्दै गएको छ । सो अवधिमा नेपालले मात्र ७ अर्ब ६३ करोड आलु र ५ अर्ब ६३ करोड प्याज नेपाल भित्रिएको छ ।

त्यसैगरी ९९ करोडको लसुन, २० करोडको च्याउ, २८ करोड फ्रोजन आलु, १७ करोडको अदुवा, ३ अर्ब ७३ करोड केराउ र ३ अर्ब ३० करोडको चना नेपाल भित्रिएको विभागले जनाएको छ ।

कृषिमा पर्याप्त अनुदान नहुनु, आधुनिक कृषि प्रविधिको प्रयोग गर्न नसक्नु र किसानलाई पर्याप्त तालिम दिन नसक्दा नेपाली किसानले मागअनुसार खाद्यान्न तथा तरकारी उब्जनी गर्न नसक्दा बर्षेनी अरबौं रुपैयाँ बाहिरिने गरेको छ ।

सरकारले कृषि क्षेत्रको लागि पछिल्लो १२ वर्षमा ४ खर्ब ७३ अर्ब ३४ करोडभन्दा बढीको बजेट बिनियोजन गरेको छ । जसमध्ये तत्कालिन अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को मा कृषि क्षेत्रका लागि हालसम्मकै धेरै ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेका थिए । यो १२ वर्षको अवधिमा नेपालले करिब ६ खर्ब हाराहारीको खाद्यान्न आयात गरेको छ ।

Skip This
Skip This
Logo