भक्तपुर

भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । "/>

चाँगुनारायण र मण्डनदेउपुर नगरपालिकाको विवादले नगरकोट जाने विदेशी पर्यटकलाई दोहोरो कर

चाँगुनारायण र मण्डनदेउपुर नगरपालिकाको विवादले नगरकोट जाने विदेशी पर्यटकलाई दोहोरो कर

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डनदेउपुर नगरपालिकाबीच समन्वय नहुँदा दुवै नगरपालिकाले आ–आफ्नो नगरका तर्फबाट पर्यटन शुल्क उठाउने भएपछि दोहोरो कर तिर्नुपर्ने भएको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले आव ०७४/०७५ मा ५१ लाखमा नगरकोट जाने पयर्टकसँग प्रवेश शुल्क उठाउन ठेक्कामा दिएपछि दुई नगरपालिकाबीच पर्यटन शुल्कका विषयमा विवाद हुँदै आएको थियो ।

चाँगुनारायण नगरपालिकाले आव २०७५/०७६ को लागि तीन करोड २५ लाखमा ठेक्का दिएपछि चाँगुनारायण नगरपालिका–६ तेलकोट र वडा नम्बर ८ को कलमसीमा बसेर पर्यटकसँग शुल्क लिँदै आएका छन् । जसमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर जाने बाटोमा समेत ठेकेदारले शुल्क उठाइरहेका छन् । यसबारेमा चाँगुनारायणका नगरप्रमुख सोम मिश्रले नगरकोटको विकासमा दुई नगरपालिकाबीच समन्वय गरेर अघि बढ्ने बताउँदै पर्यटकलाई दोहोरो करको मारमा नपार्ने व्यवस्थाका लागि छलफल गरिने बताउनुभयो ।

यता काभ्रेको मण्डनदेउपुर नगरपालिकाले पनि चालू आवबाट नगरकोट जाने पर्यटकसँग प्रवेश शुल्क लिने सूचना जारी गरेको छ । नगरपालिकाले २०७५/०७६ का लागि नगरपालिका अन्तर्गत नगरकोट क्षेत्र भित्रका काभ्रेचोक, भ्यूटावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकसँग प्रवेश शुल्क उठाउने ठेक्का आह्वान गरेको छ ।

उक्त सूचनामा बोलपत्र स्वीकृत भएका फर्म वा कम्पनीले सार्क राष्ट्र बाहेकका विदेशी पर्यटकसँग प्रतिव्यक्ति ३०० र सार्क राष्ट्रभित्रका २०० ( कर बाहेक ) प्रति पर्यटक प्रवेश सेवा शुल्क उठाउन पाउने छन् । चाँगुनारायण नगरपालिकाले ठेक्का दिएको ठेकेदारले पनि सोही दरमा शुल्क उठाइरहेका छन् ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले भूगोलको हिसाबले नगरकोट आउने ८० प्रतिशत पर्यटक काभ्रे मण्डनदेउपुर प्रवेश गर्ने बताउँदै नगरकोटमा बसपार्क निर्माण, सार्वजनिक शौचालय निर्माण र अन्य पूर्वाधार विकासका लागि दुवै नगरपालिकाले लगानी गर्न भन्दा चाँगुनारायणले नमानेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्ष दुवै नगरपालिकाको एकीकृत कर उठाउने भन्दा एक्लै शुल्क उठाए, यस वर्ष पनि छलफल गर्न खोज्दा चाँगुनारायणले एक्लै ठेक्का लगायो, त्यसपछि होटल व्यवसायीकै सल्लाहमा हामीले पनि ठेक्का लगायौँ ।” मण्डनदेउपुर नगरपालिकाले भने एक करोड ३० लाखमा ठेक्का लगाएको उहाँले जानकारी दिनुभयो ।

तत्कालीन बालुवापाटी देउपुर गाविस अध्यक्ष एवं पर्यटन व्यवसायी राधाकृष्ण बस्ताकोटीले दोहोरो कर लगाउँदा नगरकोटको भविष्य नै अन्योल हुने बताउँदै दुवै नगरपालिकाबीच समन्वय गरेर एकीकृत कर लगाएर नगरकोटको भौतिक विकासको लागि लगानी गर्नुपर्ने बताउनुभयो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामाले नगरकोट जाने मुख्य सडकका रुपमा रहेको कमलविनायक नगरकोट सडकको अवस्था निकै कष्टकर रहेको बताउँदै दोहोरो पर्यटन शुल्कले पर्यटन व्यवसायीलाई मार पार्ने बताउनुभयो ।

यहाँका व्यवसायीले राज्यलाई कर तिरेपछि सुविधा नपाएको गुनासो गर्दै उहाँले नगरकोटमा फोहर व्यवस्थापन समेत चुनौती बन्दै गएको अवस्थामा सूर्योदय, सूर्याअस्त र हिमाल हेर्न मात्र आउने पर्यटकको बसाई लम्ब्याउने र विकास गर्ने मामिलामा दुवै नगरपालिका मौन रहेको बताउनुभयो ।
रासस

Logo